• अनिल श्रेष्ठ

विराटनगर/ साल्ट ट्रेडिङ कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरले युरिया किन्दा सहकारीहरूलाई जबर्जस्ती सिङ्गल सुपर फास्फेट (एसएसपी) मल किन्न बाध्य बनाउने गरेको पाइएको छ ।

अनुदानको मलसँगै गैरअनुदानको डिएपीको रूपमा काम गर्ने (एसएसपी) मल सहकारीलाई जबर्जस्ती रूपमा भिडाइदिने गरेको पाइएको हो । जसले गर्दा अतिरिक्त आर्थिक भार कृषकले झेल्नुपरेको छ । एसएसपी मल नकिन्ने किसानलाई युरिया मलबिनै कतिपय सहकारीले फिर्ता पठाउने गरिएको छ । त्यसैले किसान दुवै मल किन्न बाध्य भएका हुन् ।

कमिसनको चक्करमा साल्ट ट्रेडिङले स्टक रहेको बेसिजनको एसएसपी मल जबरजस्ती भिडाउने गरेको सहकारीका सञ्चालकहरूको भनाइ छ । कृषकलाई अहिले हरियो फिर्दै गरेको धानबालीमा एकदमै आवश्यक परेको युरिया हो । तर, साल्ट ट्रेडिङले सहकारीमार्फत् किसानलाई दिने युरिया मलसँगै एसएसपी मल भिडाउने गरेको छ । अहिले सहकारीलाई भिडाउने गरेको एसएसपी मल कृषि अधिकारीका अनुसार डिएपीका विकल्पको रूपमा प्रयोग गरिन्छ । यद्यपि किसानहरू भने अझै पनि एसएसपी मलको गुणस्तरमा विश्वस्त हुन सकेका छैनन् ।

अहिले साल्ट ट्रेडिङले सीमित मात्रामा सहकारीहरूलाई मल वितरण गर्दै आएको छ । सहकारीहरूलाई १ सय बोरा युरिया खरिदमा अनिवार्य २५ बोरा एसएसपी र ६ कार्टुन साबुनको बिल काट्ने गरेको छ । ‘२५ बोरा एसएसपी र ६ कार्टुन साबुनको बिल नकाटेसम्म साल्ट ट्रेडिङका कार्यालय प्रमुखले युरिया मलको तोक लगाइदिनुहुन्न’ मोरङको कानेपोखरीबाट मल खरिद गर्न साल्ट ट्रेडिङमा आएका सहकारीका सञ्चालकले भने, ‘प्रत्येक सहकारीलाई १ सय बोरा युरिया खरिदमा २५ बोरा एसएसपी मल र ६ कार्टुन साबुन अनिवार्य तोकिएको छ ।’

एसएसपी मल खरिद नगर्नेलाई युरिया नदिने गरेको सहकारीको भनाई छ । ‘अहिले महामारीको रूपमा फैलिएको कोरोना भाइरसले गर्दा पनि हात धुन साबुन कृषकले खरिद गरेर लैजान्छन्’ ती सहकारीका सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यो बेसिजनको एसएसपी मल कृषकले खरिदै गर्दैनन् । हामीले बुझाउँदा पनि लाँदैनन् । हाम्रो लगानी उठाउन जबरजस्ती किसानलाई हामीले पनि मल भिडाउन बाध्य भएका छौं ।’

साल्ट ट्रेडिङमा तीनथरी मूल्य पर्ने एसएसपी मल छ । प्रतिबोरा ९ सय ६०, १ हजार २० र १ हजार ४० रुपैयाँको एसएसपी मल रहेको छ । गतवर्षकै साल्ट टे«डिङमा ११ हजार ९ सय बोरा अर्थात् ५ सय ९५ मेट्रिक टन एसएसपी मल स्टक रहेको छ । गैरअनुदानको एसएसपी मल कोटाअनुसार बिक्री गर्दा कम्पनीले कर्मचारीलाई निश्चित कमिसन दिने भएकोले सहकारीलाई जबरजस्ती भिडाउने गरेको स्रोतको दाबी छ । एसएसपी मल बिक्री भएको आधारमा कम्पनीले कर्मचारीलाई कमिसन छुटाइदिने गरेको बुझिएको छ ।

