सिरहा । सिरहाको लहान नगरपालिका–१ स्थित मटियर्वामा दुई छोरासहित डेरामा बस्दै आएकी एक महिला र उनको जेठो छोरा मृत भेटिएका छन् ।
लहान–१२ भोटिया टोल घर भई लहान–१ मटियर्वामा करिब एक वर्षदेखि डेरामा बस्दै आएकी प्रवीण चौधरीकी श्रीमती करिब २४ वर्षीया रञ्जिता चौधरी मङ्गलबार बिहान करिब साढे ९ बजेतिर कोठाको पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर दीपककुमार सिंहका अनुसार करिब पाँच वर्षीय जेठो छोरा एरोन चौधरी कोठाको खाटमुनि मृत भेटिएका छन् भने नौ महिनाको छोराको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृतक आमा र छोराको शव पोष्टमार्टमका लागि लहान अस्पतालमा राखिएको छ । घटनास्थल इलाका प्रहरी कार्यालयदेखि पाँचसय मिटरको दूरीमा रहेको छ ।
प्रहरीका अनुसार घटनास्थलमा पुग्दा कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा पाइएको थियो । सोही ठाउँमा बस्दै आएका अन्यले प्रहरीलाई खबर गरेपछि प्रहरीले ढोका फोडेर भित्र पस्दा कुहिन लागेको अवस्थामा शव भेटिएको हो । प्रहरीका अनुसार घरायसी विवादका कारण दुई छोरालाई विष खुवाएर आत्महत्या गरेको हुनसक्ने अनुमान छ ।