विद्यार्थी भिसामा अमेरिका पढ्न जाने नेपाली विद्यार्थीहरुको मानसिक स्वास्थ्यमा देखिएको गम्भीर समस्याले एक दुःखद् वास्तविकतालाई उजागर गरेको छ । उज्वल भविष्यको सपना बोकेर अमेरिका पुग्ने केही विद्यार्थीहरुले मानसिक सन्तुलन गुमाएर अस्पतालमा उपचार गराइरहेका छन् भने केहीलाई नेपाल नै फर्काइएको छ । यो अवस्था अत्यन्तै चिन्ताजनक छ । नेपाली समाज टेक्सासले जनाएअनुसार डल्लास–फोर्टवर्थ क्षेत्रमा १४ जना विद्यार्थीहरु सडकमा बेवारिसे अवस्थामा फेला परेका थिए । उनीहरुमध्ये सातजनालाई मानसिक स्वास्थ्यको उपचारका लागि अस्पताल भर्ना गरिएको छ भने बाँकी सातजनालाई सहयोग रकम सङ्कलन गरेर नेपाल फर्काइएको छ । यस घटनाले अमेरिकामा नेपाली विद्यार्थीहरुको अवस्था के रहेछ ? अमेरिकाको सपना बोकेर जाने हाम्रा विद्यार्थीको अवस्था के रहेछ ? भन्ने उजागर गरेको छ । कतिपय विदेशमा गएर पढ्ने र धनसम्पत्ति कमाउने सपना बोकेकाहरुले कम्तीमा यस्ता घटनाबाट पाठ सिक्न जरूरी छ । 

नेपाली समाज टेक्सासका युवा तथा विद्यार्थी संयोजक प्रविस श्रेष्ठका अनुसार धेरै विद्यार्थीहरु अध्ययनको चाप, कामको बोझ, कलेज ट्रान्सफरको झन्झट र जागिर पाउनका समस्याहरुले गर्दा मानसिक रोगको शिकार भएका छन् । नेपालबाट १२ कक्षा सकेर अमेरिका पुगेका विद्यार्थीहरुलाई यहाँका व्यावहारिक पक्षबारे खासै जानकारी नहुँदा उनीहरुले ठूलो कठिनाइ भोग्नुपरेको छ । अमेरिकामा पढाइ सजिलो छ भन्ने भ्रम र अनेक सपना बोकेर गएका विद्यार्थीहरुले त्यहाँ पुगेपछि अपेक्षा गरेअनुसारको वातावरण नपाउँदा निराश हुने र अन्ततः मानसिक सन्तुलन गुमाउने अवस्थामा पुग्ने गरेका छन् । 

यस समस्याको जरो शैक्षिक तयारीमा मात्र नभई मानसिक, सामाजिक तथा आर्थिक तयारीको कमी रहेको देखिन्छ । विदेशमा अध्ययन गर्न जाँदा शैक्षिक योग्यता मात्र होइन, त्यहाँको जीवनशैली, संस्कृति र सामाजिक पक्षबारे पनि राम्रोसँग बुझेर जानु आवश्यक देखिएको छ । अमेरिकाजस्तो विकसित देशमा पनि नयाँ नियम र नीतिका कारण विद्यार्थीहरु बढी दबावमा परेको देखिन्छ । ती नीति, नियमको बारेमा पनि ज्ञान हुन जरूरी देखिएको छ । विदेशी रमझममा रमाउन पाइन्छ, छुट्टै संसार हो भन्ने कल्पना गरेर त्यहाँ पुग्दा थुप्रै हण्डर र ठक्कर खानु पर्ने रहेछ भन्ने माथिको घटनाले पुष्टि गरेको छ । यस सन्दर्भमा नेपाल सरकार, अभिभावक, शैक्षिक परामर्शदाता र अमेरिकामा रहेका नेपाली समुदायको भूमिका महत्वपूर्ण हुन्छ । विद्यार्थीहरुलाई विदेश जानुअघि नै मानसिक र व्यावहारिक पक्षबारे उचित परामर्श दिनु जरूरी छ । यस्तै अमेरिका पुगेपछि पनि उनीहरुलाई सहयोग गर्ने र सही मार्गदर्शन दिने संयन्त्रको विकास गर्नुपर्छ । विद्यार्थीहरुको सपना साकार पार्ने नाममा मानसिक स्वास्थ्यलाई पनि ख्याल गर्न जरूरी छ । यो दुःखद् घटनाले हामी सबैलाई विद्यार्थीहरुको भविष्य र सुरक्षाप्रति अझ संवेदनशील बन्नुपर्ने पाठ सिकाएको छ ।