धरान । खानेतेलको उच्च मूल्य वृद्धिको विषयमा सुनसरी उद्योग वाणिज्य संघले मुख खोलेको छ । केही महिनायता खानेतेलको मूल्य उच्च भए पनि व्यापारीहरूले यस विषयमा प्रतिक्रिया नदिँदा उपभोक्ता मारमा पर्दै आएका थिए ।
सुनसरी उवासंघले बिहीबार थोक व्यवसायीसँग गरेको छलफलको क्रममा अध्यक्ष गिरिधारी सापकोटाले भने, ‘हाल तेलको मूल्यवृद्धि स्थानीय व्यापारीहरूबाट नभई अन्तर्राष्ट्रिय क्षेत्रबाटै भएको छ ।’
सनफ्वावर तेल युक्रेन, रसिया र अर्जेन्टिनाबाट आयत हुँदै आएको छ । अध्यक्ष सापकोटाले ती देशहरूमा करिब ६० प्रतिशत उत्पादनमा कमी भएकाले पर्याप्त मात्रामा आयत हुन नसकेको बताए । जसका कारण मूल्य वृद्धि भइरहेको छ ।
रिफाइन तेलको पनि कच्चा पदार्थ दक्षिण अमेरिकी देशबाट आयत हुँदै आएकोमा हाल ७३ प्रतिशत कच्चा पदार्थ चीनले खरिद गरेकाले पनि अन्य बजारमा अभाव भएको उनको दाबी छ । उनले यस्तो विषम परिस्थितिका कारण पनि कुनै पनि व्यापारीले अनैतिक रूपमा मूल्य वृद्धि गरी बिक्रीवितरण गरेको थाहा हुन आएमा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई सहयोग गर्ने बताए ।
चिनीको मूल्यका विषयमा पनि अध्यक्ष सापकोटाले भने, ‘हाल थोक बिक्रेताले चिनी खरिद गर्दा उद्योगमै ८५ रुपैयाँ पर्छ, ढुवानी, लोडअनलोड खर्च र मूल्य अभिवृद्धि कर (भ्याट) समेत गर्दा पनि पहिलेभन्दा बढी मूल्य पर्न गएको हो ।’
उवासंघले व्यापारीहरूलाई संरक्षण गर्ने प्रयास व्यापक रूपमा गरेको छ । मूल्य वृद्धि हुनुको विभिन्न कारण प्रस्तुत गर्दै छलफलमा सहभागीलाई आस्वास्त पार्ने प्रयास गरिएको थियो । चर्को मूल्य वृद्धिबारे उवासंघले मुख खोलेन ।
बजारमा हरेक वस्तुको मूल्य वृद्धि भइरहेको जनगुनासोका आधारमा छलफल गरिए पनि गुनासो केन्द्रित भन्दा पनि व्यापारी बचाउ केन्द्रित छलफल भएको थियो । संघका प्रथम उपाध्यक्ष तथा बजार अनुगमन तथा आपूर्ति समितिका संयोजक शिवराज श्रेष्ठले व्यवसायीलाई प्याकेटमा उल्लेख गरिएको दर रेटभन्दा बढीमा बिक्री नगर्न आग्रह गरे ।
धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले बोइलर कुखुराको मासु र सागसब्जीको चाहिनेभन्दा बढी मूल्य वृद्धि भइरहेको बताए । पहिलो कोरोना महामारीका बेला धरान उपमहानगरको बजार अनुगमन समितिले नै धरानको बजारलाई नियन्त्रणमा ल्याएको थियो । त्यस समयमा धरानमा बोइलर कुखुराको मासु २८० रुपैयाँ प्रतिकेजीभन्दा माथि बिक्री नगर्न सुझाव दिइएको थियो । सोअनुरूप कार्यान्वयन पनि भएको थियो ।
तर, यसपटक बजारको जिम्मा उवासंघलाई दिइएको छ । जसका कारण सोचेअनुरूपको प्रगति हुन सकेको छैन । हाल बोइलर कुखुराको मासु प्रतिकेजी ३८० रुपैयाँ रहेको छ । इलाका प्रशासन कार्यालयका प्रमुख सुवासकुमार लामिछानेले गुणस्तर र परिमाणअनुसार मूल्यवृद्धि भएको प्रमाणित भएमा आवश्यक कारबाही गर्नका लागि उवासंघले पनि सहयोग गनुपर्ने बताए ।
धरान उपमहानगरकी उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक मञ्जु भण्डारी सुवेदीले ‘अनुगमन गरेर व्यापारीलाई आतंकित बनाउने भन्दा पनि मूल्य र उत्पादन मितिका सम्बन्धमा व्यापारी इमान्दार हुनुपर्ने’ बताएकी थिइन् ।
वाणिज्य सचिव सीताराम आचार्यले ग्राहकलाई खाद्यान्नलगायतका सामाग्री होम डेलिभरी गर्नुपर्ने भए उवासंघले आवश्यक तयारी गरिसकेको जनाए ।