विजयपुर । अन्य धेरै स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम लागू गरेको धेरै समयपछि धरान उपमहानगरपालिकाले भर्खर स्थानीय पाठ्यक्रम तयार पार्दैछ ।

उपमहानगरपालिकाको प्रस्तावित स्थानीय पाठ्यक्रममा विभिन्न २५ विषयहरू समेटिएका छन् । विषयवस्तुहरूमा धरान उपमहानगरपालिकाको परिचयदेखि धरानका चुनौतीहरू र तिनका समाधानका उपायहरू समेत समेटिएको पाठ्यक्रम निर्माण कार्यदलका संयोजक सह–प्राध्यापक डा. राजेन्द्र शर्माले जानकारी दिए ।

उनले आधारभूत तहमा प्रत्येक स्थानीय तहले एउटा मातृभाषा र एउटा स्थानीय तहका विविध पक्षलाई समेटेर पाठ्यक्रम बनाई अध्ययन गराउनु पर्ने प्रावधान बताए । उनले पाठ्यक्रम निर्माणका लागि २५ विषयक्षेत्र समेटेर प्रस्ताव गरिएको बताए । २५ विषयमा १ सय पूर्णाङ्कको हुनेछ ।

प्रस्तावित पाठ्यक्रमको अङ्कभार पनि निर्धारण गरिसकिएको संयोजक शर्माले बताए । उक्त विषयवस्तुका कुन कुन कक्षामा अध्ययन गराउने र कुन तहका लागि कुन विषय उपयुक्त हुन्छ ? निर्धारणको लागि अध्ययन, तयारी कार्य भइरहेको शर्माले बताए ।

स्थानीय पाठ्यक्रम उपमहानगरभित्र सञ्चालित सामुदायिक र निजी तथा संस्थागत विद्यालयले आधारभूत तह कक्षा १–८ मा अनिवार्य रूपमा अध्ययन गराउनु पर्ने व्यवस्था रहेको  छ । 

पाठ्यक्रमलाई खण्ड ‘क’, खण्ड ‘ख’ र खण्ड ‘ग’ मा विभाजन गरिएको छ । खण्ड ‘क’ मा अनिवार्य पत्रहरू समेटिएको छ । खण्ड ‘क’ मा १२ वटा विषयक्षेत्र समेटिएको छ । खण्ड ‘ख’ मा व्यावसायिक पत्रहरू रहेका छन् । खण्ड ‘ख’ मा ८ वटा विषयक्षेत्र रहेका छन् । त्यसमध्येबाट कुनै ३ वटा छनौट गर्नु पर्नेछ । खण्ड ‘ग’ मा अतिरिक्त पत्रहरू रहेका छन् । खण्ड ‘ग’ का ५ वटा विषयक्षेत्रमध्ये २ वटा छनौट गर्नु पर्नेछ । 

पाठ्यक्रमको खण्ड ‘क’ मा स्थानीय पाठ्यक्रम विषयवस्तुहरू पहिलो धरान उपमहानगरपालिकाको परिचयमा धरानको स्थापना, गठन, संस्थागत संरचना, शाखा–महाशाखा, बजेट, जनप्रतिनिधि, पीपीपी, यसका काम, कर्तव्य र अधिकार, खानेपानी बोर्ड उपलब्धि र कार्य सम्पादन मूल्याङ्कन रहेको छ ।

दोस्रो धरानको भौगोलिक अवस्था रहेको छ । यसमा धरानको सिमाना, अवस्थिति, छिमेकी पालिका र जिल्ला, भूमि व्यवस्था र उपयोग, खोला–नाला, वडा सीमा, मुख्य सडक र चोकहरू र जलाधार क्षेत्र समेटिएको छ ।

तेस्रोमा धरानका ऐतिहासिक स्थलहरू समेटिएको छ । जसमा विजयपुर गढी,  सुलीकोट र धरानको इतिहास रहेका छन् ।

