वर्दी बिनाका भूगोल रक्षक

alt
  • श्रावण १५, २०७७
  • देबेन्द्र कार्की

इनरुवा/ सुनसरीको इनरुवामा १९९७ सालमा जन्मेका गोपाल कोइराला ‘त्यागी’ २०१३ सालदेखि भारतले मिचेको सीमाबारे चिन्तित थिए । पाँचथरदेखि इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका सीमा नाका उनले घुमेका छन् ।

२०११ सालमा जब भारतले कोशी प्रोजेक्ट ल्यायो, त्यसपछि नेपाली भूमि भारतले थोरै थोरै गर्दै अतिक्रमण गर्न थाल्यो । टहरा बनाएर, गाईगोठ बनाएर, पिलर राति राति नेपालतर्फ सारेर नजानिँदो पाराले भारतले नेपाली भू–भाग अतिक्रमण गरेको तीतो अनुभव उनीसँग छ । त्यस बेलादेखिको अभियान अहिले पनि नजानिँदो तरिकाले भारतले कायमै राखेको छ ।

उनी भन्छन्, ‘भारतले अतिक्रमण गर्नुभन्दा पनि अतिक्रमण गर्न नेपाली शासकहरूले छुट दिएर चाहिँ ठूलो गल्ती गरेका छन् । अब काँडेतार नलगाएसम्म नेपाली भूमि जोगाउन सकिँदैन ।’

सुनसरीमा साविक गाविस अमडुवादेखि कोशी गाउँपालिकाको हरिपुरसम्म ठाउँ–ठाउँमा अतिक्रमण भएको छ । बढी मात्रामा अमडुवामा भारतीयले घर बनाएर बसेको कोइराला बताउँछन् ।

३ सय ४० बिगाहा भारतको कब्जाबाट छुटाए
उनले २०१५ सालदेखि २०५५ सालसम्म सरकारी जागिर खाएका थिए । १८ वर्षसम्म भूमिसुधार कार्यालय लहान र सप्तरीमा प्रमुखको रूपमा पनि काम गरेका थिए । त्यहाँ हँुदा सिरहा र सप्तरीको जग्गा उनैले नपाएका थिए । त्यसपछि भू–आर्जन कार्यालय विराटनगरमा काम गरे । उनी सन् १९५६ मा कोशी योजनाको विशेष वार्डेन अफिसर भएर सुनसरी आएपछि भारतले अतिक्रमण गरेको जग्गा खोजी गरेका थिए । त्यसबेला सोइल कञ्जरभेसन म्यानेजमेण्ट तथा तालिम केन्द्र भनेर सुनसरीको वराहक्षेत्र नगरपालिकाको चतरामा ३ सय ४० बिगाहा जग्गा कब्जा गरेर भारतले एक जना वर्मा थरका अधिकृतलाई राखेर त्यहाँका बहुमूल्य काठ, खयर, चन्दनलगायतका रुख भारत निकासी गर्दै आएको थियो ।

१५ वर्षका लागि भनेर लिजमा लिएको जमिन २६ वर्ष बित्दा पनि नेपाललाई फिर्ता गरेको थिएन । कोशी योजनामा आएपछि उनले पत्र काटेर जग्गा फिर्ता गर्न दबाव दिए । तत्कालीन सुनसरी क्षेत्र नं. १ की सांसद् लीला श्रेष्ठ सुब्बाले समेत सदनमा ध्यानाकर्षण गराएपछि भारतलाई छाड्न दबाव परेको उनी बताउँछन् । भारतले कोइरालालाई अनेक प्रलोभनसमेत देखाएर जग्गा भोगचलन गर्न खोजे पनि कोइराला नमानेपछि २७ वर्षपछि उक्त जग्गा भारतले छाडेको थियो । हाल सो क्षेत्रमा कुम्भ स्तम्भ बनाइएको छ । ‘मेरो पहलमा भएको यो मैले ठूलो उपलब्धि ठानेको छु’– कोइराला भन्छन् ।

कोइरालाका अनुसार भारतले कोशी ब्यारेजको पुलको पूर्व–दक्षिणमा रहेको पकरी, प्रगन्ना, चपराही, सरवाहा, गोवरगडा, लक्ष्मीपुर, कटैया, सिमरिया, पकरिया, झवाहा, लिलजा, मगरौन, प्रिप्राहा गरी १२ वटा मौजाको करिब ११ हजार बिगाहा भू–भाग भारतले भोगचलन गर्दै आएको छ । कोशी पुल निर्माण शुरु भएपछि बाटो बनाउने, संरचना बनाउने बहानामा भारतले अतिक्रमण गरेको र पछिसम्म फिर्ता नगरेको कोइराला बताउँछन् ।

यी मौजाहरू तत्काल सप्तरी जिल्लाभित्र पर्ने भएकाले नेपालको भू–भाग भएको नक्सा उपलब्ध गराउन विराटनगरस्थित कोशी योजना तथा भू–आर्जन कार्यालयका अधिकृत हुँदाका बखत नापी विभागलाई आवश्यक कागजात पठाउनलाई पत्राचार गरेका थिए । तर उक्त पत्रको जवाफ कार्यालयबाट नआएको उनले बताए ।

भीमनगर, वीरपुर नेपालकै थियो
कोइरालाका अनुसार हाल भारतले भोगचलन गर्दै आएको भीमनगर पुरानो चोकमा रहेको हनुमान मन्दिरअगाडिको पीपलको बोेट र चौतारो डा.थीर शमशेर जबराको मौजा रहेको थियो ।

उक्त कुरा कोइरालाको ‘किताब आफै बोल्छ’ भन्ने उनको सीमा र जलस्रोतको बारेमा लेखिएको पुस्तकमा उल्लेख गरिएको छ । २००४ सालमा र सो भन्दाअघि खुलेका मौजाहरूमा वीर शमसेरको वीरपुर, लालबाबु साहेवले पाएको बिर्ता लालपुर, भीमशमसेरले आफ्नो रानीलाई आयस्ता खान दिएको पेवा रानीगञ्ज भन्सार हाल भारततिर छन् । कोशी पुल बनाउँदै गर्दा नेपाली भू–भागमा भारतले कब्जा जमाएको कोइराला बताउँछन् । यी भू–भागलाई फर्काउन उनले राज्यको माथिल्लोस्तरमा कुरा पनि पु¥याएका हुन् तर त्यस बेलाको शासकले भारतको उक्त हेपा प्रवृत्ति विरुद्ध एक्सन लिने हिम्मत नगरेको उनको भनाइ छ ।

कोशी योजनाको नाममा ढुङ्गा निकासी
कोशी सम्झौताअनुसार सप्तकोशीबाट प्रभावित क्षेत्रमा बाँध मर्मत, सडक मर्मतको काम भारतले गर्नुपर्ने हुन्छ । मर्मतको नाममा नेपालबाट ढुङ्गा भारत निकासी भएपछि उनले २०५४ साल चैतमा जलस्रोत मन्त्रालय अन्तर्गतको कोशी–गण्डक इकाईलाई पत्र लेखेर तत्काल भारतीय हस्तक्षेप रोक्न पत्राचार गरेका थिए ।

यस्तै २०५४ साल फागुन २० गते सुनसरीको साविक हरिपुर गाविसको ९ नंं. वडामा पर्ने कटैया गाउँको केही भू–भाग भारतीय क्षेत्रमा पर्न गएको र उक्त भू–भागमा निर्माण गरिएको पावर हाउसको सम्बन्धमा जानकारी गराउँदै कोइरालाले मालपोत कार्यालयका सचिवलाई सम्बोधन गरेर सो कटैयाको अधिग्रहण भएको जग्गा र मुआब्जा प्राप्त गरेको दस्तावेजसहित आवश्यक कारबाहीको लागि भनेर पत्र पठाएका थिए । तर उक्त पत्रबारे मालपोत कार्यालयले कुनै चासो नलिएका कारण भारतमा परेको जग्गा नेपालले ल्याउन नसकेको उनको भनाइ छ ।

उनले सरकारी कर्मचारी हुँदा नेपाली भू–भाग भारतले कब्जा जमाएको विषयमा दर्जनौं मुद्दा उठाएर सरकारलाई फिर्ता गराउन जानकारी गराएका थिए । तर उनको आग्रह र अनुरोधलाई त्यस बेलाका शासकले टेरपुच्छर लगाएनन् । भारतीय मिचाहा प्रवृत्तिप्रति सरकारको मौन स्वीकृतिले भारतले नेपालभित्र पर्ने जग्गामा कब्जा जमाउँदै क्रमशः सीमा विस्तार गरेको उनको भनाइ छ ।

सीमा रक्षाका लागि लगातार मोर्चामा
कोइराला निरन्तर सीमा रक्षा अभियानमा छन् । भारतले अतिक्रमण गरेको जग्गा फर्काउन उनले नेपाली शासकलाई पटक –पटक दबाव दिए । तर सुनुवाइ अहिलेसम्म नभएको उनको तीतो अनुभव छ । ‘भूमि रक्षाका लागि मैले सिडियो, अञ्चलाधीश, राजदरबार, अख्तियार सबै स्थानमा पु¥याएँ तर सरकारले वास्ता गरेन । जसका कारण नेपाली भूमिमा भारतले कब्जा जमाइरह्यो’ उनले भने, ‘नेपाली भूमि अतिक्रमण हुनुमा भारतभन्दा पनि नेपाल नै दोषी हो । आफ्नो भूमिको सुरक्षामा चासो नदिनु हाम्रै कमजोरी हो ।’

