विजयपुर । ‘खटङ्सेट’ शब्द कमैले सुनेका र बुझेका हुन सक्छन् । बौद्ध धर्मावलम्बीहरूले प्रार्थना गर्ने गुम्बामा प्रयोग हुने अध्यात्मिक सामग्रीहरूको संयुक्त सम्बोधन हो ‘खटङ्सेट’ । गुम्बामा सजिने ती सामग्रीहरू दोर्जे, फुर्वा, कात्तिका, खुम्बा, छुरी, बञ्चरोलगायत हुन् । 

बौद्ध धर्मावलम्बीहरूले सबैभन्दा बढी प्रयोग गर्ने ती खटङ्सेट धरान–१७ सरस्वती चोकका उत्तम र भूपाल रामदाम दाजुभाइले निर्माण, उत्पादन र बिक्री वितरण गर्दै वार्षिक ७ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन् ।

अढाई दशकयता दुई दाजुभाइको दैनिकी बौद्ध धर्मावलम्बीहरूको गुम्बा सजावटका सामग्री खटङ्सेट बनाउनमै बितिरहेको छ । बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म कारखानामै व्यस्त हुने रामदाम दाजुभाइले खटङ्सेटका साथै गुम्बामा मन्त्रोच्चारण गर्दै बजाउने ‘ज्ञालिङ’ बाजा पनि बनाउने गरेका छन् । उनीहरूले फलाम, तामा, पित्तल प्रयोग गरेर ती सामग्रीहरू बनाउने गरेका छन् ।

तुलसी सप्लायर्स फर्म दर्ता गरेर सजावट र बजाउने सामग्रीहरू उत्पादन तथा बिक्री वितरण गर्दै आएका रामदाम दाजुभाइले अतिरिक्त ३ जनालाई पनि रोजगार दिएका छन् । उत्तम भन्छन्, ‘फलाम, पित्तलको काममा अलिक मेहनत गर्नुपर्छ । त्यसैले काम गर्ने दक्ष जनशक्ति त पाइँदैन । सिक्ने मान्छे पनि कमै रहेका छन् ।’ उनी काम सिक्ने राम्रो मान्छे पाए सिकाउने बताउँछन् । काम सिक्न करिब ६ महिनादेखि ३ वर्षसम्म लागेको अनुभव सुनाउँछन् रामदाम दाजुभाइ । 

भूपाल भन्छन्, ‘लगनशील र मेहनती मान्छे पाए यहाँ सिकेको ६ महिनादेखि मासिक तलब दिन सक्छौँ । ६ महिनादेखि हात बस्छ । हात बसेपछि नयाँ डिजाइन आइरहन्छ । डिजाइनअनुसारको काम गर्न सक्छन् ।’ उनका अनुसार खटङ्सेट बनाउने मान्छे पाउन मुस्किल छ । हातमा सीप भएका लगनशील मेहनतीहरू पाए त्यस्ता २–४ जना श्रमिक आफै राख्ने उनले बताए । फलाम, पित्तल, तामाको काम गर्नुपर्ने भएकोले बढी नै मेहनत गर्नु परेपनि सन्तुष्ट नै रहेको बताउँछन् भाइ भूपाल । उनी भन्छन्, ‘यो पेशामा लगानी कम, मेहनत बढी र आम्दानी भने ठीकै रहेको छ ।’ 

उनीहरूले २०५१ सालमा काठमाडौँमा काम सिकेको बताएका छन् । रामदाम दाजुभाइ विदेश जानुभन्दा सीप सिकेर नेपालमा नै केही गर्नु राम्रो हुने बताउँछन् । खटङ्सेट बनाउने पेशामा भूपाल दैनिक सरदर हजार रुपैयाँ कमाउन सकिने बताउँछन् । उनीहरूको औसत कमाइ मासिक ३० हजार रुपैयाँमाथि पुग्ने गरेको छ । एउटा फलामको दोर्जे, फुर्वा, कात्तिका, खुम्बालगायतका सामग्री बनाउन ५–६ दिन लाग्छ ।

एउटा सामग्रीको कच्चा पदार्थलाई करिब २५ सय रुपैयाँ लाग्छ । ती सामग्रीहरूको मूल्य भने ८ हजार माथि रहेको छ । उनीहरूले सामग्रीको बनावट, साइज हेरेर फरक–फरक मूल्य लिने गरेका छन् । उनीहरूलाई जानकारी भएअनुसार ती सामग्री बनाउने जनशक्ति धरानमा उनीहरू मात्रै हुन् । उत्तम रामदाम भन्छन्, ‘पहिले बेलबारीमा बनाउने गरेको सुनेका थियाँै तर, अहिले त पूर्वमा गुम्बाका सामग्री बनाउने जनशक्ति कमै होलान् ।’

उनीहरू वैदेशिक रोजगारीमा गएर ४० हजार कमाउनुभन्दा यहीँ परिवारसँगै बसेर ३० हजार कमाउनु राम्रो रहेको बताउँछन् । हातमा सीप भए कहीँ गए पनि दुःख पाउनु नपर्ने बताउँछन् उनीहरू ।

उनीहरूलाई अहिलेसम्म कामको अभाव कहिल्यै भएको छैन । उत्पादन गरेका सामग्रीहरूले बजार पर्याप्त पाएको छ । उनीहरूले उत्पादन गरेका सामग्रीले अहिलेसम्म बजार नपाएको अनुभव छैन । तर, कोरोना भाइरसबाट बच्न सरकारले लगाएको लकडाउनपछि भने केही कम माग भएको बताउँछन् । भूपाल भन्छन्, ‘तर, उत्पादन गरेको सामग्री रोकिएको भने छैन । राम्रैसँग गइरहेको छ ।’

गुम्बा सजावटको सामग्रीको ठूलो बजार भने नेपालबाहिर नै रहेको उत्तम रामदामले बताए । तर, उनीहरूलाई आफूहरूले उत्पादन गरेको ती खटङ्सेट बिक्री गर्न सिधै विदेश निर्यात गर्ने प्रक्रिया भने थाहा छैन । उनीहरूले उत्पादन गरेको खटङ्सेटको बजार धरानबाहिर काठमाडौँ पनि हो । उनीहरूले उत्पादन गरेको सामग्री काठमाडौं पठाउने र त्यहाँका व्यापारीमार्फत् ती सामग्रीहरु विशेष गरेर चीन निर्यात हुने गरेको छ ।