२०६३ साल असार–साउनतिर हुनुपर्छ । त्यतिबेला म इजरायल पुगेको भर्खर एक–डेढ वर्ष भएको थियो । रेबायाबाट राहात गएको थिएँ । यो बेरसेवा नजिकैको एउटा सानो सहर हो । नजिकै ग्रीन हाउसहरु थिए ।

गुलावको फूलमा काम थियो । एक्सपोर्ट थियो । सबै युरोप र अमेरिका जाँदो रहेछ । राहातमा नेपाली म एक्लै थिएँ । वरपर पनि नेपाली कोही नजिक थिएन । नेपाली बोल्न पनि साथीसँग फोनमा मात्र पाइन्थ्यो । नत्र नेपाल घरमा फोन गर्दा । त्यहाँ त थाइल्याण्डका र प्यालेस्टाइनीहरु मात्र थिए । प्यालेस्टाइनीहरु आफ्नो देशबाट भागेर आई त्यहाँ लुकेर काम गर्ने गर्दा रहेछन् । उनीहरु सबैलाई इजरायलमा काम गर्ने अनुमति हुँदोरहेनछ ।

म एक्लै भएकोले खाना पकाउने, खाने, बस्ने सम्पूर्ण कुरा बोसले छुट्टै व्यवस्था गरिदिएको भए पनि बेलुकाको खाना चाहिँ प्रायः म थाइल्याण्डीहरुसँगै बसेर खान्थेँ । सबैले आ–आफ्नो कोठाबाट आ–आफ्नो खाना लिएर जान्थ्यौँ र एउटा फराकिलो ठाउँमा कुर्सी, टेवल चट्ट मिलाएर टिभी हेर्दै खान बस्थ्यौँ ।

एक–अर्कामा गफ गर्दै बसेर खान्थ्यौँ । जसलाई जुन खानेकुरा खान मन लाग्छ, त्यही त्यहाँबाट झिक्दै खाने हो । खाना खाइसकेर पनि कसलाई टिभी हेर्न मन लाग्छ । टिभी हेर्न बस्थ्यौँ । कसलाई फिल्म हेर्न मन लाग्छ । ऊ फिल्म हेर्न बस्थ्यो । गफ गर्न मन गर्नेहरु गफ गरेर बस्ने गथ्र्यौं । दस–एघार बजेसम्म यसरी बस्थ्यौँ । त्यसपछि आ–आफ्नो कोठामा गएर सुत्थ्यौँ ।

काम त्यति गाह्रो नभए पनि दस–बाह्र घण्टा लगातार एउटै काम गरिरहँदा सामान्यतः गलिन्थ्यो नै । फेरि नेपाली कोही नभएकोले कहिलेकाहीँ त वाक्कदिक्क पनि लाग्थ्यो । नेपाली साथी ल्याइदे मलाई एक्लै गाह्रो भयो काम गर्न भनेर बोसलाई भन्दा पनि ल्याउँछु, एकजना नेपाली । तिमीलाई साथी ल्याइदिन्छु ।

अब छिट्टै आउँछ । मैले एजेन्सीसँग कुरा गरेको छु भन्थ्यो । आएको थिएन । दिनभरिको कामले लखतरान । थाकेर म जहिल्यै पनि काम सकेपछि कोठाको ढोकाको छेउमा थचक्कै बसेर खुइय काढ्दै जुत्ता खोल्थेँ । जस्तोसुकै काम होस् त्यहाँ काममा जाँदा अनिवार्य जुत्ता लाउनै पर्छ । जुत्ता नलाई काममा जान पाइँदैन ।

एक दिन काम सकेर म सधैँ झैँ जुत्ता खोल्न त्यसरी नै कोठाको ढोका छेउमा बसिरहेको थिएँ । जुत्ता भने खोलेको थिइँन । साह्रै गलेको भान भइरहेको थियो । त्यतिबेला भर्खर–भर्खर इजरायल पुगेकोले काम गर्ने पूरै बानी पनि राम्रोसँग परिसकेको थिएन । हातले जुत्ता समाउँदै पर अन्तै कतै जैतुन बारीतिर नियालिरहेको थिएँ ।

यतिकैमा कम्पनीको बोसको बाउ आएर मेरो खुट्टाबाट जुत्ता खोलिदिन पो थाल्यो । उसको नाम नुरी थियो । त्यहाँ बाबुआमादेखिबाहेक आफूभन्दा ठूला–साना सबैलाई नामले नै बोलाइन्छ । साहुको बाबु भएकोले म चाहिँ उसलाई आबा नै भन्थेँ । हिब्रु भाषामा बाबुलाई आबा भनिन्छ । यसरी म बसिरहेको ठाउँमा आएर एक्कासि मेरा खुट्टाबाट जुत्ता खोलिदिन थाल्दा आश्चर्य लाग्यो । अलिकति लाज पनि र मैले मेरा खुट्टा आफूतिर तान्दै भनेँ, लो आबा मा कारा !

हैन बुबा के गर्नुभएको ! मेरा जुत्ता म आफै खोलिहाल्छु नि आदि । मैले भन्न खोजेको कुरा उसले बुझेछ क्यार । मलाई त्यतिबेला हिब्रु भाषा बोल्न त्यति राम्रोसँग आउँदैनथ्यो । कनिकुथी बोलेको थिएँ । एन भाया जङ्ग । आता हायफ नखोन ? भन्यो । केही छैन जङ्ग तिमी थाकेका छौ म खोलिदिइहाल्छु नि भन्यो । मलाई ज्यादै अप्ठ्यारो लागेर आयो । हतार–हतार म आफैले आफ्ना खुट्टाका मोजा चाहिँ आफै खोलेँ । जुत्ता खोल्न नदिई भएन । त्यसो त मलाई उसले आफ्नै छोराछोरीजस्तो गथ्र्यो ।

चाडबाड आउँदा पनि मलाई लिन पठाउँथ्यो । घरमा जाँदा ऊ मसँगै बसेर खान्थ्यो । गफ–गाफ हुन्थ्यो । मेरा बुबाआमा, श्रीमती, छोराछोरी र भाइ, बैनीहरुका बारेमा सोध्थ्यो । यद्यपि उसले मलाई आफ्ना छोराछोरी, नातिनातिना जस्तै ठानेर त्यसो गरेको होला तर, मलाई भने बोसको पनि बाबुले किन मेरा खुट्टाबाट जुत्ता खोलि दिन लागेको होला !

यहाँका मानिसहरुमा कामदारलाई धेरै माया र सम्मान गर्ने परिपाटी भएकोले हो कि वा कुनै व्यङ्ग्यात्मक शैलीमा त्यसो गरेको हो भन्ने कुराले मलाई निक्कै संवेदनशील बनायो । पछि मैले ठम्याएँ । त्यो कुनै व्यङ्ग्यात्मक शैलीमा नभएर त्यो उसमा आएको स्वभाविक भावनात्क कार्य थियो । त्यहाँका मानिसहरुका लागि यो सामान्य कुरा होला तर, मेरा लागि असामान्य थियो । यति धेरै त्यस बूढाको मन जित्ने काम मैले के गरेको थिएँ होला भनेजस्तो लागि रह्यो ।

शरीरमा लाएका लुगाको कलर समेत अर्काले नमिलेको देखेर मिलाइदिँदा त मलाई अप्ठ्यारो महसुस हुन्थ्यो । मेरो जीवनमा त्यो दिनसम्म कसैले मेरा खुट्टाबाट जुत्ता खोलिदिएको थिएन । म अर्कालाई जुत्ता त के सकेसम्म लुगासमेत धुन, फुकाल्न दिँदैनथेँ । आफ्नो काम म आफै गर्थें । त्यो कुराले मलाई निकै दिनसम्म अप्ठ्यारो लागिरह्यो । पछि त आफैमा गौरव पनि लाग्दै आयो ।

म बोसको यति प्यारो भएँछु भनेजस्तो पनि लाग्यो । विस्तारै बुझ्दै लाँदा त यो साहुको कामदारप्रतिको माया र सम्मान नै रहेछ । म काम र विश्वासले नै उसको त्यति प्यारो भएको रहेछु । विदेशमा कामदार प्यारो हुने भनेको कामले हो, अरु थोकले होइन । मैले यो कुरा निक्कै पछि मात्र बुझेँ ।  

आजभोलि पनि मेरा कहीँ कतै साथी–भाइरुसँग भेटघाट हुँदा देश–विदेशका कुरा भइरहन्छन् । यसरी कुरा हुँदा बोसहरुले आफूप्रति गरेको व्यवहारका कुरामा म साहुका बाबुले मेरा खुट्टाबाट जुत्ता खोलिदिएको त्यो दिनको कुरा सम्झिन पुगिहाल्छु । यो पनि मेरो जीवनमा इजरायल बसाइको क्रममा एउटा अविस्मरणीय क्षण नै बन्न पुग्यो ।