धनकुटा । बुद्ध दर्शनको अध्ययन, अनुसन्धान, प्रचार–प्रसार एवम् प्रवर्द्धनद्वारा धार्मिक, अध्यात्मिक पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले धरान उप–महानगरपालिका–४ पर्यटकीय स्थल भेडेटार स्थित छोटी मोरंगमा नेपालकै सबै भन्दा अग्लो सहस्र बुद्धमुर्तिको स्थापना गर्ने कार्यको प्रारम्भ भएको छ । 

सूर्योदय बुद्ध विहारको सहस्र बुद्धमुर्ति आयोजना अन्तर्गत स्थापना भइ रहेको यस मुर्तिको उचाई १७५ फिट तथा परिधि १६० फिट रहने जानकारी विहार प्रमुख भिक्षु मेदंकर (भिक्षु मगर) ले दिएका छन् । भिक्षु मगरका अनुसार मुख्य बुद्ध मूर्तीको अलवा अन्य १० हजार साना बुद्ध मुर्तिहरूको स्थापना गरी निर्माण गरिने यो एक धार्मिक सम्पदाको आयोजना हो । आयोजनाको शिलान्यास थाई राजगुरु सोमदेज फ्रा महामुनीवंश, तत्कालीन सभामुख ओनसरी घर्ति मगर, बर्माका राजदुत यू लुईन ओ तथा हजारौं स्थानीय जनसहभागिताबाट २०७२ मा भएको थियो । यसको निर्माण कार्य बि.स.२०८७ साल सम्ममा सम्पन्न गरिने लक्ष्य रहेको वताइएको छ । 

आयोजनाको कुल १३.१७ हेक्टर क्षेत्रफल मध्ये सङ्घीय सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बौध्द दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, प्रदेश नं १ तथा धरान उपमहानगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ४ सय मि.लम्बाइको कम्पाउण्ड वाल (पर्खाल) लगाउने कार्य सम्पन्न भै सकेको छ । त्यसैगरी भिक्षुहरू बस्ने कुटी एवं दैनिक पुजापाठ र ध्यान वस्न (१०० जना) सम्मलाई हुने धम्महलको पनि यस अघि नै निर्माण भइसकेको छ ।

योजनाको गुरु योजना अनुसार भगवान बुद्धको विशाल मुर्तिसम्म पुग्न प्रवेशद्वारबाट करिब ७ सय सिंढीहरु रहने छन् । हरेक सिंढीहरुमा दुबै तर्फ महायान बौद्ध परम्परा अनुसारका करिब १५ सय प्रार्थना चक्र (माने) हरु स्थापना गरिने छ .।  बुद्ध मुर्ति रहने मुख्य भवनको पहिलो तल्लामा १० हजार साना बुद्ध मुर्तिहरुले सजाएर बिच भागमा बुद्ध जीवनी प्रदर्शनी स्थल रहने छ । सोही भवनको दोश्रो तल्लामा २ सय जनासम्म ध्यान गर्न मिल्ने ध्यान कक्ष निर्माण गरिनेछ भने तेस्रो तल्लामा भगवान बुद्धको अस्थिधातु सहितको कमलाशन रहनेछ । त्यस देखि माथी १ सय ५० (कमलाशन सहित) फिट उचाइ भएको अभय मुद्रामा बसिरहनु भएको भगवान बुद्धको मुर्ति रहनेछ । यो संसारको सबैभन्दा ठूलो बुद्ध मुर्तिहरु मध्ये एक हुनेछ । यस बुद्ध मुर्तिको परिसरबाट ३ सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिनेछ ।

