अष्ट्रेलिया जान के गर्नुपर्छ ? कति समय लाग्छ ? परीक्षा प्रणाली कस्तो छ ? कुन विषय पढेका विद्यार्थी जान पाउँछन् ? कति समय लाग्छ ? खर्च कति लाग्छ ? काम पाइन्छ कि पाइँदैन ? भन्ने विषयमा आधारित रहेर १० वर्षसम्म अष्ट्रेलियामा बसेर अनुभव गरेका र हाल ‘नेपकम्स’ का  सञ्चालक वसन्त निरौलासँग खिलानाथ विश्वकर्माले गरेको कुराकानीको सार :

आराम हुनुहुन्छ? के मा व्यस्त हुनुहुन्छ?

– हजुर आराम छु । अहिले विद्यार्थीहरूलाई परामर्श दिने कार्यमा नै व्यस्त रहेको छु ।

किन जाने अष्ट्रेलिया ?  जाने प्रक्रिया कस्तो छ ?

– मुख्यतः अध्ययनको लागि नै जाने हो । आफ्नो भविष्य बनाउन र जीवनलाई सहजरूपमा जिउनका लागि आधार तय गर्न अष्ट्रेलिया जाने हो । अष्ट्रेलिया जाने धेरैजसो विद्यार्थी भिसामा जाने हो । केही डिपेण्डेण्ट भिसामा पनि जाने गर्छन् । डिपेण्डेण्ट भिसा भनेको आफ्नो जोडीसँग जाने हो । विद्यार्थी भिसामा जानका लागि प्रमुख कुरा त भाषा परीक्षा नै उत्तीर्ण गर्नुपर्छ । जोडीसँग जानका लागि भाषा परीक्षा दिइरहनु पर्दैन । दिएर गए राम्रो हो ।

परीक्षा प्रणाली कस्तो छ ? उत्तीर्ण गर्न कति अङ्क ल्याउनुपर्छ ?

– परीक्षा भनेको अङ्ग्रेजीभाषा परीक्षण हो । यो परीक्षा अन्तर्राष्ट्रिय बोर्ड ब्रिटिस काउन्सिलले लिने हो । अङ्ग्रेजी भाषामा लिखित, मौखिक, बोलाइ र सुनाइको परीक्षण हुन्छ । सबैमा नम्बर शून्य देखि ९ हुन्छ । जसमा विश्वविद्यालयको मागअनुसार ६ नम्बरसम्म ल्याउने पनि जान पाउँछन् तर, धेरै विश्वविद्यालयले ७ नम्बर ल्याएको मााग्छ ।

विद्यार्थीको भिसामा  गएपछि अध्ययन गर्नुपर्यो ? विद्यार्थीले आर्थिक पाटो कसरी व्यवस्थापन गर्ने ? अध्ययन नगरी काम गर्न पनि मिल्छ ?

– ठीकै भन्नुभयो, विद्यार्थी पढ्नकै लागि जाने हो । आर्थिक व्यवस्थापनका लागि भनेर नै वैधानिक रूपमा नै हप्ताको २४ घण्टा काम गर्न दिन्छ । २४ घण्टाभन्दा धेरै पनि गर्न सकिन्छ । तर, त्यो अवैधानिक हुन्छ । त्यस्तै गरिरहनु पर्दैन । २४ घण्टा काम गरेकोले व्यवस्थापन गर्न सकिन्छ । अध्ययन नगरी काम मात्र गर्छुभन्दा पनि हुन्छ तर, भिसा रद्द हुने सम्भावना धेरै नै रहन्छ । त्यसले गर्दा अध्ययन गर्नैपर्छ । पढिसकेपछि राम्रो काम पाइन्छ ।

कुन विषय पढेको विद्यार्थी जान पाउँछन् ? कस्तो कोर्ष अध्ययन गर्नुपर्छ ?

–जुनसुकै विषय पढेको विद्यार्थी पनि जान पाउँछन् । तर, अष्ट्रेलियनहरूले मेडिकल क्षेत्रमा काम नगर्ने हुनाले नर्सिङ पढ्ने विद्यार्थीहरूले प्राथमिकता पाउने गर्छन् । जुन क्षेत्रमा काम गर्ने जनशक्ति अभाव भएकोले लाने प्राथमिकता दिइन्छ । डिप्लोमा र ब्याचलर पढ्नुपर्छ । त्यो विद्यार्थीको इच्छाअनुसार हुन्छ । नेपालको पढाइभन्दा विस्तृत हुने सोचेर डिप्लोमा पढ्ने गर्छन् ।

अष्ट्रेलिया जाने प्रक्रियामा कति समय लाग्छ ?

– ३ वटा समयमा जानको लागि प्रक्रिया अगाडि बढाउन सकिन्छ । पहिलो मार्च, जुन–जुलाई र नोभेम्बरमा भिसाको लागि प्रक्रिया अगाडि बढाउन सकिन्छ । त्योभन्दा कति समय राखेर प्रक्रिया सुरु गरेको हुन्छ । कति समय लाग्छ भन्ने कुरा त्यसमा भर पर्दछ ।

अध्ययन गरिसकेपछि कति कमाइ गर्न सकिन्छ ? हप्ताको कमाइ हुन्छ ?

–अध्ययन गरिसकेपछि सामान्यतः हप्तामा १ लाख कमाउन सक्छन् । नर्सहरूको पनि त्यति नै हो । अन्य काम गर्नेको स्थिर हुँदैन । नर्सले चाहिँ हप्तामा १ लाख कमाउन सक्छन् । खर्च कमाइको ३० प्रतिशतले व्यवस्थापन हुन्छ । 

अपेक्षाकृत काम पाइँदैन भन्छन् नि ?

–काम पाइँदैन भन्ने कुरा सुनिन्छ । त्यो व्यक्तिगत कारणले गर्दा हो । जब दक्ष जनशक्ति हुन्छ । काम पाइँदैन भन्ने कुरा हुँदैन ।

विशेषगरेर नेपाली महिला कामदार अनैतिक क्रियाकलापमा लाग्छन् भन्ने सुनिन्छ नि ?

–नेपालमा अनैतिक काम भनिन्छ । पश्चिमा राष्ट्रमा अनैतिक मानिदैन । राज्यलाई कर तिरेर काम गरेको हुन्छ । तर, त्यस्तो कमै होला । अनैतिक काम इच्छाले गर्न सकियो, बाध्यताले होइन । अन्य काम नै पाइहालिन्छ । अनैतिक काम गर्नैपर्छ भन्ने छैन ।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?

–अष्ट्रेलियालगायत अन्तराष्ट्रमा पढ्न जाने विद्यार्थीहरूलाई यो कन्सल्टटेन्सीमा भिसा लाग्छ वा लाग्दैन भन्दा पनि एजेण्ट राम्रो छनौट गर्न, कोर्ष पनि राम्रो छनौट गर्न र व्यक्तित्व विकास गरेर जान आग्रह गर्न चाहन्छु ।