धरान । बागमती प्रदेशको धुलिखेलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई २ लाख घूससहित पक्राउ गरेको छ ।
अख्तियारले बुधबार गरेको स्टिङ अप्रेसनको क्रममा टङ्गालबाट खटिएको टोलीले उनलाई घूस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार खरिदार भण्डारीले जिल्ला काभ्रेपलाञ्चोक, दोलालघाट गाउँपालिका वडानम्बर ७ मा फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा छुट दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस मागेको सूचनाका आधारमा उनीमाथि निगरानी गरिएको थियो । उनको साथबाट घूसबापत लिएको २ लाख नगद र एक थान मोबाइल डिभाइससमेत बरामद गरिएको छ । अख्तियारले पक्राउ परेका खरिदार भण्डारीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।