भारतमा विगत तीन सातामा प्रतिदिन डेढ लाखभन्दा बढी नयाँ सङ्क्रमितहरू देखा परिरहेका छन् । भारतमा औषधिको आपूर्तिमा अभाव भएपछि दिल्ली र अन्य थुप्रै सहरमा कालोबजारी सुरु भएको छ ।

उपचारका लागि अस्पतालमा शय्या, अत्यावश्यकीय औषधि, अक्सिजन सिलिन्डर पाउन संघर्ष गरिरहेका परिवारको दुःखका विवरणहरू पूरै भारतबाट आइरहेका छन् ।

केही सहरमा त आफन्तको अन्तिम संस्कारका लागि पनि मानिसहरूले लामो प्रतीक्षा गरिरहेका छन् ।

बीबीसी रिपोर्टका अनुसार भारतमा हालैका दिनहरूमा सामाजिक सञ्जाल रेम्डेसिभिर र टोसिलिजुम्याब औषधि फेला पार्न सघाउन अनुरोध गरेको देखिन्छ ।

यी दुवै औषधिको प्रभावकारिताबारे विश्वभरि बहस भइरहेको छ तर भारतलगायत केही देशहरूले आपत्कालीन अवस्थाका लागि प्रयोग गर्न अनुमति दिएका छन् ।

एन्टिभाइरल रेम्डेसिभिर प्रयोग गर्न चिकित्सकहरूले सिफारिस गर्ने गरेका छन् र त्यसको माग उच्च रहेको छ ।

अहिले भारतले उक्त औषधिको निर्यातमाथि रोक लगाएको छ तर पनि उत्पादकहरू माग धान्न अझै संघर्षरत छन् ।

भारतका थुप्रै सहरमा उपचारका लागि अक्सिजनको माग पनि बढेको छ ।

थुप्रै अस्पतालहरूले आपूर्ति कम भएका कारण बिरामीहरूलाई अन्यत्रै पठाइएका छन् ।

महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले जमिन मार्गबाट पठाउँदा अस्पतालहरूमा अक्सिजनको आपूर्तिमा धेरै समय लाग्ने भएकोले संघीय सरकारले सेनाको विमानबाट अक्सिजन पठाउन लागेको बताएका छन् ।

साना सहर र नगरहरूमा अवस्था अझै दयनीय छ ।

अस्पतालहरूमा शय्या पाउन नसकेपछि चिकित्सकहरूले बिरामीलाई घरमै अक्सिजन सिलिन्डर राख्न सुझाव दिएका छन्।

साना नगरहरूमा देखिएको अर्को समस्या भनेको त्यहाँका निजी प्रयोगशालाहरूले छातीको एक्सरे गर्न र सीटीस्क्यान गर्न अस्वीकार गर्नु हो । डाक्टरहरूले रोग पत्ता लगाउन धेरैजसो यी परीक्षणहरू गराउन बिरामीलाई सुझाउँछन् ।

धेरै कोरोनाभाइरस सङ्क्रमित देखिएका सहरहरूमा शवदाहगृहहरू दिनरात सञ्चालन भइरहेका छन् ।

मृत्यु भएका मानिसको दाहसंस्कार गर्न केही परिवारहरूले लामो समय कुर्नु पनि परेको छ ।

– बीबीसी रिपोर्टमा आधारित