धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पदमा डा. विक्रमप्रसाद श्रेष्ठ नियुक्त भएकोमा धरान नगरबासी, बुद्धिजीवी, नागरिक अगुवा तथा समाजसेवीहरूले बधाईसँगै सुझाव दिएका छन् ।
प्रधानमन्त्री एवम् प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीद्वारा प्रा.डा. श्रेष्ठलाई हालै प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गरिएपछि उनलाई मङ्गलबार बधाईसँगै प्रतिष्ठानलाई नमुना बनाउन सुझाव दिइएको हो ।
नागरिक अगुवा पूर्वक्षितिज प्रकाशन प्रा.लि.का प्रबन्ध निर्देशक किशोरकुमार कार्कीले पढेर सुनाएको बधाई सन्देशमा धरान नगरका नागरिकहरूले प्रा.डा. श्रेष्ठको नियुक्तिलाई जनभावना र धरानबासीको अभिमतको उच्च सम्मानको रूपमा लिएको उल्लेख छ । डा. आनन्द आचार्यको नेतृत्वमा हस्तान्तरणपछि धरान उपमहानगरका पूर्व नगर प्रमुख मनोज मेन्याङ्बोले नवनियुक्त उपकुलपतिलाई बधाईसँगै समसामयिक विषयमा सुझाव दिएका छन् ।
विगत दुई दशकदेखि प्रतिष्ठानमा सेवा दिँदै आएका डा. श्रेष्ठले शिक्षाध्यक्षजस्तो महŒवपूर्ण जिम्मेवारी समेत सफलतापूर्वक वहन गरिसकेको उल्लेख गर्दै उनी स्वच्छ छवि, पेशागत निष्ठा र नेतृत्व क्षमताबाट परिचित व्यक्ति भएको नागरिक समाजको धारणा छ ।
सन्देशमा वर्तमानमा भ्रष्टाचार, कमिशन प्रणाली र अव्यवस्थाको जालोले समस्याग्रस्त बनेको प्रतिष्ठानलाई प्रा.डा.श्रेष्ठको कार्यकालमा रूपान्तरण गर्दै पुनः गौरवमय पहिचान दिलाउन सुझाइएको छ ।
धरानको अस्तित्व, प्रतिष्ठा र गहनाको रूपमा रहेको बीपी प्रतिष्ठानको पुनरुत्थानका लागि डा. श्रेष्ठको नेतृत्वमा सञ्चालन हुने अभियानमा सम्पूर्ण धरानवासीको सक्रिय सहयोग, समर्थन र ऐक्यबद्धता रहने स्पष्ट प्रतिबद्धता समेत जनाइएको छ ।
“हामी उहाँको सफल कार्यकालको कामना गर्दै, धरान नगरको समग्र हितका लागि आवश्यक सबै सहयोग गर्न कटिबद्ध छौँ”– सन्देशमा उल्लेख छ ।
कार्यक्रममा डा. खालिद हुसेन, डा. आनन्दप्रसाद आचार्य, डा. राजेन्द्र शर्मा, गोकुलप्रसाद श्रेष्ठ, मनिता घिमिरे, प्रा.डा. अशोककुमार झा, श्यामा रेग्मी, गोविन्द बस्नेत, मनोजकुमार मेयाङ्बो, विदुर राई, किशोरकुमार कार्की, काशीनाथ पौडेल, वविता अधिकारी, भीष्म काफ्लेलगायतका बुद्धिजीवी नागरिक अगुवाहरूको उपस्थिति रहेको थियो ।