यासोक । पाँचथरको कुम्मायक गाउँपालिका–२ का देवीलाल बस्नेतले ३ रोपनी जग्गामा बन्दाकोपी लगाए । बेच्ने अवस्थाको बन्दाले बजार मूल्य नपाउँदा अहिले बारीमै कुहिन थालेको छ । वर्षाको पानी सङ्कलन गरी उत्पादन गर्दै आएको बन्दाले बजार मूल्य नपाउँदा बारीमै खेर जानथालेको हो । 

तरकारी बालीमा सिंचाइ गर्न बस्नेतले ५ लाख रुपैयाँको लगानीमा २ दुईवटा पोखरी निर्माण गरेका छन् । वर्षाको पानी सङ्कलन गरी तीन रोपनी क्षेत्रफलमा लगाएको बन्दामा सिंचाइ गर्दै आएका छन् ।

एउटै बोटमा ३ देखि ५ केजी कोपी उत्पादन हुँदासमेत बजार मूल्य नपाउँदा पशुचौपायालाई खुवाउन थालेको देवीलालको गुनासो छ । कोरोना महामारीको कारण बन्दा बजार पु¥याउन नसकेको र बजार पु¥याए पनि मूल्य नपाउँदा वर्षभरिको मेहनत खेर गएको उनले गुनासो गरे ।

यसरी उत्पादन गरेको कोपी प्रतिकेजी ५० देखि ६० रुपैयाँसम्म बिक्री गर्नुपर्छ । तर, बजारमा अहिले १५ देखि २० रुपैयाँसम्ममा मोलतोल हुँदा लगानी नउठ्ने भएपछि पशुचौपायालाई खुवाउन थालेको देवीलाल बताउँछन् । 

सुख्खाक्षेत्रमा वर्षाको पानी सङ्कलन गरी उनले दिनरात सिंचाइ, गोडमेल गरेर ठूलो मेहनत र कष्टले हुर्काएको बन्दाले बजार मूल्य नपाउँदा बस्नेत परिवारमा निराशा छाएको छ ।

नियमित बारीमा परिश्रम गरी उत्पादन गरेको कोपीले बजार मूल्य नपाउँदा अहिले ४ हजार केजी कोपी खेर गएको छ । बारीमा बन्दा कुहिएपछि पशुचौपायालाई खुवाउने र स्थानीयलाई दिने गरेको सुनाए ।

गाउँपालिकामा सिंचाइको व्यवस्थापन नहुँदा किसानले वर्षाको पानी सङ्कलन गरी तरकारी खेती गर्दै आएका छन् । तर, गाउँमा उत्पादन गरेको तरकारी बालीको बजार व्यवस्थापन नहुँदा लगानी उठाउन समस्या भएको अर्का कृषक भैरवबहादुर बुढाथोकीले बताए । 

‘हामीले गाउँमा उत्पादन गरेको कृषिजन्य वस्तुको मूल्य बढी हुन्छ । त्यसैले बजार मूल्य छैन । तर, तराईबाट ल्याएको तरकारीले राम्रोे मूल्य पाउँछ । यस्तो अवस्थामा कसरी खेती गर्ने ?’ उनले प्रतिप्रश्न गरे ।

स्वदेशमै श्रम गरी कृषिमा लागेका किसानले अहिले बजारको ग्यारेण्टी नहुँदा बर्सेनि मार खेप्दै आएका छन् । कृषि क्षेत्रमा स्थानीय, प्रदेश र केन्द्र सरकारले विभिन्न अनुदानका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।

तर, अनुदानको कार्यक्रमले मात्रै किसानका समस्या समाधान नहुने भएकाले बजारीकरणमा पनि जोड दिनुपर्ने उनीहरूको माग छ ।