धनकुटा। गाउँमै बसेर धनकुटा पाख्रीबास नगरपालिका–९ चुङ्बाङका शुक्रबहादुर राईले खाडी मुलुक जाने युवाको भन्दा ४ गुणा आम्दानी गरिरहेका छन् । शुक्रबहादुर गाउँको उदाहरणीय युवा बनिरहेका छन् ।

मौरी पालन गरेर शुक्रबहादुरले वार्षिक १४ लाख रुपैयाँ कमाइ गर्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, यथार्थ यही हो । शुक्रबहादुरले आधुनिक प्रविधिबाट मौरी पालन गर्न थालेपछि अहिले गाउँमै उच्च आम्दानी गर्ने युवामा पर्छन् ।

कुनै बेला परम्परागत प्रविधिबाट मौरी पाल्न सुरु गरेका शुक्रबहादुर अहिले आधुनिक प्रविधिमा प्रवेश गरेका छन् । उनको गाउँबाट घरलौरी विदेश जाने भेटिन्छन् । तर, उनी गाउँमै विदेशभन्दा चारगुणाभन्दा बढी रकम कमाउँदै आएका छन् ।

उनका अनुसार बर्सेनि १४ लाख रुपैयाँको हाराहारीमा आम्दानी हुने गरेको छ । त्यही मौरी पालनबाट आएको आम्दानीले घरखर्चदेखि लिएर छोराछोरी पढाउने र केही बचतसम्म गर्न सक्ने भएका छन् । उनको घरमा ७० घार मौरी छ । त्यही घार उनको लागि विदेश हो । स्वदेशमै केही गर्नुपर्छ भनेर उनले मौरी पालन थालेका थिए ।

अहिले त्यही मौरी जीविकोपार्जनको माध्यम मात्रै बनेको छैन, भरपूर कमाइ दिने साधन पनि बनेको छ । नेपालमा कोरोना सङ्क्रमण हुनुपूर्व दैनिक १५ सयदेखि २ हजारको हाराहारीमा युवाहरू विदेशिने गरेको श्रम कार्यालयको तथ्याङ्क छ ।

तर, गाउँमै केही गर्छु भन्ने दृढ सङ्कल्प राखेमा राम्रो आम्दानी गर्न सक्ने उनको भनाइ छ । उनीजस्तै दुर्गाबहादुर दर्लामी पनि मौरीबाटै जीविकोपार्जन गर्नेमा दरिन्छन् । बीसवटा घारबाट सुरु गरेका दर्लामीको घरमा अहिले ४० घार छ । मौरी पालनबाट मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ । तर, किसानलाई प्राविधिक ज्ञानको अभाव रहेको उनी बताउँछन् ।

सरकारले मौरी पालक किसानका लागि प्रविधि ज्ञानका साथै विभिन्न तालिमहरू सञ्चालन गर्न सके धेरै हदसम्म विदेशिने कार्य रोकिनेमा उनी विश्वस्त छन् ।

कृषि ज्ञान केन्द्र धनकुटासँग परम्परागत घारबाहेक ६ सय आधुनिक घारमा सेरेना जातको मौरी किसानले लगाएको तथ्याङ्क छ । तर, ज्ञान केन्द्र धनकुटासँग युवालक्षित कार्यक्रमबाहेक मौरीपालनलाई प्रवद्र्धन गर्नेखालको कार्यक्रम अहिलेसम्म बनेको छैन ।  धनकुटामा वार्षिक रूपमा उत्पादन हुने ९.३ मेट्रिक टन महका लागि बजारको कुनै समस्या छैन ।

तर, मह र मौरी पालनमै व्यावसायिक सम्भावना देखेर पनि परम्परागत प्रविधिमै अल्झिन बाध्य किसानलाई व्यावसायिक बनाउन थप सरकारी सहयोगको भने खाँचो रहेको छ ।