साना बालबालिका एक–आपसमा सँगसँगै मिलेर खेल्न रुचाउँछन् । तर कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएको बेला साथीहरूसँग भेटघाट गर्नु र ठूलो समूहमा खेल्नु सुरक्षित छैन । शारीरिक दूरी कायम गरेर हामी आफू र अरूहरूलाई त सुरक्षित राख्न सक्छौँ, तर खेलका माध्यमबाट आफ्नो वरिपरिको परिवेश थाहा पाउने र साथीहरूसँग जोडिन सिक्ने साना बालबालिकाका लागि भने शारीरिक दूरी विशेषगरी चुनौतीपूर्ण हुनसक्छ । तर उनीहरू घरभित्र रहेकै कारणले रमाउन सक्दैनन् वा केही पनि सिक्न सक्दैनन् भन्ने चाहिँ पटक्कै होइन ।

यो समयमा तपाईंका नानीबाबुहरूको संसार फराकिलो बनाउन र उनीहरूसँग रमाइलो पल बिताउन हामीहरूले लेगो फाउण्डेसनका हाम्रा साथीहरूसँग मिलेर केही रचनात्मक खेलका उपायहरू लिएर आएका छौँ ।

०–९ महिनासम्मका शिशुहरूका लागि

देखियो–देखियो–देखिएन !
यो खेल खेलाउनको लागि तपाईंलाई आफ्नो हात र मधुर बोलीको प्रयोग गर्नु पर्नेछ । तपाईं आफ्नो शिशु लिएर कुनै एक स्थानमा बस्नुहोस् । अब तपाईंले आफ्नो हात वा सफा कपडाको टुक्राले आफ्नो अनुहार छोप्नुहोस्, त्यसपछि लगत्तै अनुहारबाट हात वा कपडा हटाउँदै ‘देखियो–देखियो–देखिएन !’ भन्नुहोस् । तपाईंको शिशुले रमाउँदै तपाईंको अनुहार एकैछिनमा हराएको र फेरि एकैछिनमा देखिएको हेर्नेछ । शिशु हुर्किँदै जाँदा आफै नै तपाईंसँग यो खेल खेल्न सक्नेछ ।

हेर र भन
घर वरिपरिका फरक–फरक वस्तुहरूलाई देखाउनुहोस् । तिनको नाम बताउँदै तिनीहरूको बारेमा भन्नुहोस् । जस्तो कि कुनै एउटा बिरालो देखाउँदै भन्नुहोस्, ‘उ हेर बिरालो देख्यौ ? त्यो खैरो बिरालो हो ।’ यस्तो गर्नाले तपाईंका नानीबाबुहरूको भाषिक विकास हुनुको साथै तपाईंहरू बीचको सम्बन्ध प्रगाढ बन्नेछ ।

बाजा बनाऔं
आफ्ना नानीबाबुहरूसँग मिलेर गीत गाउनुहोस् । साथसाथै बाजा बनाउन एउटा सुरक्षित खाली प्लास्टिकको बोतल लिनुहोस् । त्यसभित्र टाँक वा मालाका दानाहरू हालेर बिर्को बन्द गरी हल्लाएर बजाउन मिल्ने बाजा बनाउनुहोस् । सङ्गीतले बालबालिकाको संवेदनात्मक विकास गर्दछ भने सो बाजा समाउने क्रियाकलापले सूक्ष्म तथा स्थुल अङ्गको विकास गर्दछ । सबैभन्दा महŒवपूर्ण कुरा रचनात्मक हुनु र रमाइलो गर्नु हो ।

शरीरको खेल
आफ्ना नानीबाबुहरूलाई उनीहरूको शरीरका अङ्गहरूको नाम बताउनुहोस् । ती अङ्गहरू देखाउँदै उनीहरूलाई अङ्गका नामहरू सिक्न सहयोग गर्नुहोस् । जस्तैः ‘नानीको नाक कहाँ छ ? यी, यहाँ छ ।’ तपाईंले बालबालिकालाई आफ्नो र अरूको अङ्गबीचको समानता थाहा दिन आफ्नो पनि सोही अङ्ग देखाउनुहोस् र भन्नुहोस् ‘आमाको नाक कहाँ छ ? यी यहाँ छ ।’

१–२ वर्ष उमेरका बालबलिकाका लागि

बाकसको गाडी
यो क्रियाकलाप गर्नको लागि सबैभन्दा पहिले एउटा खाली बाकस वा कार्टुन लिनुहोस् । त्यसमा सुरक्षाको लागि सफा एवम् नरम बाक्लो कपडा वा ब्ल्याङ्केट मिलाएर आरामदायी तरिकाले बिछ्याउनुहोस् । अब आफ्ना नानीबाबुहरूलाई त्यसमा राख्नुहोस् । त्यसपछि तपाईं कुनै मोटरकारको ध्वनिलाई नक्कल गर्दै होसियारीपूर्वक वरिपरि धकेल्ने वा तान्ने गर्नुहोस् । यस्तो क्रियाकलापबाट नानीबाबुहरूले नयाँ खेलौनाको अनुभव प्राप्त गर्नका साथै घरको वरिपरि यसरी यता(उता जान पाउँदा खुसी हुनेछन् । तपाईंले पनि शारीरिक कसरतको मौका पाउनु हुनेछ । यदि तपाईंको घरमा धेरै खाली ठाउँ छैन भने तपाईंले केवल बाकसलाई दायाँ बायाँ हल्लाएर मोटर कारको ध्वनि मात्र भए पनि निकाल्न सक्नु हुन्छ ।

