झापा पूर्वीनाकाबाट मुसुरो दालको निर्यात चार वर्ष यता क्रमशः ओरालो लाग्दैं आएको छ । सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दै व्यवसायीलाई निर्यात सहुलियत दिए पनि निर्यात हुन नसकेको हो । सरकारले ‘एस्सपोर्ट इन्सेटिफ’ निर्यात प्रोत्साहन भन्दै ५ प्रतिशत सहुलियत दिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

व्यवसायीले मुसुरो दाल निर्यात गर्दा निकासी वापत प्रतिकेजी १ रूपैयाँ निकासी दस्तुर बुझाउनु पर्छ । तर, सरकारले व्यवसायीलाई निकासी सहुलियत प्रदान गरे पनि काँकडभिट्टा नाकाबाट हुने मुसुरो दालको निर्यात व्यापार खासै सन्तोषजनक नरहेको व्यवसायीको भनाइ छ । 

काँकडभिट्टा नाका भएर निर्यात हुने मुसुरो दाल आर्थिक वर्ष ०७४–७५ देखि०७७–७८ चारवर्षको अवधिमा घट्दोे क्रममा रहेको तथ्याङ्कले देखाएको छ । 

क्वारेनटाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष ०७७–७८ मा काँकडभिट्टा नाका भएर २६ करोड ३० लाख ३० हजार रुपैयाँ मूल्य बराबरको १ हजार ८ सय १४ मेट्रिक टन मुसुरो दाल निर्यात भएको छ । जुन परिमाण अघिल्लो आर्थिक वर्ष ०७६–७७ को तुलनामा ५७ करोड ८० लाख ८ हजार रुपैयाँ वा ४ हजार ८ सय ३७ मेट्रिक टन कम निर्यात हो । आर्थिक वर्ष ०७६–७७ मा ८३ करोड ३८ लाख ३८ हजार वा ६ हजार ६ सय ५१ मेट्रिक टन मुसुरो दाल निर्यात भएको थियो ।

दाल निकासीमा नेपाल सरकारले कृषि भएकाले भ्याट छुट दिएको छ । तर, व्यवसायीहरुले मुसुरो दाल निर्यातका क्रममा अनिवार्यरुपमा खाद्य प्रयोगशालाको सिफारिस पेश गर्नुपर्ने प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्मा बताउँछन् । 

व्यवसायीले खाद्य प्रयोगशालाको सिफारिस पेश गरे पछि निकासी वापत प्रतिकेजी १ रूपैयाँ निकासी दस्तुरबाहेक अन्य केही रकम बुझाउनु नपर्ने प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाई छ । तेस्रो मुलुकबाट आयात भएको दालमा कृषि छुटमा १० प्रतिशत महशुल बुझाउनु पर्ने उनको भनाइ ।

भारतले निर्यातमा प्रतिबन्ध गरेको मुसुरो दाल, बासमती चामललगायतका कृषिजन्य वस्तु पर्याप्त मौज्दात भएपछि मात्र उसले यस्ता वस्तुको कोटा प्रणालीमा निर्यात गर्ने गरेको छ । बङ्गलादेशमा भने यो प्रणाली नभएको उनले बताए ।

नेपालमा उत्पादित मुसुरो विशेषगरी बङ्गलादेश मात्रै निर्यात हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाई छ । नेपालमा उत्पादित मुसुरो दालको माग बङ्गलादेशमा धरै भएपनि माग अनुसार पूर्ति गर्न नसकिएको नेपाली सरकारी अधिकारीहरुको भनाइ छ । 

व्यवसायीहरुका अनुसार नेपालमा उत्पादित दालमध्ये २० प्रतिशतमात्रै नेपालको आन्तरिक बजारमा खपत र वाँकी सवै निर्यात हुने गरेको छ ।

नेपाली व्यवसायीले मिलमा मुसुरोको दाल थुप्रिएको भन्दै प्रतिबन्ध खुल्ला गर्न सरकारमाथि निरन्तर दबाब दिंदै आएका थिए । छिमेकी राष्ट्र र स्वदेशी व्यवसायीको आग्रहलाई मध्यनजर गदैंँ सरकारले प्रतिबन्ध खुला गरेको बताएको छ ।