धरान । बजारमा टमाटरको मूल्य सोचेभन्दा पनि कममा बिक्री भएपछि टमाटर कृषक ‘लगानी नउठ्ने’ चिन्ताले पिरोलिएका छन् । 

अहिले बजारमा थोक (होलसेल) प्रतिकेजी १० देखि १२ रुपैयाँले बिक्री भइरहेको छ । मूल्य भने झण्डै २२ रुपैयाँ पर्ने कृषकहरू बताउँछन् । धनकुटाको साबिक बेलहारा गाविसका अधिकांश कृषक टमाटरमा आश्रित छन् ।

धरानदेखि पूर्वका विभिन्न थोक बजारमा धनकुटाको टमाटरले धान्दै आएको छ । वैशाखको अन्तिम सातादेखि सुरु भएर मङ्सिरसम्म टमाटर बिक्री गर्दै आइरहेका छन् । कृषकको बारीमा अहिले प्रतिकेजी ५ रुपैयाँ पनि पर्दैन ।

कोरोना महामारीका कारण सरकारको निकायले जिल्ला जिल्लामा गरेको निषेधाज्ञा, बन्दाबन्दीले बजार नखुल्दा टमाटर बिक्री स्वात्तै घट्ने गरेको छ । गतवर्ष बन्दाबन्दीमै पनि थोक बजारमा औसत ३० रुपैयाँ केजीले बिक्री भएको धरान कृषिउपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । तर, यो वर्ष थोकमा औसत १२ रुपैयाँ प्रतिकेजीले बिक्री भइरहेको छ । 

यही हिसाबमा बजार गएमा टमाटर कृषकले ‘थाप्लोमा हात लाउनुपर्ने’ अवस्था आउने कृषकसमेत रहेका पात्लेखोला सहकारी धनकुटाका अध्यक्ष अमर दाहाल बताउँछन् । ‘बजार भाउ सुन्दा त चौपट्टै छ’ उनले फोन सम्पर्कमा भने, ‘अहिलेको बजार मूल्यलाई हेर्ने हो भने टाउकोमा हात राख्नु सिवाय अर्थोक त छैन ।’

धरानको कृषिउपज बजारमा वार्षिक ३५ देखि ४० करोड रुपैयाँ बराबरको टमाटरको कारोबार हुँदै आइरहेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा १२ हजार १ सय ३२ मेट्रिक टन कारोबार भएको थियो । जसबापत ३० करोड रुपैयाँ आम्दानी भएको कृषि बजारले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा १३ हजार १ सय २८ मेट्रिक टन कारोबार हुँदा ४० करोड रुपैयाँ आम्दानी दिएको थियो । त्यसबेला औसत ३० रुपैयाँले कारोबार भएको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९ हजार १ सय ६३ मेट्रिक टन कारोबार भइसकेको छ । आर्थिक वर्ष सम्पन्न हुँदा १४ हजार मेट्रिक टन कारोबार गर्ने लक्ष्य लिइएको व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । 

तर, मूल्य कम भएका कारणले यस वर्ष सबैभन्दा बढी कृषक मारमा परेको उनले बताए । बन्दाबन्दीका कारण होटल, रेष्टुरेण्ट, सवारी साधन तथा कार्यक्रमहरू नहुँदा खपत कम हुँदै आएको छ । बन्दाबन्दी पूर्वसम्म दैनिक ६० टन कारोबार हुँदै आइरहेको थियो । अहिले २५ टनमा खुम्चिएको छ । धनकुटाको ६, ९ र १० नम्बर वडामा टमाटर खेती हुँदै आएको छ ।

यहाँका करिब १ हजारभन्दा बढी घरधुरी टमाटरबाटै आश्रित छन् । दैनिक ५० टन टमाटर यहाँबाट कारोबार हुने पात्लेखोला सहकारी धनकुटाका अध्यक्ष दाहाल बताउँछन् ।

बजार यस्तै रहेमा अर्को साल के गर्ने र बोट उखलेर विकल्प खोज्नुपर्ने अवस्था आउने उनी बताउँछन् । ‘लगानी नै नउठ्ने अवस्था आयो भने अर्को साल के गर्ने ?’ उनले भने, ‘अहिले भइरहेको पनि उखेलेर मकै रोप्ने कि भन्ने अवस्था आउँदै छ ।’

उनले गतवर्ष बन्दाबन्दी भएपछि लगाएको बिरुवा मासेर मकै रोपेको स्मरण गरे । ‘पोहोर जति थिए, त्यसबाट राम्रै आम्दानी भएको थियो’–उनले भने ।  

तर, धरान कृषिउपज बजार स्थलका थोक व्यापारी अजय गुप्ताले अब केही दिनमा टमाटर खपत हुने विश्वास व्यक्त गरे । उनका अनुसार अहिले विराटनगरमा त्यहीँको टमाटर प्रशस्तै भएकाले पहाडी क्षेत्रको टमाटर खपत नभएकाले मूल्य ओरालो लागेको बताए ।

‘अहिले बिक्री छैन, बजार सबैतिर बन्द छ, बिक्री नभएपछि डाउन भइहाल्छ नि’–उनले फोन सम्पर्कमा भने । उनका अनुसार गतवर्ष बन्दाबन्दीमा पनि थोकमै ६५–७० रुपैयाँ प्रतिकेजीले बिक्री भएको थियो ।

उनले दैनिक औसतमा अहिले ३ टन टमाटर बिक्री गर्दै आइरहेका छन् । तर, बन्दाबन्दी लम्बिँदै जाने हो भने अप्ठ्यारो हुनसक्ने उनी बताउँछन् ।