विराटनगर/ ६१ वर्षभन्दा बढी उमेर समूहका कोरोना सङ्क्रमितको मृत्युदर प्रदेश १ मा धेरै रहेको पाइएको छ ।

प्रदेश १ मा मृत्यु भएको तथ्याङ्क केलाउँदा २८ दशमलव ६२ प्रतिशत ६१ वर्षमाथिको रहेको पाइएको छ । सोमबारसम्म प्रदेश १ मा २ सय ६३ जनाको कोरोनाबाट मृत्यु भएको देखिन्छ । मृत्यु हुने अधिकांश दीर्घरोगी छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेश १ मा कोरोनाबाट मृत्यु भएकामध्ये ६१ वर्षभन्दा माथिका बढी रहेका छन् । २ सय ६३ जनाको मृत्यु भएकामध्ये ६१ देखि ७० वर्ष उमेरका ७५ जनाको कोरोनाबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोनाबाट ७१ वर्षदेखि माथि उमेरका २३.६६ प्रतिशतको मृत्यु भएको छ । सो उमेर समूहका ६२ जनाको मृत्यु भएको छ । आखिर ६१ वर्षभन्दा माथिका कोरोना सङ्क्रमितको बढी मृत्यु हुनुको कारण के हो ? विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रका को–अर्डिनेटर डा. डेनप्रसाद आचार्यले दीर्घरोग भएका भएका सङ्क्रमितमा बढी असर हुने गरेको बताए । उनले मधुमेह, दम र मोटोपना भएका कोरोना सङ्क्रमित व्यक्तिहरूलाई बढी जोखिममा परेको बताए । ‘मधुमेह, दम भएका वृद्धवृद्धालाई कोरोनाले बढी चापेको छ’ उनले भने, ‘त्यसैले यो उमेरसमूहका मानिसको मृत्यु सङ्ख्या बढी देखिएको हो ।’ यस्तै ५१ देखि ६० वर्ष उमेर समूहका १९.०८ प्रतिशत मृत्यु भएको छ ।

सो उमेर समूहका ५० जनाको मृत्यु भएको छ । ४१ देखि ५० वर्ष उमेर समूहका १२.५९ प्रतिशत मृत्यु भएको छ । सो समूहमा ३३ जनाको कोरोनाबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयको कोभिड तथ्याङ्क शाखाको अभिलेखमा उल्लेख छ । यस्तै ३१ देखि ४० वर्ष उमेरका ९.९२ प्रतिशतको मृत्यु भएको छ । सो उमेर समूहका २६ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयको कोभिड तथ्याङ्क शाखाका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार कोभिडबाट २१ देखि ३० वर्ष उमेर समूहका ९ जना, ११ देखि २० वर्षका ३ र १० वर्ष उमेर समूहका ४ जनाको मृत्यु भएको बताए ।

प्रदेश १ का कुन अस्पतालमा कतिको मत्यु ?
प्रदेश १ का ६ वटा अस्पतालमा कोभिडको उपचार हुने गरेको छ । प्रदेशको राजधानी विराटनगरमा दुईवटा मेडिकल कलेजसहित चारवटा अस्पतालमा कोरोना सङ्क्रमितको उपचार हुने गरेको छ ।

विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्र, न्यूरो अस्पतालको न्यूरो कोभिड हस्पिटल, नोबेल टिचिङ हस्पिटल र विराट मेडिकल कलेजले कोभिड अस्पतालमा सङ्क्रमितको उपचार हुने गरेको छ । यस्तै सुनसरीमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्र र झापाको मेची अस्पतालमा भइरहेको छ । यी ६ कोभिड अस्पतालहरूमध्ये सबैभन्दा बढी धरानको बीपी प्रतिष्ठानमा सबैभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुधबारसम्म बीपीमा ९७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको बीपी प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार हालसम्म १ हजार ७६ जना सङ्क्रमितको भर्ना भएकामध्ये ८ सय ९४ जना निको भएर डिस्चार्ज भएको बताए ।

कोशी अस्पतालको कोभिडको भेण्टिलेटरमा पुगेका सबै बिरामीको मृत्यु
विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा बुधबारसम्म ३९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कोशीको कोभिड अस्पतालको आइसियुमा ७१ जना कोरोना सङ्क्रमित भर्ना गरी उपचार भएकामध्ये १४ जनाको आइसियुमा र २१ जनाको भेण्टिलेटरमा राखेर उपचारको क्रममा मृत्यु भएको कोशी कोभिड उपचार केन्द्रका सूचना अधिकारी आनन्द लामिछानेले जानकारी दिए ।

कोभिड अस्पतालको भेण्टिलेटरमा पुगेका हालसम्म २१ जना सङ्क्रमितको मृत्यु भएको छ । चार जना अस्पताल ल्याउँदा ल्याउँदै र बाँकीको अस्पताल आइपुग्दा मृत्यु भएको छ । ‘कोभिड अस्पतालको भेण्टिलेटरमा पुगेका बिरामी गम्भीर अवस्थामा आएका हुन्छन्’ कोशी कोभिड अस्पतालका को–अर्डिनेटर फिजिसियन डा. डेनप्रसाद आचार्यले भने, ‘सक्दो बचाउने कोशिस गर्दागर्दै पनि गम्भीर अवस्थामा बिरामी भेण्टिलेटरमा पुगेकालाई बचाउन सकिएको छैन ।’ हालसम्म कोशीको कोभिड अस्पतालको आइसियुबाट ३६ जना डिस्चार्ज भएका छन् ।

कोशी कोभिडका फिजिसियन डा. आचार्यले होम आइसोलेसनमा बसेर समयमै अस्पताल नआउँदा पनि मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको उनको ठम्याइ छ ।

यसैगरी विराटनगर मेडिकल कलेजको कोभिड अस्पतालमा २३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । न्यूरोको कोभिड अस्पतालमा १५ जना, नोबेल मेडिकल कलेजको कोभिड अस्पतालमा ४१ र मेची अस्पतालमा ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ को ६ वटा अस्पतालमा बुधबारसम्म २ सय ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ५३ जना अस्पताल ल्याउने क्रममा र होम आइसोलेसनमा मृत्यु भएको छ ।