इटहरी। सुनसरी र उदयपुर जोड्ने सप्तकोशीको वैकल्पिक पुल पर्यटकीय स्थल बन्न थालेको छ । चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएसँगै यो क्षेत्र एउटा आकर्षक पर्यटकीय स्थल बनेको छ । यहाँ दैनिक सयौंको सङ्ख्यामा पर्यकटहरू आउने गरेका छन् । 

यतिबेला पुल आसपासमा सेल्फी खिच्ने र जेटबोट चढ्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो । त्यहाँ आन्तरिक पर्यटकको चहल–पहल बढेपछि होटल व्यवसायसमेत फस्टाउन थालेको छ । पुल आसपासको क्षेत्रमा अहिले धरान र इटहरी क्षेत्रबाट धेरैजसो पर्यटकहरू पुग्ने गरेका छन् । पुलमुनिबाट केही वर्षदेखि जेटबोट पनि सञ्चालन भएको छ । यो बोट वराहक्षेत्र, सिम्लेसम्म पुग्ने गरेको छ । उदयपुर, सप्तरी, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, सप्तरीबाट जेटबोट चढ्न र वनभोज खान आउने गरेको स्थानीय होटल व्यवसायी नन्द राई बताउँछन् । अहिले यस क्षेत्रमा पर्यटकहरू आउने क्रम बढ्दै गएको उनी बताउँछन् । 

इटहरीबाट पारिवारिक वनभोजमा गएकी तरहराकी सविता राईले कोशी क्षेत्र पर्यटकहरूको लागि उत्तम गन्तव्य भएको बताइन् । ‘सिम्लेसम्मको जेटबोट यात्रा अविस्मरणीय भयो’–उनले भनिन् । पहिलो पटक जेटबोट चढ्दा आफू दङ्ग भएको उनले बताइन् । ‘वरिपरि डाँडाकाँडा हेर्दे पानीमाथि हिँड्नुको मज्जा नै बेग्लै थियो’ –उनले अनुभव सुनाइन् ।

आन्तरिक पर्यटक वनभोज खान आउने गरेका छन् । बगरमा वनभोज खानेहरूको सङ्ख्यासमेत बढेको छ, जेटबोट पनि त्यही किनाराबाट लाग्ने भएकाले ती स्थानमा वनभोज खानेहरू बढेका हुन् । तर, स्थानीय सरकारले उचित व्यवस्थापन गर्न नसक्दा वनभोज खानेहरूले केही दुःख व्यहोर्नु परिरहेको छ । वनभोज खान जानेहरूलाई विद्युत् र खानेपानीको भने समस्या हुने गरेको छ । 

यसमा स्थानीय सरकारले ध्यान दिए वनभोजको उत्तम स्थल हुने उनी बताउँछन् । चतरा नै पुगेका इटहरी–१९ का मदनकुमार बनले पर्यटकहरूको लागि उचित गन्तव्य भए पनि सरकारी लगानी कम भएको बताउँछन् । ‘यो क्षेत्रमा सरकारी लगानी बढाउनुप¥यो’ उनले भने, ‘सरकारले यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्छ ।’

वनभोजमा आउनेका लागि जेटबोट आकर्षणको केन्द्र बनेको छ । वराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको वराहक्षेत्र–१ चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालन गर्दै आएको छ । चतरादेखि सिम्लेसम्म १५ किलोमिटर जेटबोट सञ्चालनमा आएको सञ्चालक विमलमान श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘अहिले शनिबार आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । अरूबेला पनि अहिले पर्यटकको चहल–पहल बढेको छ’ –श्रेष्ठले भने । 

वराहक्षेत्र मन्दिर दर्शन

आन्तरिक पर्यटकलाई वराहक्षेत्र दर्शनको अवसर पनि सहजै छ । नेपालका चार ठूला धाममध्येको वराह धामको दर्शन गर्ने अवसर पाउनेछन् । कोशी पुलबाट उत्तर करिब दुई किमी जेटबोटबाट पाँच मिनेटमा पुग्न सकिन्छ । सडक मार्गबाट चार किमी बाटो १५ मिनेटमा पुग्न सकिन्छ ।

त्यहाँ वराह भगवानको दर्शन गरेर नजिकको क्षेत्र घुमघाम गरेर फर्कन सकिन्छ । नेपालमा रहेका प्रसिद्ध चार धाम सप्तकोशी किनारमा रहेको वराह क्षेत्रधाम, बागमती नदी किनारमा रहेको पशुपति क्षेत्र, कालीगण्डकीको शिर मुक्ति क्षेत्रधाम र कालीगण्डकी किनारको ऋषिकेश क्षेत्र धाम धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण मानिदै आएका छन् । 

धार्मिक पर्यटन र जलस्रोतको अपार सम्भाव्यता भएको यो क्षेत्र साहसिक र मनोरञ्जनात्मक खेल प्रवद्र्धनका दृष्टिले पनि महत्वपूर्ण छ । वराह क्षेत्रलगायत कुम्भ नगरी प्राचीन हरिद्वार, औलिया मठ, रामधुनी, छिन्नमस्तालगायत धार्मिक तीर्थ, सुनसरी–मोरङ सिंचाइ आयोजना, चतरा हाइड्रोपावर, पूर्व–पश्चिम वैकल्पिक लोकमार्गका कारण पनि यो क्षेत्र आकर्षक बन्दै गएको छ ।

chatara-photopul