भारत– बङ्गलादेश सीमामा गत वर्ष आएको ‘अम्फान’ आँधिले १४ अर्ब डलरको विनाश गरेको एक रिपोर्टमा बताइएको छ । 

उत्तरी हिन्द महासागरमा आएको यो आँधिले ठूलो आर्थिक घाटा गरेको ‘ग्लोबल क्लाइमेट २०२०’ को रिपोर्टमा भनिएको छ । मंगलबार जारी रिपोर्टमा कोभिड–१९ को मार झेलिरहेको भारतमा यो आँधिले दोहोरो मार खेप्नु परेको उल्लेख छ । 

भारत– बङ्गलादेश सीमामा २० मेमा भूस्खलन समेत भएको थियो । 

यस क्रममा १२९ व्यक्तिको ज्यान गएको थियो । 

रिपोर्टका अनुसार सन् २०२० लाई सबैभन्दा बढी गर्मी भएको वर्षका रुपमा मापन गरिएको छ । सन् २०१५ पछि ६ वर्ष रेकर्डस्तरमा गर्मी भएको उल्लेख छ । यसलाई हेर्दा सन् २०११ देखि २०२० को दशक सबैभन्दा बढी गर्मी भएको दशक रह्यो । 

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले विश्व मौसम संगठन (डब्ल्यूएमओ) द्वारा संकलित रिपोर्ट सार्वजनिकका अवसरमा सन् २०२० अभूतपूर्व वर्ष रहेको उल्लेख गरे । उनले भने, ‘संयुक्त राष्ट्रको यो रिपोर्ट निकै भयावह छ, यसलाई विश्वका सबै नेता र निर्णयकर्ताले पढ्नुपर्छ ।’


अम्फानपछि २ हजार बढीको मृत्यु

अम्फान आँधिका कारण भारतमा झण्डै २४ लाख व्यक्ति विस्थापित भए । पश्चिम बंगाल र ओडिशामा यसको प्रभाव बढी पर्यो । बंगलादेशमा आँधिका कारण २५ लाख विस्थापित भए । 

आँधिपछि जूनदेखि सेप्टेम्बरका बीच भारतमा औसतभन्दा बढी वर्षा भयो । वर्षापछि बाढी, भूस्खलनजस्ता घटना भए । यस क्रममा भारत, पाकिस्तान, नेपाल बंगलादेश, अफगानिस्तान र म्यानमारमा गरी २ हजार बढीको ज्यान गयो ।