सुनसरी । गत जेठ १९ गते कोसी गाउँपालिका–८ भण्टाबारीमा सशस्त्र प्रहरीले चेकजाँचको क्रममा बा. १६ च ५४६१ नम्बरको बोलेरो जिपबाट ४ लाख २९ हजार ८ सय २७ रुपैयाँ बराबरको औषधि बरामद गर्यो ।

यस्तै २०७७ चैत २३ गते सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीबाट खटिएको टोलीले को.२ च २९९६ नम्बरको बोलेरो जिपबाट २ लाख ५० हजार बराबरको १ सय १५ सय कार्टुन स्याउ बरामद गर्यो । २०७७ असोज ११ गते खाद्यान्न, कपडा, गहुँ, मोटर पाटर्स, भेटेरिनरीका औषधि लगायत ५ लाख ७३ हजारभन्दा बढीको सामान बरामद गर्यो ।

यी प्रतिनिधि घटनामा बरामद भएका सामग्रीको अनलाइन भेहिकल ट्रयाकिङ (भिसिटिएस) कागजात साथमा नभएको र बिल नक्कली भएको भन्दै सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो ।

सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर भूवन खड्काका अनुसार पछिल्लो एक वर्षमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल नक्कली रहेको १५ लाख रुपैयाँ बराबरको सामग्री पक्राउ गरी राजस्व कार्यालयमा बुझाइएको छ । व्यापारीहरूले पछिल्लो समय नक्कली भ्याट बिल बनाई राजस्व छल्ने गरेको प्रहरीको दाबी छ ।

माथिका उदाहरणहरूमा पनि नक्कली भ्याट बिलको प्रयोग गरिएको छ । व्यापारीले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छल्दै आएका छन् । सुनसरीसहित पूर्वका व्यापारीहरूले नक्कली भ्याट बिल बनाई राजस्व छल्ने गरेको उदाहरण प्रशस्तै भेटिएको इन्स्पेक्टर खड्काले जानकारी दिए ।

उनका अनुसार यस्तो कार्यमा गिरोह नै सक्रिय रहेको पाइएको छ । मोटो रकम लिएर प्रहरी प्रशासनले नक्कली भ्याटबिल प्रयोग गरी कर छली गर्नेलाई प्रश्रय दिएको स्रोतले दाबी गरे पनि प्रहरी प्रशासन भने यस्तो आरोप अस्वीकार गर्छन् । प्रायःजसो नक्कली भ्याटबिल बनाउने गिरोहले सोझा र केही थाहा नभएका व्यक्तिको नागरिकता लिएर कम्पनी र बैङ्क खाता खोल्ने गरेका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक व्यापारीले भने, ‘केही नजानेको व्यक्तिको नाममा कम्पनी दर्ता भएको हुन्छ ।

त्यसपछि भ्याटमा दर्ता हुन्छ, त्यसैगरी बैङ्क खाता पनि खोलिन्छ तर, उक्त बैङ्कको चेकमा हस्ताक्षर गर्ने अधिकार त्यो सोझो व्यक्तिलाई नदिई नक्कली भ्याटबिलबाट कर छल्नेले आफैसित राख्छन् ।’ उनले थपे, ‘जस्तै कुनै कम्पनीले १० लाख भ्याट तिर्नुपर्नेछ तर, उसले उक्त रुपैयाँ नतिर्नका लागि एक करोड कारोबार भएको खरिद बिलबाट देखाउँछ । एक करोडको खरिद गरेर १३ लाख तिरेको भनी देखाएर उल्टै सरकारसँग ३ लाख फिर्ता माग्छन् ।’

यस्ता राजस्व छली रोक्न सूक्ष्म अनुसन्धानको अवस्था रहेको उनले बताए । सामान्य रूपमा हेर्दा सबै प्रक्रिया सही जस्तै लाग्ने भएकाले सूक्ष्म अनुसन्धानको आवश्यकता रहेको ती व्यक्तिले बताए । उनले भने, ‘राजस्व तिरेको पनि छ, खरिद के भनेर खोज्दा केही छैन, आर्थिक हैसियत त्यति धेरै देखिँदैन, किनभने नक्कली बिल बनाएको हुन्छ ।’

यता राजस्व अनुसन्धान कार्यालय इटहरीका राजस्व अधिकृत शिव निरौला भारतीय बजारबाट चोरीपैठारी गरी ल्याइएको सामानलाई वैधानिक बनाउन नक्कली भ्याटबाट राजस्व छल्ने गरिएको बताउँछन् । खुला सीमाको फाइदा उठाएर भारतीय बजारबाट ल्याइने सामान अन्य ठाउँमा पठाउन व्यापारीहरूले नक्कली भ्याट बिलको सहारा लिने गरेको उनको भनाइ छ ।

‘नक्कली भ्याट बिल क्यारिङ्ग गर्नेवालाहरूले प्रयोग गर्छन्’ अधिकृत निरौलाले भने, ‘पारिबाट सामान ल्याउने अनि त्यही सामानलाई नक्कली भ्याट बिल वा प्यान बिल प्रयोग गरेर अन्य ठाउँमा पठाउने गरिएको छ ।’ नक्कली भ्याट बिल प्रयोग गरी कर छली गर्ने व्यक्तिलाई राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ अनुसार बिगो, जरिबाना र तीन वर्षसम्म जेल सजायको कानूनी व्यवस्था रहेको राजस्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ ।