भण्टाबारी । भारतको बिहार राज्य भइरहेको चुनावलाई मध्यनजर गर्दै सीमामा दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाएका छन् । बिहार राज्यमा पहिलो चरणमा अक्टोबर २८ र दोस्रो चरणमा नोभेम्बर ३ तारीखमा चुनाव सम्पन्न भइसकेका छन् भने तेस्रो चरणमा सुनसरी,मोरङ सहितका जिल्लासँग नाका जोडिएको सुपौल,अररिया लगायतका जिल्लामा यहीँ नोभेम्बर ७ तारीखमा मतदान हुने तालिका छ । सोही कुरालाई मध्यनजर गर्दै भारतीय एसएसबीले सुनसरी जिल्लाको विभिन्न बिओपीमा तैनाथ सशस्त्र प्रहरीसँग सहकार्य गर्दै नियमितरूपमा सीमा क्षेत्रमा गस्ती गरिरहेका छन् ।

चुनावको समयमा सीमा क्षेत्रमा हुनसक्ने अवाञ्छित क्रियाकलाप नियन्त्रण होस् भन्ने भारतीय सुरक्षा अधिकारीको चिन्ता रहेको पाइयो सुनसरीका सिडिओ फणीन्द्रमणी पोखरेलले भने चुनाव जस्तो विषय भएकाले हामी पनि आफ्नोतर्फबाट सक्दो सहयोग गरिरहेका छौं । सुनसरी जिल्लाको लगभग ६५ किलोमीटर भारतसँग खुल्ला सीमा रहेको छ ।

बिहारमा चुनाव नजिकिँदै जादा सीमामा सशस्त्र प्रहरी र एसएसबीले संयुक्तरूपमा गस्ती गर्दै निगरानी बढाएको सीमा सुरक्षा बल सुनसरीका एसपी माधव पौडेलले जानकारी दिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल भारतबीच रहेको खुल्ला नाका बन्द रहेपनि संयुक्त सुरक्षा बैठकले मतदानको बेला ४८ घण्टा नेपाल भारत सीमा क्षेत्र सिल गर्दै थप कडाइ गरिने निर्णय भएको बताइएको छ ।

लागूऔषध र मदिरा चुनौती

बिहार राज्यमा मदिरा प्रतिबन्ध लगाएर प्रशंसा पाएको नितिश कुमार नेतृत्वको राज्य सरकार अहिले मदिराकै कारण आलोचित बनेको छ । बिहारमा मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाइएपनि तस्करी गरेर आएको मदिरा जहाँत्यहीँ पाउने गरेको भन्ने त्यहाँका आम सर्वसाधारणको भनाइ रहेका छन् ।

सुनसरी,मोरङ लगायतका जिल्लाको विभिन्न नाका हुँदै तस्करहरुले बिहारमा मदिरा पुर्‍याउने गरेका छन् । जसका कारण वर्तमान नितिश कुमार नेतृत्वको सरकारलाई चुनावमा असर पर्नसक्ने विश्लेषण गरिएको छ । सोही कुरालाई दृष्टिगत गर्दै भारतीय सुरक्षा अधिकारीले नेपाली सुरक्षा अधिकारीसमक्ष मदिरा तस्करी रोकथाम गर्न आग्रह गर्दै आएका छन् । संयुक्त सुरक्षा बैठकमा भारतीय सुरक्षा अधिकारीले मदिरा रोकथाम गर्न आग्रह गर्दै आएको बताउदै एसपी पौडेलले सीमामा तैनाथ सशस्त्र प्रहरी मदिरा तस्करी रोक्न लागिपरेका दाबी गरे । खुल्ला सीमा नाका भएकाले पूर्णरूपमा रोक्न सफल नभएपनि न्यूनीकरण गर्न आफूहरु प्रतिबद्ध रहेको उनको दाबी छ ।

त्यसैगरी भारतमा औषधिको रूपमा बिक्रीवितरण भइरहेपनि नेपालमा प्रतिबन्धित लागूऔषध रोक्न नेपाली पक्षले भारती पक्षको ध्यानाकर्षण गराउदै आएको छ ।

संदिग्ध व्यक्तिमाथि निगरानी बढाइने

दुई देशको संयुक्त सुरक्षा बैठकमा सीमा क्षेत्रमा हुनसक्ने सम्भावित अपराधीक गतिविधि नियन्त्रण गर्ने निर्णय भएको बताउदै सिडिओ पोखरेल भने त्यसका लागि दुवैतर्फका सुरक्षाकर्मीले एक आपसमा सहकार्य गर्ने निर्णय भएको छ ।

नेपालमा अपराध गरी भारतमा लुक्ने र भारतमा अपराध गरी नेपालमा लुक्ने परिपाटी अन्त्य गर्न सूचना आदानप्रदान गर्ने निर्णय गरेका छौं उनले भने । संयुक्तरूपमा गस्ती गर्दै सीमा क्षेत्रमा संदिग्ध व्यक्तिमाथि निगरानी बढाउदै जिल्लामा शान्तिसुरक्षा मजबुत बनाई राख्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिएको सिडिओ पोखरेलको भनाइ छ ।

gasti1