चौथोमा धरानका धार्मिकस्थलहरू समेटिएको छ । यसमा मन्दिर, गुम्बा, चर्च, चैत्य, मस्जिद र माङ्हिम विषयहरू रहेका छन् ।

पाँचौंमा धरानको जनसङ्ख्या, भाषा र सामाजिक बनावटका विषयहरू रहेका छन् । यसमा जनसाङ्ख्यिक विवरण, जातजाति र भाषाजस्ता विषयवस्तुहरू समेटिएको छ ।

छैठौँमा धरानका पर्यटकीय स्थलहरूको चिनारी रहेको छ । यसमा प्राकृतिक, धार्मिक र  साहसिक क्षेत्रहरू समेटिएका छन् ।

सातौँमा धरानको शैक्षिक अवस्थाको झलक रहेको छ । यसमा कलेज, विद्यालय, अनौपचारिक शिक्षा, विशेष शिक्षा, परम्परागत तथा धार्मिक विद्यालय, मदरसा, गुम्बा र गुरुकुल शिक्षा समेटिएको छ । पहिलोदेखि सातौँसम्मका विषयवस्तुहरूको अङ्कभार ६ रहेको  छ । ७ वटा विषयवस्तुको जम्मा अङ्कभार ४२ रहेको छ । आठौँमा धरानका सांस्कृतिक चाडपर्वहरू रहेका छन् ।

यसमा जातीय चाडपर्व, धार्मिक चाडपर्व, जातजातिका नृत्य, नाच, परिकार र  पहिरन समेटिएको छ । यसको अङ्कभार ४ रहेको छ । नवौँमा धरानका कला, साहित्य र सङ्गीत रहेका छन् । यसमा नाटक, चित्रकला, हस्तकला, मूर्तिकला, नृत्य, गीत, सङ्गीत, साहित्य, प्रतिष्ठान, व्यक्ति र व्यक्तित्वजस्ता विषयवस्तु समेटिएको छ ।

यसको अङ्कभार ६ रहेको छ । दशौँमा धरान र खेलकुद रहेको छ । यसमा परम्परागत खेलहरू, फुटबल (बूढासुब्बा गोल्ड कप र गोधुली कप), क्रिकेट, गल्फ, बास्केटबल, बक्सिङ, मार्सल आर्ट्स, ब्याडमिण्टन, टेबुलटेनिस र शारीरिक सुगठनजस्ता खेलहरू रहेका छन् । यसको अङ्भार ४ रहेको छ ।

एघारौँमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिचय रहेको छ । यसमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिनारी र विस्तृत जानकारी समेटिएको छ । यसको अङ्कभार ६ रहेको छ । बाह्रौँमा धरानबारे सामान्य ज्ञान (जीके) रहेको छ । यसमा सबै विषयका सामान्यज्ञानको सङ्गालो समेटिएको छ । यसको अङ्कभार ३ रहेको छ । 

खण्ड ‘ख’ मा व्यावसायिक पत्रहरू रहेका छन् । ८ वटा विषयक्षेत्रमध्ये कुनै ३ वटा विषयक्षेत्र  छनौट गर्नु पर्नेछ । ८ वटाको नै अङ्कभार भने ७ रहेको छ । खण्ड ‘ख’ को पहिलोमा धरानका उद्योग तथा व्यवसायहरू रहेको छ ।

यसमा परम्परागत उद्योग, घरेलु उद्योग, धरान औद्योगिक क्षेत्र, छापाखाना, सञ्चार उद्योग, धातु उद्योग, व्यवसायहरू, मलहरू, उद्योग वाणिज्य सङ्घ र व्यावसायिक संस्थाहरू रहेका छन् ।

दोस्रोमा धरानमा कृषि तथा खेतीपाती रहेको छ । यसमा जैविक खेती, एक जिल्ला एक उत्पादन, फलफूल तथा तरकारी खेती, बालीनाली र नर्सरी विषयक्षेत्र समेटिएको छ । 

