भद्रपुर / मागको तुलनामा उत्पादन बढ्न नसक्दा मुलुक बाहिरबाट करोडौँ रुपैयाँ मूल्य बराबरको फलफुल आयात हुने गरेको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा पूर्वी काँकडभिट्टा नाकाबाटमात्र ३२ करोड ९७ लाख ७६ हजार रुपैयाँ मुल्य बराबरका १६ प्रकारका ५ हजार ८ सय ४३ मेट्रिक टन फलफुल आयात भएको छ । मुलुकभित्र मागको तुलनामा उत्पादन बढ्न नसक्दा आयात हुने गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ९ हजार १ सय ८७ मेट्रिक टन फलफुल आयातका लागि ३२ करोड ५६ लाख ५१ हजार रुपैयाँ विदेशिएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा २७ करोड १ लाख ३० हजार रुपैयाँका फलफुल आयात भएको क्वारेनटाइन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख देविन्द्र साहुले जानकारी दिए ।

२०७६ को चैत २५ गतेसम्म काँकडभिट्टा नाका भएर सामान आइरहेपनि २६ गतेदेखि भारतसँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकडभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बङ्गाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए ।

भारतका विभिन्न प्रान्तमा कोभिड १९ को सङ्क्रमण बढेसँगै पश्चिम बङ्गाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्ने भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा सम्म गत वर्ष यति भारीमात्रामा फलफुल आयात हुनुले नेपालमा वर्षेनी फलफुलको आयात बढ्दै गइरहेको उनको भनाइ छ ।

कार्यालयको तथ्याङ्क अनुसार अधिकाँश ताजा फलफुल भारतबाट आयात गर्ने गरिएको छ । थोरै परिमाणमा चीनबाट समेत फलफुल आयात हुने गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । भारतबाट खासगरी स्याउ, आँप, केरा, मौसम, बयर, कागती, अङगुर, अनार, सुन्तला, भुईकटहर, मेवा, तरबुजा, लिची, काँचो नरिवल, अम्बा नासपाती लगायतका फलफुलहरु नेपाल भित्रिने गरेको छ भने चिनबाट स्याउ समेत आयात हुने गरेको छ ।

पूर्वी नाकाबाट थोरै मात्रामा स्याउ आयात भएको भएपनि चीनको खासा हुँदै तातोपानी नाकाबाट दैनिक ३/४ कन्टेनर स्याउ नेपाल भित्रिने गरेको व्यवसायी बताउँछन् ।

गत आर्थिक वर्ष २०७७/०७८ मा भारत र चिनबाट १८ करोड ६४ लाख ३२ हजार रुपैयाँ मुल्य बराबरको २ हजार ९ सय १३ मेट्रिक टन स्याउ आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । काँकडभिट्टा नाकाबाट फलफुलको विरुवाको आयात भने शुन्य रहेको भन्सार प्रमुख ध्रुबराज विश्वकर्माले बताए ।

नेपालमा चाडपर्वको बेलामा फलफुलको माग बढ्ने गर्छ भने जुसको लागि समेत फलफुलको प्रयोग हुने हुँदा फलफुलको आयात बढ्न थालेको झापा मेचीनगरका फलफुल व्यवसायी विनोद सहनीको अनुभव छ । पछिल्लो समय आयस्रोतमा भएको वृद्धिसँगै नेपालीहरुले फलफुलको उपभोग बढाउँदै लगेका उनको भनाई छ ।