धरान । सुनसरीको झुम्का कारागारमा १३ दिनको अन्तरालमा थप दुई कैदीको ज्यान गएपछि कैदीबन्दीको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता बढेको छ ।
हालै धरान–१० का २४ वर्षीय सागर राई र गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँवको उपचारको क्रममा मृत्यु भएको हो । यसअघि भदौ ४ गते धरानका २८ वर्षीय विकास राईको पनि सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । श्वास–प्रश्वासमा समस्या देखिएपछि उराँवलाई शनिबार राति र राईलाई मङ्गलबार बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उराँवको सोमबार दिउँसो र राईको मङ्गलबार बिहान उपचारकै क्रममा मृत्यु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार मृत्यु भएका तीनैजना कैदी दीर्घरोगी थिए र अन्य जिल्लाबाट उपचारका लागि सुनसरी ल्याइएका थिए । उनीहरू अस्पताल पुग्दा पहिले नै गम्भीर अवस्थामा रहेको र मृत्युको कारण कारागारको व्यवस्थापन वा अन्य कुनै वाह्य कारण नरहेको उनले बताए । जिल्ला सुरक्षा समितिको अनुगमनबाट पनि यस घटनामा अन्य कुनै कारण नभएको निष्कर्ष निकालिएको उनको भनाइ छ ।
लगातार कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीले कारागारमा स्वास्थ्य शिविर सञ्चालन गर्न निर्देशन दिएको छ । साथै, बारम्बार बिरामी पर्ने कैदीहरूको सङ्ख्या बढ्दै गएको भन्दै सुरक्षा समितिले उनीहरूको स्वास्थ्य विवरण सङ्कलन गर्ने र गम्भीर बिरामीलाई स्थानान्तरण गर्ने योजना पनि अघि सारेको छ । हाल झुम्का कारागारका ‘ए’ र ‘बी’ गरी दुई ब्लकमा १ हजार ७ सय ९४ जना कैदीबन्दी रहेका छन् ।
मृत्यु भएकामध्ये रामदेव उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भुक्तान गरिरहेका थिए भने सागर राई लागूऔषध मुद्दामा पुर्पक्षका लागि गत वैशाखदेखि कारागारमा थिए । यस घटनाले कारागारभित्रको स्वास्थ्य सेवा र कैदीहरूको अवस्थाबारे प्रश्न उठाएको छ । प्रशासनले दीर्घ रोगीहरूलाई उचित स्वास्थ्य सुविधा प्रदान गर्न र थप यस्ता घटना हुन नदिन विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।