भण्टाबारी / सुनसरी भन्सार कार्यालयको तथ्याङ्कमा आयात पौने दुई अर्बको हुँदा निर्यात शून्य रहेको देखाएको छ । 

चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ७३ करोड ६७ लाख ३ हजार रुपैयाँको आयात भएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजको तथ्याङ्क छ ।

तर, निर्यात भने शून्य छ । भन्सार कार्यालयका अनुसार खाद्यान्न सबैभन्दा बढी आयात भएको छ । त्यसमा पनि आलु, प्याज, चामल, मकैको आयात बढेको हो ।

आर्थिक वर्ष २०७६/०७७ सालमा ९ करोड २७ लाख ४० हजार मूल्य बराबरको चामल आयात भएकोमा चालु आर्थिक वर्षको आठ महिनामा मात्रै १५ करोड ३० लाख ३५ हजार बराबरको चामल आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ९४ दशमलव ४० प्रतिशत बढी हो ।

यसैगरी अघिल्लो आर्थिक वर्षमा १९ करोड २८ लाख ४८ हजार बराबरको प्याज आयात भएकोमा चालु आर्थिक वर्षको हालसम्म १८ करोड ८० लाख ७३ हजार बराबरको प्याज आयात भएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा प्याजको आयात ३७ दशमलव ६५ प्रतिशतले बढी हो । त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ सालमा ८५ करोड २० लाख ५३ हजार बराबरको आलु आयात भएकोमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ६७ करोड ९७ लाख ८ हजार बराबरको आलु आयात भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११ दशमलव ७३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा ३५ करोड २३ लाख ७० हजार बराबरको मकै आयात भएकोमा चालु आर्थिक वर्षको हालसम्म ३७ करोड ८२ लाख ६३ हजार बराबरको मकै आयात भएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७ दशमलव ८२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षको आठमहिनाको अवधिमा आलु, प्याज,चामल र मकैको आयात बढेपनि जिउँदो माछा, गहुँ, चामलको भुसा र फलफूलको आयातमा कमी आएको सुनसरी भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षमा ११ करोड ६७ लाख २ हजार बराबरको जिउँदो माछा सुनसरी हुँदै आयात भएकोमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १२ लाख २ हजार रुपैयाँ बराबरको जिउँदो माछामात्रै आयात भएको देखिन्छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९८ दशमलव ५६ प्रतिशतले कम हो ।

त्यसैगरी अघिल्लो आर्थिक वर्षमा ७ करोड ३२ लाख १० हजारबराबरको फलफूल आयात भएकोमा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ६१ लाख ४४ हजार बराबरको फलफूल भित्रीएको छ ।

जुन अघिल्लो वर्षको तुलनामा ८३ दशमलव ८७ प्रतिशत कम हो । यस्तै अघिल्लो आर्थिक वर्षमा ३४ करोड ३६ लाख ६९ हजार बराबरको भुस आयात भएकोमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ४९ लाख ५७ हजार बराबरको मात्रै आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९८ दशमलव ५६ प्रतिशतले कम हो ।

त्यसैगरी अघिल्लो आर्थिक वर्षमा ४४ करोड ११ लाख ८१ हजारबराबरको गहुँ आयात भएकोमा चालु आर्थिक वर्षको हालसम्म ३२ करोड ५३ लाख ८२ हजारबराबरको गहुँ सुनसरी भन्सार कार्यालयबाट आयात भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ दशमलव ८७ प्रतिशतले कम हो । अघिल्लो वर्ष करोडौं बराबरको कोइला र लावा आयात भए पनि यसपटक भने आयात भएको छैन ।

३१ करोड ६३ लाख राजस्व असुली

सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले चालु आर्थिक वर्षमा ४९ करोड ६२ लाख २१ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकोमा आठ महिनाको अवधिमा ३१ करोड ६३ लाख ९१ हजार राजस्व असुली गरेको छ ।

चालु आर्थिक वर्षको फागुन महिनासम्म ३४ करोड ३१ लाख ९ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकोमा फागुन १६ गतेसम्म ३१ करोड ६३ लाख ९१ हजार राजस्व असुली गरिएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।

सुनसरी भन्सार कार्यालयले लिएको लक्ष्यको फागुन १६ गतेसम्म ९२ दशमलव २१ प्रतिशत राजस्व असुली भएको देखिन्छ । 

सुनसरी भन्सार कार्यालयबाट आयात बढे पनि निर्यात भने शून्य रहेकोे तथ्याङ्कले देखाएको छ । सुनसरी भन्सार कार्यालयबाट भारततर्फ कुनै पनि निकासी नभएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजका प्रमुख भन्सार अधिकृत अर्जुन न्यौपानेले जानकारी दिए ।

उत्पादनमा कमी आउनु, व्यावसायिक उत्पादन नहुनुजस्ता कारणले निर्यातभन्दा आयात बढेको उनको भनाइ छ । कृषिजन्य उत्पादनमा कमी आउँदा कुनै बेला नेपालबाट भारत निर्यात हुने चामल र गहुँ अहिले भारतबाट करोडौंको चामल र गहुँ आयात हुने गरेको छ ।