विजयपुर। लागूऔषध प्रयोगकर्ताहरूले ‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बनाउने गरेको सुनिँदै आए पनि औषधि पसलका सञ्चालक पक्राउ पर्नुले यसबारे पुष्टि हुन थालेको छ । 

पुस १३ गते धरान–१५ सदन रोडबाट मुसरत मेडिकल हलका सञ्चालक सौजात आलम प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा पक्राउ परेका थिए । असार २५ गते प्रतिबन्धित औषधिको अनुचित प्रयोग र बिक्री गरेको आरोपमा धरान–७ स्थित सुमन मेडिकलका सञ्चालक विनयकुमार गुरुङसहित प्रयोगकर्ता पनि पक्राउ परेका थिए । 

उनीहरूलाई विशेष सूचनाको आधारमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेको थियो । यसबाटै पछिल्लो समय लागूऔषध प्रयोगकर्ताले ‘फर्मुला’ प्रयोग गर्ने गरेको पुष्टि हुन थालेको हो । विभिन्न रोगसँग सम्बन्धित औषधि तथा मनोद्दिपक औषधिको मात्रा मिलाएर लागूऔषध बनाउने गरेको पूर्वलागूऔषध प्रयोगकर्ताको भनाइ छ । ‘सहजै पाउने र सस्तो पनि पर्ने भएकाले फर्मुला उपयुक्त विकल्प बनिरहेको छ’ उनले भने, ‘यसको नियन्त्रण आवश्यक छ, नत्र भोलिका दिनमा थप जोखिम बढ्ने सम्भावना हुन्छ ।’ 

पूर्वलागूऔषध प्रयोगकर्ताका अनुसार नाइट्रोजन, न्याइट्रोब्याट, कोनाज, नर्फिन, डाइजियम, स्पास्मो, डिकोलिक, ओपिडोल, कफट्याब्डी, एविल, पेगास्टार, फेनारगन, एन्टिकफ, ट्रामाडोल तापेन आदि औषधिलाई फर्मुलाबाट लागूऔषध बनाउने गरेका छन् । उनीहरूका अनुसार ३ वटासम्म औषधि मिलाएपछि लागूऔषधको रूपमा काम गर्छ । पूर्व लागूऔषध प्रयोगकर्ताहरूका अनुसार कडा खालका लागूऔषधको किनबेच पनि उस्तै गरी मौलाएको छ ।

उनीहरूका अनुसार मेडिकलमा संलग्न व्यक्तिहरूले नै यसबारे सूचना चुहाउने गरेका कारण फर्मुलाको प्रयोग बढेको छ । एक पूर्वलागूऔषध प्रयोगकर्ताले भने, ‘फोनमार्फत् भनेपछि मेडिकलवालाले मिलाइदिन्थे ।’ उनले थपे, ‘हामी गएपछि भनिराख्नु पर्दैन, पैसा दियो, लिएर हिँड्यो, दैनिक ७ सयभन्दा बढी फर्मुलाका औषधि खाइन्थ्यो ।’ 

लागूऔषध प्रयोगकर्ताहरूलाई सुधार गर्नका लागि सुधार केन्द्र सञ्चालन गरेका सम्पूर्ण ताम्राकार भन्छन्, ‘लामो समयसम्म लागूऔषध प्रयोग गरेर सुधार केन्द्रमा आउनेहरूले सुधार भएपछि कहाँ कुन स्थानबाट ल्याउने गरेका थिए भन्ने जानकारी दिन्छन् । उनीहरूले भनेपछि धरानका केही मेडिकलहरूलाई सम्झायौं । दुई–चारवटाले कारोबार बन्द गरे ।

तर, अझै पनि केही मेडिकलले भने लागूऔषध तथा फर्मुला बेच्न छोडेका छैनन् ।’ उनले थपे, ‘प्रहरी लागूऔषध प्रयोगकर्तालाई निरुत्साहित गर्न लागेको छ, जानकारहरूसँग भने समन्वय गर्दैनन् ।’ उनले प्रहरीले सुधारकेन्द्रहरूसँग समन्वय गरे प्रयोगकर्ताहरूबाट धेरै कुरा जानकारी हुने र प्रहरीलाई लागूऔषध नियन्त्रण गर्नमा सहयोग पुग्ने बताए ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कले सबैभन्दा बढी लागूऔषध प्रयोगकर्ता मोरङ, झापा, सुनसरी र उदयपुरमा रहेको देखाउँछ । ६ महिनामा मोरङ जिल्लाबाट १ सय ३१ जना पुरुष र १० जना महिला पक्राउ परेका छन् ।

झापा जिल्लाबाट १ सय १४ जना पुरुष र ६ जना महिला पक्राउ परेका छन् । सुनसरीबाट १ सय २ जना पुरुष र १ महिला पक्राउ परेका छन् । उदयपुरबाट ५२ जना पुरुष र २ जना महिला पक्राउ परेका छन् । त्यसपछि क्रमशः इलामबाट १५ पुरुष, पाँचथर ३ पुरुष, ताप्लेजुङ २ पुरुष, धनकुटा २ पुरुष र खोटाङबाट २ पुरुष पक्राउ परेका छन् । अन्य ६ जिल्लामा भने ६ महिनासम्म लागूऔषध प्रयोगकर्ता फेला परेका छैनन् ।