इँटा उद्योगले जथाभावी जमिन खनेर माटो प्रयोग गरिरहे पनि सम्बन्धित स्थानीय तह मौन देखिएको छ । झापाको दक्षिणी क्षेत्र कचनकवल गाउँपालिकाभित्र र पालिकाबाहिर सञ्चालित इँटा उद्योगीहरुले लापारबाहीपूर्ण तरिकाले जमिन खनेर माटो लैजान थाले पनि स्थानीय तह चुपचाप छन् ।  

कचनकवल गाउँपालिका अध्यक्ष अन्जरा आलमको समेत इँटा उद्योग सञ्चालनमा रहेकोले उनी मौन देखिंदा यस्तो समस्या आएको हो । इँटा उद्योगीहरुले खेतीयोग्य जमिन खरिद गरेर जमिनसहित खोला मास्दा समेत स्थानीय तहले कुनै कारबाही   गरेको छैन । कचनकवल गाउँपालिका ६ स्थित चण्डी इँटा उद्योगले खेतीयोग्य जमिन खरिद गर्दै जथाभावी माटो खन्दै गरेको घटना बाहिरिएसँगै गाउँपालिकाभित्र सञ्चालित इँटा उद्योगहरुको  स्थलगत रिपोर्टिङ गर्दा यस्तो देखिएको हो ।

उद्योगीहरुले दिनहुँ लापारबाहीपूर्ण तरिकाले जेसिभी प्रयोग गरी जमिन खनेर टिपरमा हालेर माटो लैजाँदा समेत स्थानीय जनप्रतिनिधि रमिते बनेको स्थानीय किसानले आरोप लगाएका छन् । 

कचनकवल वडा नम्बर ५, ६ र ७ मा ६ वटा चिम्नीबाट पाँच वटा इँटा उद्योग सञ्चालित छन् । नुरु आलमको ज्योति इँटा उद्योग, अजिम आलम र सैफुदिन हकको एसबिआइ इँटा उद्योग, नुरु आलमकै प्रेम इँटा उद्योग, विष्णु घिमिरेको चण्डी इँटा उद्योग र रहिम आलमको स्टार इँटा उद्योग सञ्चालनमा छन् ।

गाउँपालिकामा सञ्चालित इँटा उद्योगले कहाँबाट कसरी माटो खनिरहेको छ यसको कुनै लेखाजोखा नरहेको स्थानीय कनक राजवंशीले बताए । गाउँपालिकाले रोकथाम गर्नुपर्ने उनको भनाइ छ । किसानको कुरा जनप्रतिनिधिले नसुन्दा  माटो दोहन नरोकिएको उनले बताए । 

खोलासँगै रहेको सरकारको ऐलानी जमिन समेत इँटा उद्योगीले नछाडेको किसानहरुले बताएका छन् । वडा नम्बर ६ र ७ को सीमा पर्ने वडझोडा पैनी अहिले खोलामा परिणत भएको छ । पैनी नजिकै सञ्चालित चण्डी इँटा उद्योगले स्थानीय किसान भक्तबहादुर कटवालको निजी जमिन र पैनीको माटो निकालेर निजी जमिन पुर्दै उद्योगमा समेत प्रयोग गरिरहेका छन् । 

चण्डी उद्योगले कटवालबाट जमिन खरिद गरेका थिए । उद्योगले शक्तिको दुरुपयोग गरेर नियमविपरीत जमिन र खोला खनिरहेको कटवालको भनाइ छ । 

खोला मिलाउँदै ‘जेसीबी’

जथाभावी खेतीयोग्य जमिन खन्दा सय मन हुने धान अहिले २५ मन पनि उत्पादन नभएको किसान भक्तबहादुर  कट्वालले गुनासो पोखे । उद्योगी विष्णु घिमिरेले खोला नियमविपरीत खनेपछि त्यहाँका किसानले गाउँपालिकामा मौखिक जानकारी समेत गराएका थिए ।

