भण्टाबारी/ प्रहरीको पछिल्ला आँकडाले अपराध कर्ममा ‘महिला’ को पनि संलग्नता बढ्दै गएको देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कअनुसार पछिल्लो दुई वर्षमा एक सय ९५ महिलाहरू विभिन्न अपराध कर्ममा पक्राउ परेका छन् । प्रहरीका अनुसार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, अपहरण, चोरी, अभद्र व्यवहार, बहुविवाह, बैङ्किङ कसुर, आत्महत्या दुरुत्साहन, हातहतियार, ठगी, मानव बेचबिखनलगायतमा महिलाहरू पक्राउ परेका हुन् ।

पुरुषको तुलनामा सङ्ख्या कम भए पनि पछिल्लो केही वर्षयता ‘अपराधको प्रवृत्ति’ फेरिएको प्रहरी अधिकारी बताउँछन् । विभिन्न प्रलोभन, बदलिँदो समाज, आर्थिक तथा पारिवारिक कारणले अपराध कर्ममा फस्ने गरेको अध्ययनले देखाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कमल थापा बताउँछन् । ‘केही महिला बाध्यताले, केही माया–प्रेममा धोकाले त केही सङ्गतले आपराधिक क्रियाकलापमा संलग्न भएको पाइयो’–उनले भने ।

आर्थिक वर्ष २०७५/०७६ मा कर्तव्य ज्यान मुद्दामा ७, ज्यान मार्ने उद्योगमा २, लागूऔषध ओसार–पसारमा ४, अभद्र व्यवहारमा २६, बहुविवाहमा ३२ लगायतका मुद्दामा गरी ९१ जना महिला पक्राउ परेका थिए । आर्थिक वर्ष २०७६/०७७ मा कर्तव्य ज्यान मुद्दामा ३, ज्यान मार्ने उद्योगमा ६, लागूऔषध ओसार–पसारमा ४, अभद्र व्यवहारमा २७, बहुविवाहमा २६ लगायतका मुद्दामा गरी ९३ जना महिला पक्राउ परेको जिल्ला प्रहरीको तथ्याङ्क छ । यस्तै चालु आर्थिक वर्षको हालसम्म ज्यानसम्बन्धी कसुरमा १, ठगीमा २, चोरीमा ३, आत्महत्या दुरुत्साहनमा १ सहितका मुद्दामा गरी १२ जना महिला पक्राउ परेको एसपी थापा बताउँछन् ।

अपराध नियन्त्रण र अपराधीविरुद्ध प्रहरीले कठोर कदम चाल्दै आएको बताउने एसपी थापा सामाजिक अपराध प्रहरीले चाहेर मात्र कम नहुने बताउँछन् । ‘समाजिक अपराध प्रहरीले मात्रै चाहेर कम हुँदैन’ उनले भने, ‘यसमा समाजका हरेक वर्ग जोडिन्छन् । अहिले वैदेशिक रोजगारका कारण परिवारमा विचलन बढेको छ । पति घरमा नहुँदा कतिपय महिलाहरू आफ्नो परिवार छाडेर अर्कैसँग अवैध कार्यमा लागेका हुन्छन् ।’

बदलिँदो परिवेशसँगै महिलामा प्रतिशोधको भावना बढेको हुँदा विभिन्न प्रकारका आपराधिक गतिविधिमा महिलाको संलग्नता बढ्दो क्रममा रहेको सुनसरी बहुमुखी क्याम्पस इनरुवाका प्राध्यापक गोविन्द चिलवाल बताउँछन् । ‘पहिलाको जस्तो रहेन, अहिले महिलाहरू पनि घरबाहिर निस्किन थाले’ उनले भने, ‘उनीहरूमा पनि पुरुष भन्दा के कम भन्ने मानसिकता छ ।’ समयको मागअनुसार महिला– पुरुषबीच रहेको दूरी कम हुँदै जानु सकारात्मक पक्ष भए पनि आपराधिक गतिविधिमा महिलाको संलग्नता बढ्नु चिन्ताको विषय भएको उनको कथन छ ।