धरान । सुनसरीको धरान उपमहानगरपालिका–६ सेहरा खोलाबाट लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ साढे ६ बजेतिर को.२७ प १६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा धरानको शीतलचोक बस्ने ३२ वर्षीय शीर्षक राई र २९ वर्षीय ओमबहादुर भुजेल रहेका छन् ।
प्रहरीले विशेष सूचनाको आधारमा विशाल चोकबाट शीतलचोकतर्फ आउँदै गरेको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो । चेकजाँचका क्रममा ओमबहादुर भुजेलले बोकेको आर्मी कलरको झोलाभित्र लुकाएर राखेको अवस्थामा आठ सय ८० क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ ।