धरान / ‘गाईको गोबर,
लगाऔं खेती अग्र्यानिक
फल्छ दोब्बर’

उदयपुरको बेलका नगरपालिकाले आफ्नो ‘नगर–गीत’ मा नै ‘अग्र्यानिक उत्पादन’ लाई जोड दिएको छ ।

नगरले प्राङ्गारिक मापदण्डअनुसार अग्र्यानिक खेती गर्ने कृषकका उत्पादनलाई ‘अग्र्यानिक’ प्रमाणीकरण थालेको छ । मुलुकमै पहिलो पटक स्थानीय सरकारले नागरिकले उत्पादन गरेका उत्पादनलाई ‘अग्र्यानिक’ र ‘अग्र्यानिक उन्मुख’ सामुदायिक प्रमाण–पत्र र ‘स्टिकर’ वितरण गरेको छ ।

‘नगरपालिकाले निर्माण गरेको कृषि ऐन, प्राङ्गारिक मापदण्ड र कार्यविधिअनुसार उत्पादन र व्यवस्थापन भएका कृषिजन्य उत्पादनलाई प्रमाणीकरण गर्ने अभियान सुरु गरेका हौं’ नगर प्रमुख दुर्गाकुमार थापाले भने, ‘पहिलो पटक बेलका नगरपालिकाबाट सुरुवात गरेका छौं, कृषकलाई विषादीरहित कृषि उत्पादन गर्नका लागि प्रोत्साहन गरेका हौं ।’

दैनिक मजदुरी गर्ने मुसहर सदा समुदायलाई कृषि उत्पादन गर्न प्रोत्साहित गरेको बेलका नगरपालिकाले उनीहरूको उत्पादनलाई ‘अग्र्यानिक’ प्रमाणीकरण गरेको हो ।

युवाहरू मजदुरी गर्न जाने र घरमा महिला, बालबालिकामात्र रहने समुदायको उत्पादनमा न्यून सहभागिता रहेपछि बेलका नगरपालिकाले पुँजी, अनुदान, बिउ र प्रविधिलगायत प्रदान गरी कृषि उत्पादनमा जोड दिँदै आएको थियो ।

नगरमै पहिलो पटक उनीहरूले उत्पादन गरेका कृषिउपजलाई सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली (पीएसजी) लाई आधार मानी ‘अग्र्यानिक उत्पादन’ प्रमाणीकरण गरिएको नगर प्रमुख थापाले बताए । ‘नगरपालिकामै यो पीएसजी प्रणालीका आधारमा कृषकका कृषि उत्पादनलाई प्रमाणीकरण गर्ने नीति लिएका छौं’ नगर प्रमुख थापाले भने, ‘यसमा समुदायले नै प्राङ्गारिक खेती गर्न प्रोत्साहित गर्छ, जसले प्राङ्गारिक खेती गर्छ, उसैले प्रमाण–पत्र पाउँछ ।’

नगर प्रमुख थापाका अनुसार उत्पादन भएका उपजलाई नगरपालिका आफैले न्यूनतम समर्थन मूल्य तोकी खरिद गर्ने र बजार व्यवस्थापन पनि गरिदिनेछ ।

नगरले यो अभियान मुसहर, सदा समुदायबाट सुरु गरेको नगर प्रमुख थापा बताउँछन् । अग्र्यानिक मापदण्डअनुसार उत्पादन गरिएका कृषिउपजलाई सामुदायिक प्रमाण–पत्र प्रदान गर्ने र अन्य उत्पादनका तुलनामा अग्र्यानिक उत्पादनको मूल्य बढी निर्धारण गरिनेछ ।

धेरै खेती गर्नेले अग्र्यानिक खेती गर्न नसकेको अवस्थामा मुसहर सदा समुदायले अग्र्यानिक खेती गर्न सफल भएको नगर प्रमुख थापाले बताए । हाल नगरपालिकामा ३ सय २५ कृषक समूह दर्ता भएको तथ्याङ्क छ ।