विराटनगर। विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रका फ्रण्टलाइन (अग्रपङ्क्ति) मा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरूले राखेका माग प्रदेश सरकारले सुनवाइ नगरेपछि आन्दोलित भएका छन् । उनीहरूले राखेका विभिन्न माग सामाजिक विकास मन्त्रालयले सुनवाइ नगरेपछि सोमबारदेखि यहाँका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । 

यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले रोकिएको जोखिम भत्ता पाउनुपर्ने, करार अवधिलाई निरन्तरता दिनुपर्र्ने, कोरोना सङ्क्रमित बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई क्वारेण्टिनको व्यवस्था गरिदिनुपर्ने माग राखेका छन् ।

स्वास्थ्यकर्मीहरूले राखेको जयाज माग प्रदेश सरकारले बेवास्ता गरेपछि यहाँका ८ जना मेडिकल अधिकृत र ६ जना स्टाफ नर्सले सामूहिक राजीनामा दिने चेतावनी पनि दिएका छन् ।

‘हामीले राखेको जयाज माग एक साताभित्रमा कार्यान्वयनमा प्रदेश सरकारले नलगे सामूहिक राजीनामा दिनेछौं’ आन्दोलनको नेतृत्व गरेका डा. पङ्कज महरानले भने, ‘हामीले राखेको मागको विषयमा प्रदेश सरकार र मन्त्रालयका सचिवले गम्भीर रूपमा लिनुभएको छैन । हामीले एक साताको समय दिएका छौं । माग सुनुवाइ नभएको खण्डमा सामूहिक राजीनामा दिएर हिँड्नेछौं ।’

सङ्क्रमित बिरामीको उपचारमा खटिएका यहाँका स्वास्थ्यकर्मी व्यवस्थित क्वारेण्टिन नहुँदा घर जानुपर्ने अवस्था रहेको उनले बताए । ‘दैनिक १५ देखि १७ घण्टा सङ्क्रमितको उपचारमा यहाँका चिकित्कसहरू खटिने गरेका छन् । आराम गर्ने क्वारेण्टिन छैन । अहिले उपचारमा खटिएका स्वास्थ्यकर्मी जोखिम मोलेर घर जानुपर्ने अवस्था छ’ डा. पङ्कजले भने, ‘क्वारेण्टिनको व्यवस्था गरिदिनू भन्दा सरकारले ठाडो कान लगाएको छैन ।’ यसअघि पनि जोखिम मोलेर उपचार गर्दाको जोखिम भत्ता नपाएको उनीहरूको भनाइ छ । 

गत भदौमा नियुक्ति पाएका डाक्टर, नर्स र पारामेडिक्सलाई प्रदेश १ सामाजिक विकास मन्त्रालयले कात्तिकयताको सुविधा दिएको छैन ।

एक महिनाको बिदापछि पुनः हाजिर भएका उनीहरूले राज्यले तोकेअनुसारको सुविधा नपाएपछि आन्दोलनमा उत्रिएको बताएका छन् । राज्यले तोकेको न्यूनतम सुविधा माग गर्दा पनि सम्बोधन नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूको भनाइ छ ।

‘महामारीमा खटिँदा हाम्रो न्यूनतम आवश्यकता पनि पूरा गर्न प्रदेश सरकारले चासो दिएन’–मेडिकल अधिकृत डा. दीपेन्द्र महतोले भने । 

कोभिडको पहिलो फेजमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि सामाजिक विकास मन्त्रालयले होटल स्टर्न स्टारमा क्वारेण्टिन बनाएको थियो । तर, यस पटक घरबाटै धाउनुपर्ने बाध्यता रहेको र स्वास्थ्यकर्मीलाई खाना पनि राम्रो नदिएको उनीहरूको गुनासो छ ।

सोमबारसम्म कोशी कोभिड उपचार केन्द्रमा ३२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएपछि  सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विका चौंलागाईं नेतृत्वको टोली कोभिड अस्पताल पुगेको थियो । उपसचिव चौंलागाईंले स्वास्थ्यकर्मीहरूको मागको विषयमा मन्त्रालयमा राखेर जायज मागको सुनुवाइ हुने आस्वासन दिएर फर्किए ।