साल्ट ट्रेडिङले एसएसपी मल नलैजाने सहकारीहरूलाई अनुदानको मल युरिया र डिएपी पनि नदिने भनेपछि ती सहकारीले साल्ट ट्रेडिङमार्फत् मल खरिद गर्नै छाडेका छन् । यसरी दबाव दिने भएकोले केही मलको कारोबार गर्ने सहकारीहरूले साल्ट ट्रेडिङबाट मल कारोबार गर्नै छाडेको बुझिएको छ । ‘मलको गुणस्तरका विषयमा समस्या नहोला, तर किसानले एसएसपी मल लिनै मान्दैनन् । अनि हामीले त्यो मल कसरी बिक्री गर्नु ?’ –ती सहकारीका सञ्चालकले भने ।

कृषकलाई अतिरिक्त आर्थिक भार
साल्ट टे«डिङले सहकारीलाई र सहकारीले किसानलाई एसएसपी मल र साबुन जबर्जस्ती रूपमा भिडाइदिँदा अतिरिक्त आर्थिक भार कृषकले झेल्नुपरेको छ । मोरङमा सहकारीले कृषकलाई ८ सय रुपैयाँमा युरिया, १ हजार ६० मा एसएसपी र १ सयमा तीन वटा साबुन बिक्री गर्दै आएको छ ।

लकडाउनका कारण मारमा परका किसानहरूसँग मल किन्ने पैसा छैन । ‘युरिया मात्र किन्ने पैसा बोकेर गएको थिएँ । सहकारीले एसएसपी र साबुन पनि किन्नुपर्छ भन्यो’ कानेपोखरी–५ का भेषराज आचार्यले भने, ‘११ किलो युरिया दिएर जबर्जस्ती सेटिङमा आएको अर्को मल एसएसपी भन्ने दिएको छ, अनि साबुन पनि भिडाएको छ ।’ ११ किलो मल लिएबापत १ सय रुपैयाँको ४ किलो एसएसपी मल र अर्को १ सय रुपैयाँको ३ डल्ला साबुन भिडाएको कृषकहरू बताउँछन् ।

अहिले युरिया मलको चरम अभाव सिर्जना भएको छ । सहकारीबाहेक अन्य स्थानमा मल किन्न पाइँदैन । सहकारीमा एसएसपी किन्न अनिवार्य गरिएको मल खरिद गर्न गएका कानेपोखरी गाउँपालिका–६ रमाइलोकी शोभा बजगाईंले बताइन् ।

जबर्जस्ती भिडाएकै छैन : साल्ट ट्रेडिङ
साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीले जबर्जस्ती रूपमा सहकारीहरूलाई गैरअनुदानको एसएसपी मल नभिडाइएको दाबी गरे । जहिले पनि डिएपी मलको अभाव हुने अवस्था देखिएपछि विकल्पमा एसएसपी मल ल्याएर किसानहरूको मागलाई सम्बोधन गरिएको उनको भनाइ छ । ‘केन्द्रीय कार्यालयको आदेशमा हामीले मात्र होइन, देशभरिका कार्यालयबाट एसएसपी मलको कारोबार गरिरहेका छ,’ कमिसनको चक्करमा होइन’–उनले भने । रासायनिक मल लिन आउने सहकारीहरूको इच्छा अनुसार एसएसपी मल पनि लैजाने गरेको उनले सुनाए । ‘एसएसपी किन्न बाध्यकारी नियम बनाएकै छैनौं’ उनले भने, ‘सहकारीको इच्छाअनुसार एसएसपी र साबुन लाने सहकारीहरूलाई हामीले बिल काटेर दिने गरेका छौं ।’

कार्यालय प्रमुख चौधरीले एसएसपी मल पनि गुणस्तरका हिसाबले उत्तम भएको दाबी गरे । डिएपी मल अभाव भएको अवस्थामा पनि यसलाई दोब्बर गरी प्रयोग गरे धान र मकैबाली तथा तरकारी बालीमा पनि उत्तम हुने उनको भनाइ छ । सो मलमा सल्फर, क्याल्सियम, फस्फोरस, जिङ्क र बोरोनको मात्रा मिलाइएकोले बाली र माटो पनि राम्रो हुने कार्यालय प्रमुख चौधरीको बुझाइ छ ।

साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय विराटनगरले मोरङ, सुनसरी, धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुमका गरी ६ वटा साल्ट ट्रेडिङको डिपो र २ सय ६४ वटा सहकारीलाई मल वितरण गर्दै आएको छ ।

३ सय २९ मेट्रिम टन आएकोमा मङ्गलबारसम्म ३४ सहकारीलाई ५ हजार ४ सय ७५ बोरा मल अर्थात् २ सय ७४ मेट्रिक टन वितरण गरेको कार्यालय प्रमुख चौधरीले जानकारी दिए । बुधबार भने १७ वटा सहकारीलाई मल वितरण गरेको उनले बताए ।