टेक्सास अमेरिका । विद्यार्थी भिषामा अमेरिका पढ्न आएका केही विद्यार्थीहरू मानसिक सन्तुलन गुमाएर अस्पतालमा उपचाररत छन् भने केहीलाई नेपाल फर्काइएको छ ।

टेक्सासको डिअफडब्ल्यु क्षेत्रमा सडक क्षेत्रमा भेटिएका १४ जना विद्यार्थीहरूलाई उद्धार गरेको नेपाली समाज टेक्सासले जनाएको छ । समाजका अनुसार उज्वल भविष्यको खोजीमा स्टुडेन्ट भिषा लिएर अमेरिका पुगेका नेपाली विद्यार्थीहरूको अवस्था निकै दुःखद् र नाजुक बन्दै गएको छ । हालसालै अमेरिका, टेक्सास राज्यको डल्लस–फोर्टवर्थ (म्ँध्) क्षेत्रमा सातजना नेपाली विद्यार्थीहरू मानसिक सन्तुलन गुमाएर स्थानीय अस्पतालमा उपचाररत रहेका छन् भने थप सातजनालाई सहयोग रकम सङ्कलन गरेर नेपाल फर्काइएको समाचार सार्वजनिक भएको छ ।

नेपाली समाज टेक्सासका युवा तथा विद्यार्थी संयोजक प्रविस श्रेष्ठका अनुसार अमेरिकाभित्र अध्ययनरत करिब ३५ सय नेपाली विद्यार्थीमध्ये केही सामाजिकरूपमा घुलमिल हुन नसक्ने, परिवारको बेवास्ता भोग्ने र व्यावहारिक जीवन–दक्षतामा कमी भएकाले समस्या गहिरिँदै गएको हो । श्रेष्ठका अनुसार सडकमा बेवारिसे अवस्थामा भेटिएका सात विद्यार्थीलाई टिकट काटेर नेपाल फर्काएका छौँ भने सातजनाको मानसिक सन्तुलन गुमेको अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

उनका अनुसार धेरै विद्यार्थीहरू अध्ययनसँगै कामको चाप, कलेज ट्रान्सफरमा देखिने कठिनाइ र जागिर पाउने समस्या समाधान गर्न नसक्दा मानसिक रोगको सिकार भएका छन् । “१२ कक्षा सकेर आएका विद्यार्थीहरूलाई यहाँका व्यावहारिक पक्षबारे थोरै मात्र जानकारी हुने भएकाले उनीहरू ठूलो कठिनाइमा पर्छन्”–श्रेष्ठले भने । अमेरिकामा पढाइ सजिलो छ भन्ने भ्रममा अनेक सपना बोकेर आएका विद्यार्थीहरू त्यहाँ पुगेपछि अपेक्षित वातावरण नपाउँदा निराश भई मानसिक सन्तुलन गुमाउने अवस्थामा पुग्ने गरेको संयोजक श्रेष्ठले जनाएका छन् । उनले थपे, “सोचेजस्तो छैन यहाँको जीवनशैली, सरकारको नयाँ नियम र नीतिले अझै विद्यार्थीहरू दबावमा पारेको छ ।”

युलेस सिटीका उपप्रमुख टीकाराम पौडेलले समेत नेपाली विद्यार्थीहरू मानसिक उपचारमा रहेको पुष्टि गरेका छन् । तर बिरामी विद्यार्थीहरूको व्यक्तिगत विवरण गोपनीय राखिएको उनले स्पष्ट पारे । विशेषज्ञहरूले भने विदेशमा पढ्न आउने विद्यार्थीहरूले शैक्षिक तयारी मात्र नभई मानसिक तयारी, सामाजिक सीप र आर्थिक व्यवस्थापनमा समेत सक्षम हुनुपर्नेमा जोड दिएका छन् । शैक्षिक वर्ष २०२५ को पहिलो तीन महिनामा एक हजार चार सय ९५ जना नेपालीले विद्यार्थी भिषा प्राप्त गरेका छन् । यसमा सात सय १२ जना अक्टोबरमा, एक सय ६७ जना नोभेम्बरमा, छ सय १६ जना डिसेम्बरमा भिषा पाएका थिए ।

अमेरिकी ‘एसइभिआइस’ प्रणालीअनुसार अहिले अमेरिकाभित्र अध्ययनरत कुल १६ हजार नौ सय ३३ जना नेपाली विद्यार्थीहरू छन् । जसमा १० हजार सात सय ३० जना पुरुष र ६ हजार पाँच सय तीनजना महिला छन् । यो सङ्ख्या जनवरी २०२४ मा २० हजार एक सय ५३ थियो र मार्च २०२४ मा २३ हजार चार सय ३५ पुगेको थियो । हाल आएर केही घटेको छ ।