किसानले जानकारी गराएपछि गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीसहितको टोली घटनास्थल पुगेर खोलाको अवलोकन गरेका थिए । अवलोकनको क्रममा खोला मासेको पाइएपछि त्यसलाई ढाकछोप गर्न उद्योगी घिमिरेले अहिले जेसिबी प्रयोग गरेर धमाधम खोला मिलाउने काममा गरिरहेको रिपोर्टिङको क्रममा भेटिएको थियोे । 

खोला नजिकै यसअघि उद्योगी आफ्नो निजी जमिन खनेर पोखरी नै बनाइसकेको छ । त्यसलाई उनले त्यत्तिकै छाडिएको देखिन्छ । सरकारी पैनीबाट माटो काटेको विषयमा तत्काल इँटा उद्योगी घिमिरेलाई बोलाएर सचेत गराइएको उपाध्यक्ष राजवंशीले बताइन् । 

वडा नम्बर ७ स्थित गाउँपालिकाको भवन निर्माण स्थल नजिकैबाट बग्ने वडझोडा खोला समेत इँटा उद्योगीहरुले मासेका छन् । बर्खा बेला डुबान हुने त्यस खोला आसपासका क्षेत्रको माटो ज्योति इँटा उद्योगले अवैध रुपमा उत्खन्न गरेको स्थानीयले आरोप लगाएका छन् । 

उद्योगले खोला नजिकै जथाभावी जेसिभी प्रयोग गरेर उत्खनन् गर्दा खोलाको स्वरुप नै परिवर्तन भएको छ । माटो खनेको विषयमा पालिका अध्यक्ष आलमलाई टेलिफोनमार्फत् जानकारी गराउँदा कुनै  प्रतिक्रिया दिएनन् । उनलाई पुनः सम्पर्क गर्दा फोन उठाएनन् । 

इँटा उद्योगको दादागिरीका कारण केही गर्न नसकिएको वडा नम्बर ७ का वडा अध्यक्ष भरतकुमार राजवंशी बताउँछन् । गाउँपालिकामा पटक–पटक जानकारी गराउँदा पनि त्यहाँबाटै असहयोग भएको राजवंशी बताउँछन् । यसको फाइदा उठाउँदै उद्योगीले जथाभावी माटो दोहन गरिरहेको उनले बताए ।


माछा पोखरीका नाममा अवैध उत्खनन्  

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले गत आर्थिक वर्ष २०७६–७७ देखि कचनकवल गाउँपालिकामा प्रधानमन्त्री आधुनिकीकरण परियोजना, मत्स्य उत्पादन बल्क कार्यक्रम सुरु गरेको छ । 

प्रदेश १ सरकार अन्तर्गत रहेको केन्द्रले गत आर्थिक वर्षमा मत्स्य उत्पादन ब्लक कार्यक्रमका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । तर, कोरोना भाइरस सङ्क्रमणका कारण ३० लाख बजेट मात्र खर्च भएको केन्द्रकी नायब प्राविधिक सहयाक (चौथो) केदारकुमारी अधिकारी (कल्पना) जानकारी दिइन् ।

ब्लक कार्यक्रममा त्यहाँका १३ जना किसानले केन्द्रबाट अनुदान लिएको उनले बताइन् । त्यसबाहेक निजी लगानीमा माछा पोखरी खनेर मत्स्य पालन गर्नेको विवरण केन्द्रमा नभएको उनको भनाइ छ ।

मत्स्य उत्पादन ब्लकमा सहभागी हुने किसानले पोखरी खन्दा १ मिटरदेखि साढे दुई मिटर (३ फिटदेखि ८ फिट सम्म)  खन्नुपर्छ । तर, गाउँपालिकामा माछा पोखरीको नाम खनिएका जमिन ८ फिटभन्दा मुनि (गहराई) सम्म खनिएको पाइएको छ । त्यहाँबाट निस्किएको सबै माटो इँटा उद्योगीलाई बेच्न गरेको पाइएको छ । पोखरी खनिएका स्थान डुबान क्षेत्र पनि पर्छ । तर, त्यसको रोकथाममा गाउँपालिकाले कुनै मापदण्ड अपनाएको छैन । माटो कारोबारीले उद्योगीलाई टिपरको १८ देखि २५ सयसम्ममा बिक्री गर्ने गरेको स्थानीय बताउँछन् ।

