विराटनगर/ प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनले माग राखेका छन् ।
प्रदेशसभा सचिवालयमा बिहीबार बसेको चार दलको संयुक्त गठनबन्धनले मुख्यमन्त्री आचार्यको नियुक्ती बदर गर्न माग गरेका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पाटीको संयुक्त बैठकले नेकपा एमाले विभाजनपछि बहुमत गुमाएको अवस्थामा प्रदेश प्रमुखले हठात नयाँ मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ती बदर गर्न माग छन् ।
‘गठबन्धन दलहरुले प्रदेश १ मा सरकारको नेतृत्व गरीरहेको दल नेकपा एमाले औपचारिक रुपमा विभाजन भई प्रदेश सरकारले बहुमत गुमाएको अबस्थामा हठातमा प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका रुपमा आचार्यलाई नियुक्त गरि सपथग्रहण गराउने काम असंवैधानिक भएको ठहर छ,’ बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रदेशसभामा बहुमत गुमाइ सकेर अल्पमतमा परेका र असंवैधानिक तबरले नियुक्ति भएको सरकारको कुनै पनि दुरगामी असर पर्ने निर्णाय नगर्न नगराउन पनि संयुक्त गठबन्धनले आग्रह गरेको छ ।
पार्टी विभाजन भएको अवस्थामा संविधानको धारा १६८ को उपधार १ बमोजिम सरकार गठन हुन नसक्ने भन्दै तत्काल नियुक्ति बदर गर्न गठबन्धनले माग छ । आचार्यले गत भदौ १० गते मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए । दल विभाजनपछि निर्वाचन आयोगले दल रोज्ने समय दिएको अवस्थामा बहुमत छ भन्दै मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरित भएको गठबन्धनले जारी विज्ञाप्तीमा उल्लेख छ ।
गठबन्धनले जारी गरेको संयुक्त प्रेस विज्ञाप्तीमा नेपाली काँग्रेस संसदीय दलका नेता राजिव कोइराला, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आङबो, नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजेन्द्र कुमार राई र जनता समाजवादी पार्टीको संसदीय दलका नेता जयराम यादवले हस्ताक्षर गरेका छन् ।
बुधबार नेकपा एमालेका १० जना सांसदले नेकपा (एस) मा रोज्दै निर्वाचन कार्यालयमा सनाखत गरेपछि मुख्यमन्त्री आचार्य नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा परेको छ । प्रदेश सरकार जोगाउन एमालेलाई ४७ मत आवश्यक पर्छ । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । जसमा एमालेसँग सभामुखसहित ५१ सदस्य छन् । तीमध्ये एक जना सांसद गुलेफुन खातुन फौजदारी अभियोगमा अदालतले कैद सजाय सुनाएकाले फरार छिन् ।
उनी अनुपस्थित रहँदा एमालेमा ५० जना सांसद थिए । यसमध्ये १० जनाले समाजवादी रोजेपछि एमालेको सांसद संख्या ४० मा झरेको छ । यो संख्यामा एक जना सभामुख पनि छन् । बराबरी अवस्थामा निर्णायक मत दिनेबाहेक सभामुखले मतदान गर्न पाउँदैनन् । यसरी एमालेको कूल मत संख्या अब ३९ मा झरेको छ ।
प्रदेशसभामा कांग्रेससँग २१, माओवादीसँग १५ र जनता समाजवादीसँग ३ जना सांसद छन् । यी तीन दलसँग जम्मा ३९ जना सांसद छन् । त्यसमा एकीकृत समाजवादीका १० जना थपिँदा ४९ जना पुगेको छ । यो संख्या सरकार ढाल्न र नयाँ बनाउन पुग्दो बहुमत हो । गठबन्धनले संघीय लोकतान्त्रिक मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेको साथ पनि पाउने जनाएको छ । उनी थपिँदा विपक्षी गठबन्धनमा कूल संख्या ५० हुनेछ ।