धरान। उनका दिनहरू हिजोजस्ता रहेनन् । व्यावसायिक कर्ममा लागेपछि इलाम चुलाचुली गाउँपालिका–२ मोरङ्गे झोडाका धनकुमार राई (५५) अति व्यस्त छन् । 

गाउँघरमा हुने सुख–दुःखको काममा पनि टुप्लुक्क पुग्छन्, फेरि आफ्नो नित्यकर्ममा फर्किन्छन् । करिब ८ वर्ष भयो, उनको दैनिकी फेरिएको । त्यसअघि सामान्य खेती किसानी गरेरै दिन बित्थ्यो । झापासँग जोडिएको इलामको दक्षिण–पश्चिमी गाउँपालिका हो चुलाचुली ।

महेन्द्र राजमार्गबाट करिब साढे ५ किलोमिटर उत्तरमा पर्ने यो गाउँमा धनकुमार अरूभन्दा फरक छन् । व्यावसायिक कर्मको सुरुवात २०६८ सालबाट भयो । स्थानीय जातका बङ्गुरबाट व्यावसायिक यात्राको थालनी गरेका थिए ।

बच्चा उत्पादन गर्ने उद्देश्यले दुईवटा माउबाट सुरु गरेको कर्म अहिले व्यवसायमा परिणत भएको छ । स्थानीय जातका बङ्गुर छाडेर उन्नत जातको बङ्गुर व्यवसायमा होमिएका छन् । ‘हेमसार, ड्युरो जातका बङ्गुर पालन थालेको पनि आज चार वर्ष भएछ’–उनले भने । 

उनको व्यवसायले केही फरक रूप लिँदै छ । उनी यही कर्मबाट आफूलाई स्थापित गराउन प्रयत्नरत छन् । उन्नत जातको सयवटासम्म बङ्गुर पाल्ने योजना छ । त्यो योजनालाई साकार बनाउन छोरा सुरजलाई पनि सिकाउँदै छन् । व्यवसायमा सबैभन्दा महत्वपूर्ण कुरा पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने उनी ठान्छन् । उनी भन्छन्, ‘हामी त कति दिन गरांैला र, गर्ने छोरा नातिले नै हो । उनीहरूकै लागि हामी दिनरात नभनी खटिरहेका छौं ।’ १५ वटा माउसम्म पु¥याएर छाडेका उनले स्थानीय जातको बङ्गुरबाट सोचेजस्तो आम्दानी नहुने देखेपछि उन्नत जाततर्फ लम्किएका हुन् । उन्नत जातका लागि केही फर्महरू नियाले । जसले उनलाई व्यवसाय बढाउन थप मद्दत ग¥यो । 

करिब २० हजार रुपैयाँबाट सुरु गरेको बङ्गुर फर्म आजको अवस्थामा २५ लाख रुपैयाँको हाराहारीमा लगानी पुगेको छ । गतवर्ष प्रदेश सरकारबाट खोर बनाउनका लागि अनुदान पाए । त्यो अनुदान र केही आफ्नो लगानी गरेर हेर्न लायक खोर निर्माण गरेका छन् ।

त्यही खोरमा अहिले ३० वटा लोभलाग्दो माउ बङ्गुरहरू छन् । चार वर्षअघि उन्नत जातमा प्रवेश गर्दा १० वटाबाट सुरु गरेका थिए । ‘पहिलोचोटी १ लाख रुपैयाँको १० वटा बच्चा हालेँ’ उनी भन्छन्, ‘भौतिक संरचनामा दुई लाख खर्च गरियो ।’ त्यही भौतिक संरचना हेरेर प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १० लाख रुपैयाँ अनुदान दिने निर्णय ग¥यो । 

‘पहिला गाउँले तरिकाले खोर बनाएको थिएँ, तर बङ्गुर चाहिँ सप्रेको थियो । त्यही देखेर गर्न सक्दो रहेछ भन्ने लागेर होला खोरका लागि १० लाख रुपैयाँ अनुदान दिने निर्णय ग¥यो’ उनी भन्छन्, ‘अरूले १० लाख रुपैयाँ ल्याएर आधी खाएरै सक्दा रहेछन् तर, मैले चाहिँ आफ्नो पनि पैसा लगाएर खोर बनाएँ ।’ करिब दुई कठ्ठा क्षेत्रफलमा अहिले खोर निर्माण गरिएको छ ।

जहाँ व्यवस्थित तरिकाले खोर निर्माण गरिएको छ । ‘बङ्गुर पालेकै कारणले अनुभव भएर होला, पुरानोभन्दा विल्कुल फरक तरिकाको खोर बनाएको छु’–उनी भन्छन् । त्यो खोर निर्माण गर्दा इञ्जिनियर पनि उनी आफै हुन्, आर्किटेक्चर पनि आफै हुन् । अनुभवबाटै उनले खोर निर्माण गरेका छन् । निकट भविष्यमै ५० वटा माउ पु¥याउने लक्ष्य राखेका छन् । 

बङ्गुरबाट कमाएको आम्दानी उनले पुनः माउ बढाउनतिर लगाएका छन् । अहिले मासिक १ लाख रुपैयाँ बराबरको दानापानी खाने गरेको छ । त्यो खर्च बङ्गुरबाटै उठ्छ । ‘अहिले हिसाबकिताब बराबरी छ, खर्च गर्नका लागि घरबाट निकाल्नु परेको छैन’ उनी भन्छन्, ‘मान्छे राखेका छैनौं, आफै बाबुछोरा खटिन्छौं ।’ हरेक बिहान उनी या त छोरा बङ्गुरको स्याहारमा खटिन्छन् ।

बङ्गुरका अलावा गाई, कुखुरा पालन पनि गरेका छन् । तर, अहिले आम्दानीको प्रमुख स्रोत बङ्गुर नै हो । बङ्गुरमा अहिलेसम्म बजारको समस्या भोगेका छैनन् । तर, गतवर्षको कोरोना महामारीको लकडाउनले भने उनलाई केही घाटा पु¥यायो । व्यावसायिक कृषिमा होमिएका धनकुमारलाई बन्दाबन्दी (लकडाउन) कोरोना भाइरस जत्तिकै खतरनाक भएको अनुभूति व्यक्त गरे । ‘बच्चाहरू नबिकेर हैरान, दाना खुवाउँदै राख्दा त धेरै नै लस भयो’–उनी भन्छन् । 

फेरि यसपटक बन्दाबन्दी सुरु भएको छ । यसले कति समस्या ल्याउने हो उनी आँकलन गर्न सक्दैनन् । कहिलेसम्म जाने हो, त्यसमा भरपर्ने उनी बताउँछन् । व्यावसायिक पशुपालन, कृषि तथा अन्य पेशा गर्नेहरूका लागि सरकारले नै बजारको व्यवस्थापन गरिदिए कृषकलाई कुनै समस्या नहुने उनको तर्क छ ।

‘राज्यले निकासी जहिले तहिले खुलाइदिने वातावरण बनाइदिनुपर्छ, पाल्नु समस्या होइन, बजारीकरण समस्या हो’–उनी भन्छन् । यसतर्फ सरकार गम्भीर हुने हो भने नेपालका कृषिजन्य उत्पादनहरूले बजार पाउने थियो र निर्धक्क भएर धनकुमार जस्ता कृषक बङ्गुर, गाई तथा तरकारी खेतीमा तल्लीन हुने थिए । पहिलो वर्षको बन्दाबन्दीमा जस्तो दैनिक ३ हजार रुपैयाँको दानापानी बङ्गुरलाई तीनमहिनासम्म खुवाउनु पर्ने बाध्यताबाट मुक्त हुन्थे । के त्यो अवसर सरकारले सिर्जना गर्ला ? धनकुमार प्रश्न गर्छन् ।