 जथाभावी खेती योग्य जमिन र खोला दोहन गरेर माटो उत्खन्न गर्दै आएपनि त्यसलाई रोक्न गाउँपालिकाले कुनै कार्यविधि बनाएको छै्रन । निजी जमिनको माटो उत्खनन् तथा ओसारपोसार सम्बन्धी कार्यविधि स्थानीय तहले नै बनाउनु पर्ने हो ।

माटोको सहज आपूर्ति गर्ने, सतह नमिलेको खेतीयोग्य जमिनको सतह मिलाउने, माछा पोखरी निर्माण गर्दा बढी भएको माटो बिक्री वितरण गर्ने लगायतका कार्यहहरुलाई व्यवस्थित र नियमित गर्नका लागि कार्यविधि तयार पारी कार्यान्वय गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४, १ नम्बर प्रदेश सरकार नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार उत्खन्न र ओसारपोसार कार्यविधि बनाउनु पर्ने हो ।

तर, त्यस्तो कुनै कार्यविधि गाउँपालिकामा नहुँदा इँटा उद्योगीले मनपरी माटो उत्खन्न गरी प्रयोग गर्नुका साथै माटो कारोबारीले पनि गाउँपालिकालाई कुनै राजश्व नतिरेर त्यहाँको माटो अन्य पालिकाहरुमा बेचिरहेका छन् । 

गाउँपालिकाकी उपाध्यक्ष राजवंशीले उत्खनन् कार्यविधि पालिकाले नबनाएको बताइन् । उत्खन्न कार्यविधि गाउँपालिकाले बनाउनु भन्दा घरेलु तथा साना उद्योग कार्यालयले हेर्ने उनको भनाइ छ । 

किसानको विरोध, निवेदनको सुनुवाई भएन 

चण्डी इँटा उद्योगीले जथाभाबी खेतीयोग्य जमिन खन्न थालेपछि त्यहाँका किसान विरोधमा उत्रिएका छन् । किसानहरूले न्यायका लागि कचनकवल गाउँपालिकालाई लिखित निवेदन दिएका छन् । 

किसान कार्तिक राजवंशी, भर्दिया राजवंशी, यादवप्रसाद दाहाल, अमृतलाल राजवंशीले चैत ४ गते गाउँपालिकाको न्यायिक समितिलाई न्याय दिलाऊ पाउँ भनी निवेदन दिएका हुन् । तर, गाउँपालिकामा दिएको निवेदनको हालसम्म सुनवाई नभएको उनीहरु बताउँछन् ।

न्यायकि समिति संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले त्यस विषयमा छलफल गरी टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम समक्ष घटना पुगेको हो । तर, अध्यक्ष आलमले त्यस विषयमा खासै चासो देखाएका छैनन् ।

कार्यपालिका बैठकमा यस विषयमा छलफल गर्ने भनी किसानलाई आश्वासन दिँदै आइरहेको निवदेनकर्ता भर्दिया राजवंशीले बताए । किसानले बुझाएको निवेदन पत्रमा गाउँपालिका ६ बस्ने किसानहरूको जमिनको  सिमानामा चण्डी इँटा उद्योगले मनपरी ढङ्गले खेतको माटो खनी मापदण्ड विपरीत लैजाने र मलिलो जमिनलाई रुखो बनाउने कार्य गरेका उद्योगलाई कारबाही गरियोस् भन्ने उल्लेख छ । 

उद्योगी घिमिरेले नियमविपरीत काम नगरेको बताउँछन् । लगानी गरेर व्यवसाय गर्दा केही मानिसलाई चित्त दुखेको उनले  बताए ।