teaबिर्तामोड/ हरियो चियापत्तीको मूल्यका विषयमा भएको विवादपछि कृषि मन्त्रालयबाट गठित समितिले एक साता लगाएर अध्ययन पूरा गरेको छ । गठित समितिले आन्दोलनरत् चिया किसानलाई संलग्न नगराईकन नै प्रतिवेदन तयार गर्ने भएको छ । आन्दोलनरत् साना किसान झापाली चिया व्यवसायी सङ्घले सरकारद्वारा गठित समितिको औचित्य नरहेको र यो समितिले समस्याको समाधान गर्न नसक्ने बताउँदै सहभागिता जनाएको छैन ।

एक साताअघि समस्या समाधान गर्ने अख्तियारीसहित झापा आएको समितिले जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा स्थलगत भ्रमण र सरोकारवालासँग छलफल गरेको थियो । अध्ययन तथा छानविन समितिका संयोजकसमेत रहेका कृषि विभागका उपमहानिर्देशक सूर्यप्रसाद पौडेलले अध्ययन शुरु गरेको ३५ दिनभित्र प्रतिवेदन बुझाउने बताए । उनले सरकारी र साना किसानद्वारा सञ्चालित सहकारीले झापामा निर्माण गरिरहेको तीनवटा उद्योग निर्माण भएर सञ्चालनमा आए समस्या समाधान हुने बताए । सरकार र साना किसानको संयुक्त लगानीमा झापामा तीनवटा उद्योग निर्माण सम्पन्न हुन लागेका छन् ।

किसानको मागअनुसार भारतीय चिया बोर्डबाट नियमित रुपमा हरियो पत्तीको मूल्य ल्याउन सम्भव नहुने पौडेलले जनाए । ‘हामीले भारतको सिलिगुडी गएर त्यहाँको अक्सन केन्द्र हे¥यौँ, हरियो पत्तीको मूल्य तोक्ने प्रणाली पनि अध्ययन ग¥यौँ’, पौडेलले भने, ‘त्यहाँ पनि मूल्यको विषयमा निजी र सरकारी उद्योगमा विवाद छ, त्यसले यहाँ कसरी समाधान निकाल्छ ?’ उनले भारतीय बजारलाई आधार मान्दा पनि विवाद मात्र आउने धारणा राखे । यसका लागि चिया तथा कफी बिकास बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्ने उनको सुझाव छ । सरकारी अनुदानमा निर्माण भएर सञ्चालनमा रहेको झापाको पृथ्वीनगरको चिया उद्योगले यो वर्षमात्र १८ लाख नाफा कमाएको जानकारी दिँदै उनले सहकारीद्वारा सञ्चालित उद्योगहरुले समस्याको समाधान गर्ने बताए ।

‘सरकारी अनुदानमा सहकारीद्वारा झापाको हल्दीबारी र बाहुनडाँगीमा तीनवटा उद्योग निर्माण हुँदैछन्, ती पूरा भएपछि लगभग ९० प्रतिशत समस्याको समाधान हुने देखिन्छ ।’ पौडेलले भने । लगभग वैशाखसम्ममा वर्षांैदेखिको हरियो चिया पत्तीको मूल्य निर्धारणको समस्या समाधान हुने उनको भनाइ छ । निर्माणाधीन चिया उद्योगका लागि यो वर्ष सरकारले बजेटमा कटौती गरेको उनले जनाए । ‘मन्त्रालयमा बचत भएको बजेट प्रदान गरेर भए पनि चिया उद्योग निर्माण गर्न प्रेरित गरिने छ’, उनले भने, ‘बजेट कटौतीको कारण निराश बनेका किसानलाई हौसला पुग्ने किसिमको प्रतिवेदन तयार गरिने छ ।’ उनले धर्ना फिर्ता लिएर संवादमा आउन आन्दोलनरत् साना किसानलाई आग्रह गरे । अध्ययनपछि हरियो पत्तीको मूल्यका विषयमा रहेको वास्तविकता पत्ता लगाउन सफल भएको समितिका सदस्य सचिव दीपक खनालले बताए । उनले अख्तियारी पाएको खण्डमा यही समितिले निर्णय गरेर समस्या समाधान गर्न सक्ने दावी गरे । हरियो चियापत्तीको मूल्य निर्धारणबारे दुई दशकयता झापामा किसान र उद्योगीबीच विवाद छ ।

पछिल्लोपटक साना किसान झापाली चिया व्यवसायी सङ्घले हरियो पत्तीको उचित मूल्य तोक्न माग गर्दै चिया तथा कफी विकास बोर्डको बिर्तामोडस्थित क्षेत्रीय कार्यालयमा ५७ दिनसम्म ‘भद्र धर्ना’ गरेको थियो । बिर्तामोडको धर्नाको सुनुवाइ नभएपछि सङ्घका पदाधिकारीहरु काठमाडौँमा गएर धर्ना बसिरहेका छन् । किसानहरु मन्त्रालयमा धर्ना बसेपछि मन्त्रालयले समस्या समाधानका लागि समिति गठन गरेको हो । समितिले पुस १ गतेदेखि आन्दोलनरत्लगायत सबै पक्षसँग छलफल शुरु गरेको थियो । छलफलले कुनै निकास नदिने भन्दै साना किसानले यो समितिलाई बहिष्कार गरेका छन् ।