धरान। कोरोना सङ्क्रमणका कारण निषेधाज्ञा सुरु भएपछि कृषकहरू चिन्तित बनेका छन् । 

वराहक्षेत्र नगरपालिका–९ स्थित ढोलबजिया, हिडलुवाका कृषकहरूमा बारीमा लगाएको तरकारी कुहिने चिन्ता छ । कृषक रघुवीर चन्द्रवंशीले पहिला दैनिक २ सय केजी खपत हुने गरेकोमा अहिले ५० देखि ६० केजी पनि तरकारी खपत हुन नसकेको बताए । उनले भने, ‘गतवर्ष पनि लकडाउनले बारीमै तरकारी कुहियो, यो वर्ष के हुने हो ? के गर्ने बुझ्नै सकिएको छैन ।’ 

गतवर्ष वराहक्षेत्र नगरपालिकाले तरकारी बिक्री वितरणका लागि कृषि बजार स्थापना गरिदिएको थियो । तर, यसपालि नगरले कस्तो व्यवस्था गरिदिने हो भन्नेमा किसान चिन्तित छन् । साझेदारीमा सुन्दर कृषि फार्म सञ्चालन गरिरहेका छविलाल चौधरी पोहोर नगरले साझामा लगेर बेच्ने वैकल्पिक व्यवस्था गरेको तर, यसपालि के हुने हो भनेर पर्खिरहेको बताउँछन् ।

पहिला कृषि फार्ममा उत्पादित तरकारी बिक्रीका लागि बजार खोजिरहनु पर्ने आवश्यकता थिएन । व्यापारीहरू बारीमै पुगेर किन्थे । हाटबजार गर्ने व्यापारीहरू, घरमै पसल खोलेर बिक्री गर्नेहरू र गाडी लिएर ठेक्का गरेर लानेहरू पनि सुन्दर कृषि फार्ममै आउँथे । तर, अहिले यो क्रम २५ प्रतिशतभन्दा पनि कममा झरेको छ ।  

अघिल्लो लकडाउनदेखि हालसम्म ६ महिना तरकारी बाली लगाएका यी युवाले ३ बिघामा तरकारी खेती गरिरहेका छन् । ‘केही बालीले उत्पादन दिइरहेको छ, कुनै उत्पादनका लागि लगाइसकिएको छ भने केही लाउने क्रममा छौं’ साझेदार अमिर निरौलाले भने, ‘८ लाख रुपैयाँ बारीमै कुहिएर गयो, अहिले पनि अवस्था उस्तै छ । बजार पाइएन भने बेहाल होला जस्तो छ ।’

बजारको अभावमा तरकारी टिप्नै नपाउने अवस्था आए यो सिजनमा पनि ८–९ लाखसम्मको घाटा लाग्ने रघु चन्द्रवंशीको अनुमान छ । तर, २ महिना सहज तरिकाले बिक्री गर्न पाए राहत हुने उनी बताउँछन् । वराहक्षेत्र–९ स्थित ढोलबजिया कृषिका लागि अब्बल मानिन्छ । उत्पादन राम्रो भएकाले नै यहाँका मानिस व्यावसायिक कृषितर्फ आकर्षित छन् । वर्षौं पहिलेबाट तरकारी खेती गर्दै आए पनि विगत २ वर्षअघिदेखि यहाँका कृषकलाई नगरपालिकाले सञ्चालन गरेको आईपीएम कृषि पाठशालाले ऊर्जा थपेको थियो ।

चार महिनासम्म तरकारीको बेर्ना राख्दादेखि फल फलाउनसम्म नगरपालिकाले तालिम दियो । त्यसैको फलस्वरूप अहिले धेरैले तरकारी खेती लगाएको कृषक बताउँछन् । सुन्दर कृषि फार्म ३ जना साझेदारले सञ्चालन गरेका छन् । अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरी तीनै जना वैदेशिक रोजगारीबाट फर्केका युवा हुन् ।