भण्टाबारी/ जेठ २२ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा बालविवाह भइरहेको सूचना आउँछ । सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बेहुलीका बुबासहित तीन जनालाई पक्राउ गर्छ ।

भोक्राहा नरसिंह गाउँपालिका–३ मा बालविवाह भइरहेको सूचनाको आधारमा राति ११ बजेतिर प्रहरीले बेहुलीका बुबा रामनारायण मण्डल, बेहुला इनरुवा नगरपालिका–४ का भरत मण्डल र बिहे गराउन भूमिका खेल्ने इनरुवा नगरपालिका–८ का सुरेन्द्र मेहतालाई पक्राउ गरेको छ ।

रामनारायणले आफ्नो १७ वर्षीया छोरीलाई २४ वर्षीय भरत मण्डलसँग बिहे गराएको आरोपमा पक्राउ गरेको हो । यस्तै वैशाख २७ गते राति ९ बजे देवानगञ्ज गाउँपालिका–४ बाट बालविवाह भइरहेको सूचनाकै आधारमा पुगेको प्रहरी टोलीले विवाह मण्डपबाटै दुई जनालाई पक्राउ ग¥यो ।

प्रहरीले २६ वर्षीय बेहुला मिथिलेश पाल र विवाह गराउने बेहुलाका सानोबुबा फुलचन पाललाई पक्राउ गरेको थियो । मिथिलेशले देवानगञ्ज–१ का रमानन्द पालकी २० वर्ष नपुगेकी छोरी कल्पनाकुमारीसँग विवाह गरेको सूचनाको आधारमा पक्राउ गरेको हो ।

नेपालको कानूनअनुसार विवाह गराउने उमेर २० वर्ष हुनुपर्ने भन्ने छ । तर, बेहुली कल्पनाको उमेर १८ वर्ष ८ महिना १० दिन मात्र पुगेकाले कानूनी हिसाबमा बालविवाह ठहर गरिएको छ । पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १७३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यस्ता प्रतिनिधिमूलक घटना समाजमा भइरहन्छन्।

‘बिहेवारी, बीस वर्ष पारि’ नारा सुनसरीमा व्यवहारिक रूपमा कार्यान्वयनमा आउन सकेको छैन । जिल्लाका कतिपय स्थानीय तहमा केही सचेत युवा र किशोरी समूहहरूले बालविवाह बारे जनचेतनामूलक कार्यक्रम गर्दै समयमै प्रहरीलाई सूचना दिई बालविवाह हुनबाट रोकेका केही उदाहरणहरू भए पनि धेरैजसो बालविवाहका घटना भइरहँदासमेत प्रहरीले सूचना पाउँदैन ।

जसले गर्दा बालविवाहका घटना जिल्लामा एउटा चुनौतीका रूपमा देखिएको छ । विशेषगरी मधेसी तथा मुस्लिम समुदायमा बढी मात्रामा बालविवाहका घटना हुने गरेको पाइन्छ ।

जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीबाहेक जिल्लामा बालविवाहबारे यकिन तथ्याङ्क छैन । यद्यपि बालअधिकारका पक्षमा वकालत गर्ने विभिन्न सङ्घ–संस्थाहरू जिल्लामा बालविवाहका घटना भइरहे पनि सतहमा नआएको बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म तीनवटा बालविवाह सम्बन्धी उजुरी परेकोमा तत्कालै घटनास्थलमा पुगेको प्रहरी टोलीले बालविवाहमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा बालविवाहका चारवटा उजुरी परेको सुनसरी प्रहरीको तथ्याङ्कले देखाएको छ ।


सुनसरीमा उजुरी गर्नेहरूको सङ्ख्या कम देखिए पनि बालविवाहका घटना अझै पनि भइरहेको बालअधिकारकर्मी इनरुवा नगरपालिका–९ बबियाकी अल्विना प्रवीण बताउँछिन् । ‘कागजमा उजुरी गर्नेहरू कम देखिएको मात्र हो’ उनले भनिन्, ‘जिल्लाका विभिन्न ग्रामीणभेगमा मधेसी र मुस्लिम समुदायमा बालविवाह भइरहेको पाइन्छ ।’

बालविवाह रोक्न स्थानीय जनप्रतिनिधिहरूसमेत गम्भीर नदेखिएको बताउदै अल्बिनाले बालविवाह भइरहेको थाहा हुँदासमेत राजनीतिक रूपमा घाटा हुनसक्ने भन्दै निर्वाचित जनप्रतिनिधि उदासिन देखिएको बताइन् । ‘जनप्रतिनिधिलाई सबै कुरा थाहा हुन्छ’ उनले भनिन्, ‘तर, पनि उनीहरू बालविवाह रोक्न अग्रसरता देखाउँदैनन्, विवाह रोक्यो भने भोट घट्ने डर हुन्छ ।’ ‘हामीले रोक्न खोज्यो भने समाजले हामीलाई हेर्ने दृष्टिकोण फरक पाउछौं । जनप्रतिनिधि र समाजका शिक्षित वर्गले तदारुकता देखाउन सके बालविवाहका घटना रोक्न सकिन्छ’–अल्बिनाले भनिन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावक वर्ग आफै जागरुक हुनुपर्नेमा जोड दिए । सुनसरीमा बालविवाह रोकथामका लागि सरकारी तथा विभिन्न गैरसरकारी सङ्घ–संस्थाहरूले काम गरिरहेका छन् ।

तर, पनि बालविवाह केही मात्रामा न्यूनीकरण भए तापनि पूर्णरूपमा रोकिन भने सकेको छैन । नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीनवर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था गरेको भए पनि बालविवाह रोकथामका लागि बनाइएको कानून प्रभावकारी तवरले कार्यान्वयनमा आउन सकेको छैन ।