तेस्रोमा धरानमा पशुपालन रहेको छ । यसमा कुखुरा, बङ्गुर, बाख्रा, मौरी, गाईभैंसी पालन र दूध उत्पादनजस्ता विषयक्षेत्र समेटिएको छ ।

चौथोमा धरानका सरकारी सेवाहरू रहेको छ । यसमा इलाका प्रशासन, इलाका प्रहरी, मालपोत, नापी, आन्तरिक राजस्व, वन, जलवायु, रेडियो नेपाल, आयुर्वेद औषधालय, टेलिकम र विद्युत् प्राधिकरण रहेका छन् ।

पाँचौंमा विपद् व्यवस्थापनमा धरान रहेको छ । यसमा बाढी, पहिरो, आगलागी, महामारी, सरुवा रोग, दुर्घटना, ट्रमा सेण्टर र दैवी विपत्तिजस्ता विषयक्षेत्र समेटिएको छ ।

छैठौंमा धरानका पर्यटन उद्योगहरू रहेको छ । यसमा पर्यटन व्यवसाय, होटल, पर्यटन बोर्ड र होम–स्टे विषयहरू समेटिएका छन्  । सातौंमा धरानमा यातायात व्यवसाय रहेको छ । यसमा बस, ट्याक्सी, टेम्पो, ई–रिक्सा, ढुवानी सेवा, बसपार्क, हेलिकप्टर, रिक्सा र ठेलाजस्ता विषयक्षेत्र समेटिएको छ ।

आठौंमा धरानका परम्परागत पेशाहरू रहेका छन् । यसमा हस्तकला, धातु, घरेलु मदिरा, फलामका हतियार, ढाका, छिपा, धुप, बत्तीजस्ता विषयक्षेत्र समेटिएको छ । 

खण्ड ‘ग’ मा अतिरिक्त पत्रहरू रहेका छन् । अतिरिक्तका ५ वटा विषयक्षेत्रमध्ये २ वटा छनौट गर्नुपर्नेछ । प्रत्येक विषयक्षेत्रको अङ्कभार ७ रहेको छ । खण्ड ‘ग’ को पहिलोमा धरानका सामुदायिक वन तथा पार्कहरू रहेका छन् ।

यसमा सामुदायिक वनहरू, बीपी पार्क, गोरखा स्मृति पार्क, सप्तरङ्गी पार्क, घण्टाघर  र भूकम्प स्मारक जस्ता विषय समेटिएको छ । दोस्रोमा धरानको कृषि बजार रहेको छ । कृषि थोक तथा खुद्रा बजार धरान–१३ बारे संक्षिप्त तथा विस्तृत विवरण समेटिएको छ । तेस्रोमा धरानको राजनीतिक घटनाक्रम रहेको छ ।

यसमा धरानको स्थापनाकालदेखि हालसम्मको राजनैतिक घटनाक्रम समेटिएको छ । चौथोमा धरानका विकास गतिविधि रहेको छ । यसमा रङ्गशाला, सपिङ कम्प्लेक्स, बहुजातीय सङ्ग्रहालय, ब्रिटिस सामुदायिक भवन, चुम्लुङ हिम, यायोक्खा भवन, धरान सभागृह, एन्फा टेक्निकल सेण्टर, र पालिका तरकारी बजार विषयहरू समेटिएको छ ।

पाँचौंमा धरानका चुनौतीहरू र तिनका समाधानका उपायहरू रहेका छन् । यसमा लागूपदार्थ दुव्र्यसन (सुधार गृह, नैतिक शिक्षा), खानेपानी÷अव्यवस्थित बसोबासका विषयहरू समेटिएका छन् । यी पाठ्यक्रम जेठ मसान्तसम्ममा सकिने र आगामी शैक्षिक सत्रमा विद्यार्थीले अध्ययन गर्न पाउने संयोजक शर्माले बताए ।