उनी २०६१ सालमा पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा इनरुवा नगरपालिकाका मेयरसमेत भएका थिए । सो समयमा उनले सीमा क्षेत्रमा पत्रकारहरूसहित अनुगमन गरी सरकारलाई प्रतिवेदनसमेत त पठाएका थिए । भारतले गरेको ज्यादतीबारे उनले बनाएको सुझावसहितको प्रतिवेदन मन्त्रालयको कुन कुनामा अझै थन्किएको होला ।

नेपालको राष्ट्रियता, सार्वभौम, जलस्रोत रक्षाका लागि उनी यो ८० वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन् । उनी नेपाल–भारत सीमा सरोकार समाजका अध्यक्ष पनि हुन् । उनी कोशी हाईड्याम सरोकार समाजको अध्यक्ष, रिभर फर लाइभ–नट फर डेथ नामक संस्थामा पनि आबद्ध छन् । यसमा ६२ राष्ट्रका व्यक्ति सहभागी छन् । यस्तै सीमाविद् चेतेन्द्रजङ हिमालीको संयोजकत्वमा बनेको सीमा सरोकार नागरिक समितिका सदस्यसमेत रहेका छन् । यिनै मोर्चामा रहेर नेपाली भूमि रक्षाका लागि आवाज उठाइरहेका छन् ।

दुई महिनाअघि सचेत नागरिक समूहको नेतृत्वमा उनले अगुवाइ गरेर आफ्नो भूमि बचाउन सरकारलाई दबाव दिँदै प्रमुख जिल्ला अधिकारीमार्फत् ज्ञापन–पत्र बुझाए । कालापानी, लिम्पियाधुराको कुरा उठेका बेला उनले सुनसरीको सीमा मिचिएको विषयमा सरकारलाई सचेत गराएका थिए ।

२०१३ सालदेखि राष्ट्रियताको सवालमा आवाज उठाउँदै आएका कोइराला यति बेला ओझेलमा परेका छन् । विभिन्न समयमा सीमा अतिक्रमण, भारतसँग भएका सम्झौताको विरोधमा उनी निरन्तर लागेका छन् । कोशी हाइैड्याम बनाउनु हुँदैन भन्दै नेपाली भू–भाग डुबानमा पर्ने विषयमा उनले वकालत गर्दै आएका छन् । तर अनवरत रूपमा कुनै न कुनै तरिकाले राष्ट्र रक्षा र राष्ट्रको भूमि संरक्षणमा लागेका अभियन्तालाई राज्यले भने चिन्न सकेको छैन ।

पश्चिम नेपालको सिमाना मिचिएको विषय आइरहँदा काठमाडौं र ठूला शहरमा राष्ट्रियताका नाममा धेरै सडक कार्यक्रम भए । उनीहरू सडकमा नारा लगाएर राष्ट्रवादीसमेत भए । धेरैले अखबारमा लेखेर र टेलिभिजन रेडियोमा बोलेर झन् सामाजिक सञ्जालमा स्टाटस लेखेर एक–अर्काको देशभक्तिको कुरा गरेका थिए । तर, राष्ट्रवादको कुरा गरिरहँदा गोपालहरूजस्तो भारतीय अतिक्रमणको प्रतिवाद गरेर सीमास्तम्भ जोगाएका नागरिक ओझेलमा छन् । भूमि जोगाउने र देशको सिमाना जोगाएका यस्ता मान्छेलाई शहरका मञ्चमा उभिएर राष्ट्रियताको भाषण गर्नेहरूले ओझेलमा पार्नु हुँदैन । सिमानामा उभिएर भूगोल जोगाउने र माटोको लागि सङ्घर्ष गर्ने गोपालहरूलाई सिंहदरबारले बिर्सनु हुँदैन ।

हालसम्म ९९ संक्रमितक ...

ब्लाष्टखबर ।  नेपालमा आज थप ५ सय ९५ जनामा कोरोना स ...

हर्क साम्पाङको रिहाई ...

ब्लाष्टखबर । धरानकाे खानेपानीकाे मुहानमा पाईप तोडफोड गर ...

मोरङको रंगेलीमा २८ स ...

विराटनगर / मोरङको रंगेली नगरपालिका भित्र शुक्रबार २८ जन ...

हरियाली सामुदायिक वन ...

ब्लाष्टखबर । हरियाली सामुदायिक वनकाे आवास गृहमा&nb ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved