दमक/ गत सोमबार भारतले आन्तरिक मागलाई पुरा गर्ने भनेर प्याज निर्यातमा रोक लगाएपछि त्यसको असर नेपालमा देखिन थालेको छ ।

भारतले आफ्नो उत्पादनलाई आफैमा खपत गर्ने रणनिती लिएपछि असर नेपालसहित बंगलादेश र श्रीलंकमा पनि पर्न सुरु भएको छ । भारतबाट झापाको काँकरभिट्टा भन्सार नाकाबाट मात्र वार्र्षिक करिव ४ करोडको हाराहारीमा प्याज आउने गरेको छ । तर यो क्रम केहि दिन देखी बन्द भएपछि यसको असर नेपाली बजारमा देखिन सुरु भएको छ ।

दमक स्थित सब्जी बजारमा अहिले प्याज कम आएका कारण मुल्य बढाउन बाध्य भएको व्यवसायीले बताएका छन् । तरकारी व्यवसायी सघं दमकका अध्यक्ष कुमर श्रेष्ठका अनुसार अहिले स्थानीय स्तरमा समेत उत्पादन नभएको र भारतकै भर पर्नु पर्दा प्याजको मुल्य बढाउन बाध्य भएको बताउँछन् ।

एक हप्ता अघि २ हजार रुपैँया ५० केजीको बोरामा खरिद गरेर ल्याउने प्याज अहिले ४ हजारको हाराहारीमा खर्दि गरेर ल्याउनु परेको सुनाए ।जसले गर्दा अहिले बजारमा उपभोक्ताले महाँगो मुल्यमा प्याज खरिद गर्न बाध्य भएको उनको भनाई छ । ४० रुपैँया प्रति केजीमा उपभोक्ताले खरिख गर्दै आएको प्याज अहिले १ सय रुपैया प्रतिकेजीमा खरिद गर्न बाध्य रहेका छन् ।

घरेलु माग पुरा गर्न र प्याजको मूल्य कम गर्नका लागि भारत सरकारले प्याज निर्यातमा रोक लगाउने निर्णय गरेको जनाइएको छ । हाल दिल्लीमा प्याज ३५ देखि ४० रुपैयाँमा बिक्री भइरहेको छ ।

काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा करोडौं रुपैयाँ मूल्य बराबरको प्याज नेपाल आयात भएको छ । गत आर्थिक वर्ष २०७६/०७७मा काँकरभिट्टा नाका हुँदै ३ अर्व ८८ करोड ३५ लाख ९५ हजार रुपैयाँ मूल्य बराबरका १ लाख १० हजार ९ सय ४८ मेट्रिक टन खाद्यान्न र ताजा तरकारी नेपाल आयात भएको थियो । आयातित तरकारीमध्ये प्याज मात्र ३ करोड ६२ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको १ हजार २ सय १० मेट्रिक टन रहेको कार्यालय प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईले बताए ।

तर, यस अघिका दुई आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने प्याजको अझ धेरै आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा काँकरभिट्टा नाका भएर १३ करोड ५९ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको ४ हजार ५ सय ३१ मेट्रिक टन प्याज भारतबाट आयात भएको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०७४/०७५मा १६ करोड २७ लाख २० हजार रुपैयाँ मूल्य बराबरको ५ हजार ४ सय ५४ मेट्रिक टन प्याज भारतबाट आयात भएको कार्यालय प्रमुख राईले बताए ।