धरान । सन् २०१६ मा मात्रै सातामा ५५ घण्टा वा त्योभन्दा बढी काम गर्ने कामदारहरू ह्रदय रोग र पक्षघातबाट करिब साढे सात लाखले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तथ्य सार्वजनिक गरेको छ । 

सातामा कम्तीमा ५५ घण्टा वा त्योभन्दा बढी काम गर्ने कामदारहरू ह्रदय रोग र पक्षघातबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक भएको हो । डब्ल्यूएचओको तथ्याङ्क अनुसार सन् २०१६ मा लामो समयसम्म काम गर्ने ७ लाख ४५ हजार मानिसको मृत्यु भएको छ । जसमध्ये दक्षिण पूर्वी एसिया र पश्चिमा प्रशान्त क्षेत्रमा बस्ने मानिसहरूको बढी मृत्यु हुने गरेको अनुसन्धानले पत्ता लगाएको छ । अनुसन्धानका अनुसार ५५ घण्टा वा त्योभन्दा बढी काम गर्ने कामदारहरूमा ३५ प्रतिशत पक्षघात र १७ प्रतिशत मुटुको समस्याबाट मृत्यु भएको छ । 

डब्ल्यूएचओले सातामा ३५ देखि ४० घण्टा मात्रै काम गर्न पनि सुझाव दिएको छ । डब्ल्यूएचओ र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले संयुक्त रूपमा गरेको अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएको हो । यो हाल कोरोना भाइरस महामारीले मृत्यु भएको भन्दा बढी हो । विशेष गरी ४५ वर्षभन्दा माथि ७५ वर्षसम्मका लामो समयसम्म काम गर्ने कामदारहरूमा मृत्युदर बढी देखिएको छ । मृत्युदर सन् २००० यता २९ प्रतिशतले वृद्धि भएको छ । अनुसन्धानमा उल्लेख भएअनुसार लगभग ३ लाख ९८ हजार पक्षघातले मृत्यु भएको थियो भने ३ लाख ४७ हजार मुटु रोगका कारण मृत्यु भएको छ । 

सन् २००० र २०१६ का बीचमा ४२ प्रतिशत मुटु रोगबाट र १९ प्रतिशत पक्षघातबाट मृत्यु हुने दरमा वृद्धि भएको देखाएको छ । यो तथ्य पत्ता लगाउनका लागि दुईवटा संस्थाले मुटु रोगको हकमा ३७ वटा अनुसन्धानमा ७ लाख ६८ हजार मानिसलाई सहभागी गराएको थियो भने पक्षघातको हकमा २२ वटा अनुसन्धानमा ८ लाख ३९ हजार मानिसलाई सहयागी गराइएको थियो । सन् १९७० देखि २०१८ सम्म एकसय ५४ देशमा २ हजार ३ सय सर्भेबाट यस्तो तथ्य बाहिर आएको हो । लामो समयसम्म काम गर्ने कामदारहरू विश्वमा कुल जनसंख्याको ९ प्रतिशत रहेका छन् ।