भद्रपुर / झापामा कार्यरत चिया मजदुरले दुई वर्ष अगाडि लागू भएको ज्यालादर पाउन सकेका छैनन् ।

पूर्व सहमति अनुसार ज्याला नपाएको भन्दै झापाका चिया श्रमिकले आफ्ना मागप्रति गम्भिर र जिम्मेवार हुन सरकार र चिया मालिकलाई पटक–पटक आग्रह गरेपनि कार्यान्वयन हुनसकेको छैन । ऐनमा तोकेअनुसार ज्याला नदिए पुनः आन्दोलनमा जान बाध्य हुने मजदुर नेताले चेतावनी दिएपनि माग सुनुवाइ भएको छैन ।

श्रम ऐनअनुसार ०७५ साउनदेखि ०७६ वैशाख ३० सम्मको वृद्घि भएको दैनिक १०७ रुपैयाँ बराबरको ज्याला केही बगान मालिकले अझै भुक्तानी नगरेको श्रमिकहरूको गुनासो छ । रकमका लागि बगान मालिकसँग पटक– पटक आग्रह गर्दासमेत भुक्तानी नपाएको चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङको भनाइ छ । श्रम ऐन २०७४, श्रम नियमावली २०७५ मा भएको पारिश्रमिक, उत्पादन, सञ्चयकोष, सार्वजनिक विदा, बिरामी विदा, घर विदा, प्रसुति विदा, क्रिया विदा, चाडपर्व खर्चलगायत व्यवस्था गरी सामाजिक सुरक्षाकोषमा सूचीकृत गर्न आग्रह गर्दा समेत सुनुवाइ नभएको अध्यक्ष तामाङले बताए ।

गत वर्ष यस समयमा हरियो चियापत्ति प्रतिकिलो २० रुपैयाँ र तयारी चिया भारू ८५ मा बिक्री हुने गथ्र्यो तर अहिले ठीक दोब्बर बढी मूल्य बढ्दा पनि काम गर्ने श्रमिकलाई न्युनतम ज्याला दिन आनकानी भइरहेको सम्बद्ध श्रमिकको दुखेसो छ । कोरोना सङ्क्रमणको जोखिमबीच बगान तथा कारखानामा काम गर्न बाध्य भएको अवस्थामा नेपाल सरकारले तोकेको मापदण्डअनुसार आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको समेत उनीहरुको गुनासो छ ।

कोभिड–१९ को कारण सबै क्षेत्र धरापमा भए पनि चिया क्षेत्र भने इतिहासकै उच्च आम्दानीमा रहेको अखिल नेपाल ट्रेड युनियन प्रदेश १ इन्चार्ज भूपाल सापकोटाले बताए । तयारी चिया प्रतिकिलो भारतीय दुई सय रुपैयाँमा बिक्री भइरहेको उनको भनाइ छ । ट्रेड युनियन र नेपाल चिया उत्पादक सङ्घबीच यो वर्षको मङ्सीर महिना भित्र सबै श्रमिकहरुले ज्याला पाइसक्ने चिया उत्पादक सङ्घ झापाका अध्यक्ष सुरेशकुमार अग्रवालले बताए । कामदारहरुलाइ क्रमशः ज्याला वितरण गरिँदै आएको उनको भनाइ छ । ज्याला नपाएको भन्ने कुरा गलत भएको उनले दाबी गरे । झापामा साना किसान सहकारी, नेपाल चिया विकास निगम, हिमालय चिया बगान बाहेक अन्य बगान सङ्घमा आवद्ध छन् भने २२ वटा चिया कारखाना सञ्चालित रहेको उनले जानकारी दिए ।

जिल्लामा स्थायी र अस्थायी गरी २५ हजार चिया मजदुर कार्यरत छन् । चिया श्रमिकको वृद्घि भएको रकम एक जना श्रमिकले करिब २५ हजार रुपैयाँसम्म भुक्तानी पाउनुपर्ने देखिएको छ । चिया श्रमिकले गत वर्ष श्रम ऐन कार्यान्वयनको माग गर्दै ४४ दिनसम्म चिया क्षेत्र नै ठप्प पारेर आन्दोलन गरेका थिए । ०७६ वैशाख ३० मा चिया उद्योगीले ऐन कार्यान्वयन गर्ने सहमति जनाएपछि आन्दोलन टुङ्गिएको थियो । उक्त सहमतिमा ०७५ साउनदेखि ०७६ वैशाख ३० सम्मको ऐनअनुसार वृद्घि भएको दैनिक १०७ रुपैयाँ बराबरको ज्याला बगान मालिकले श्रमिकलाई ०७६ चैत मसान्तभित्र भुक्तानी दिने सहमती थियो तर अहिलेसम्म पनि सहमती कार्यान्वयन नभएपछि झापाली चिया श्रमिक आन्दोलनमा उत्रनु पर्ने अवस्थामा पुगेका छन् ।