आयोजना निर्देशक मणि राज गुरुङका अनुसार विश्वको कुल ग्राहस्त उत्पादन जिडिवी मा पर्यटन उधोगको योगदान १०.३ प्रतिसत रहने गरेको पाइन्छ । श्रीलंकाको बौध्द धार्मिक स्थलहरुको अध्ययन अनुसन्धानको लागि २०१८ मा २३ लाख पर्यटक भित्रिएको र कुल ग्राहस्थ उत्पादनमा १ सय २५ (नेपालको ७.९५) योगदान दिएको देखिन्छ । नेपालको २०२० मा २० लाख पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष्य कोभिड–१९ को महामारी लगायत विविध कारणले कार्यन्वयन हुन नसकेको परिप्रेक्ष्यमा विश्वको सबै भन्दा ठुलो आर्थिक क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्रको सृजना, विकास र विस्तारको लागि सहश्र बुद्ध मुर्ति आयोजना थाउजेण्ड विग वुद्ध आयोजना रहेको बताइएको छ ।  यो आयोजनाको माध्यमबाट आन्तरिक एवं बाह्य पर्यटकहरुको संख्या र बसाई अवधि अभिबृद्धि गर्न तथा धार्मिक एवं आध्यात्मिक पर्यटनको विकास र विस्तार गर्न महत्वपूर्ण भूमिका रहने निर्देशक गुरुङ्गले वताए ।  

विश्वका कतिपय देशहरुले पर्यटन गन्तव्य स्थलको पहिचान, विकास र विस्तार गरी उच्च आर्थिक विकास दर हासिल गरि रहेको सन्दर्भमा सगरमाथा र बुद्धको छुटै पहिचान बनाउन सकिने देश नेपालमा भगवान बुद्धसंग सम्बन्धित् पर्यटन स्थलहरुको पहिचान, विकास र बिस्तारमा काम गर्न नसक्नु भनेको सुनको थालीमा भिख माग्नु जस्तै भएको नयाँ वस्ती वौद्ध विहारका प्रमुख भिक्षु मेधंकर नारायण वहादुर आलेले वताए । बुद्ध र बुद्धका दर्शनमा आस्था र श्रद्धा हुने मात्र हैन, सम्पदा र संस्कार अध्ययन र अनुसन्धानको लागि अन्य जिज्ञासुहरुमा समेत भगवान बुद्धको जन्म भुमि नेपाल आउने ठुलो चाहना र प्रगाड इच्छा रहेको उनले वताए । देशको समग्र विकासमा पर्यटन उधोगको महत्वपूर्ण भूमिका रहेको हुनाले यस क्षेत्रको विकास र विस्तार गर्ने अभिप्रायले सहस्र बुद्ध मुर्ति आयोजनाको अवधारणा कार्यन्वयनमा ल्याइएको भिक्षु आलेले वताए ।

कुल १ अर्ब ३० करोड अनुमानित लागत रहेको आयोजनाको लागि इच्छुक श्रद्धावान शान्ति प्रेमी धर्म प्रेमी महानुभावहरुबाट, आफ्नो, आफन्तको, परिवारको, संस्थाको तर्फबाट प्रगति, सम्वृद्धि तथा दीर्घायुको कामना सहित इच्छा एवं क्षमता अनुसारको दान पुण्य अपिल गरिएको भिक्षु मेदंकरले वताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रि सरकारी र गैरसरकारी धार्मिक र सामाजिक संघ संस्थाहरुले पनि इच्छा अनुसार आयोजनालाई सहयोग गर्न सकिने वताइएको छ । 

राष्टिय गौरवको सम्पदाको रुपमा विकास हुने यस आयोजनाले नेपालको पुर्व क्षेत्रको मात्र नभई समग्र देशकै आर्थिक मुहार फेर्ने विश्वास लिइएको छ । आयोजनाको कार्य सम्पन्न पश्चात यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भइ धार्मिक तथा आध्यात्मिक पर्यटनको विकास भै देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिन सकिन्छ । वुद्ध जन्मेको देश नेपाल हो भनेर पनि बिग बुद्ध निर्माण भए पछि विश्व सामु नेपाललाई यो आयोजनाले चिनाउने साथै लोपोन्मुख पाली तथा संस्कृत भाषाको उत्थान र विकासमा यो आयोजनाले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।