किचेन ड्रमर
यसको लागि सबै भन्दा पहिला भान्साबाट केही नफुट्ने वा नटुक्रिने किसिमका कचौरा, भाँडा र प्यानहरू ल्याउनुहोस् । तिनीहरूलाई मिलाएर ड्रमसेटको शैलीमा राख्नुहोस् । ड्रम बजाउनको लागि ड्रम स्टिकको रूपमा प्रयोग गर्न केही काठबाट बनेका पन्यूहरू ल्याउनुहोस् । अब तपाईंका नानीबाबुहरू आफैले रमाउँदै सो काठका पन्यू र भाँडाहरू बजाएर नयाँ–नयाँ ध्वनिहरू निकाल्नेछन् । यसले पनि तपाईंको शिशुको सूक्ष्म अङ्गको विकास गर्दछ ।

स्वतन्त्र चित्रण
आफ्ना नानीबाबुहरूलाई मैनका रङहरू र एउटा खाली कागज दिनुहोस् । अब उनीहरूलाई इच्छाअनुरूपको चित्रहरू बनाउन लगाउनुहोस् । यसले तपाईंका नानीबाबुहरूको सिर्जनात्मक कला उजागर गर्नुको साथै आफै रमाउन सिकाउँछ । जब उनीहरूले चित्र कोरेर सक्छन्, उनीहरूले चित्र बनाउँदा प्रयोग गरेका विभिन्न रङहरूको बारेमा उनीहरूसँग कुरा गर्नुहोस् ।

भकुण्डो पास
एउटा नरम प्रकारको भकुण्डो ल्याउनुहोस् । अब तपाईं र तपाईंका नानीबाबुहरू केही छोटो दूरीको फरकमा आमने सामने गरी बस्नुहोस् । त्यसपछि सो बललाई पालै–पालो एक–अर्को तर्फ पास गरेर खेल्नुहोस् । यसले तपाईंका नानीबाबुहरूको आत्मविश्वास बढाउनुका साथै हरेक क्रियाको जवाफ वा प्रतिक्रिया दिन सिकाउँछ । यसलाई अझै रमाइलो बनाउन अर्को भकुण्डो थप्नुहोस् र उनीहरूले कुनै एउटा छनोट गरेपछि उनीहरूसँग सो छनोटमा परेको भकुण्डो बारे कुरा गर्नुहोस् ।
३–४ वर्ष उमेरका बालबालिकाका लागि

विभिन्न वेशभूषा र पहिरन
केही फरक–फरक किसिमका कपडाहरू लिनुहोस् ।आफ्ना नानीबाबुहरूलाई ती कपडाहरूबाट विभिन्न वेशभूषा र पहिरन बनाउन लगाउनुहोस् । त्यसपछि उनीहरूले छानेको पहिरनको आधारमा सँगै खेल्नुहोस् । पक्कै पनि तपाईंहरू सबैले अपूर्व अनुभव गर्न सक्नुहुनेछ ।

म तिमीलाई समात्छु ।
घरभित्र वा वरिपरि खाली ठाउँमा नानीबाबुहरूलाई दौडन लगाउनुहोस् र आफूले उनीहरूलाई समात्ने प्रयास गर्नुहोस् । यो खेलले तपाईंका नानीबाबुहरूलाई धेरै थकाउनेछ । त्यसैले खेल खेलिसकेपछि उनीहरूलाई छोटो समयको लागि सुताउन पनि सक्नुहुनेछ ।

आवाज पत्ता लगाऊ
आफ्नो शिशुलाई फरक–फरक जनावरहरूको आवाजको नक्कल गरेर सुनाउनुहोस् । उसलाई त्यो आवाज कुन जनावरको हो भनेर चिन्न लगाउनुहोस् । अब त्यसरी नै उसलाई पनि जनावरहरूको आवाजको नक्कल गर्न प्रोत्साहित गर्नुहोस् र आफूले सो जनावरको नाम बताउनुहोस् । यसले आवाज नक्कल गर्दा छनोट गर्नुभएका जनावरहरूको बारेमा नानीबाबुहरूलाई अझ धेरै जानकारी दिने अवसर प्रदान गर्नेछ ।

बाल चुनौती
बालबालिका आफ्नो शारीरिक परिपक्वतासँगै चुनौतीहरू सामना गर्न मन पराउँछन् । त्यसैले आफ्ना नानीबाबुहरूलाई आफ्ना पाखुरा उठाउने, हातले गोडाका औँलाहरू छुने जस्ता गाह्रा निर्देशनहरू दिनुहोस् । यसले तपाईंका बालबालिकालाई शरीरका अङ्गहरूको नाम थाहा पाउन र उनीहरूको शारीरिक क्षमताहरूको पहिचान गर्न सहयोग पु¥याउँदछ ।

५–८ वर्ष उमेरका बालबालिकाका लागि
अवरोधपूर्ण दौड
नरम र सुरक्षित किसिमका फर्निचर, सिरानी र खेलौनाहरूको प्रयोग गरेर ठाउँ–ठाउँमा अवरोधहरू बनाउनुहोस् । शुरूमा कसरी यी अवरोधहरूबाट बचेर दूरी पार गर्न सकिन्छ भनेर आफ्ना नानीबाबुहरूलाई देखाउनुहोस् । त्यसपछि उनीहरूलाई जति सक्दो चाँडो सो दूरी पूरा गर्न प्रोत्साहन गर्नुहोस् । यसको लागि घडी हेरेर दौडिन लगाउनुहोस् । हरेक पटक उनीहरूलाई आफूले अघिल्लो पटक पार गरेको समयभन्दा कम समयमा दौड पूरा गर्न अभिप्रेरित गर्नुहोस् ।

खेलौनाको सरसफाइ
एउटा बाल्टिनमा पानी भर्नुहोस् । त्यसमा आफ्ना नानीबाबुहरूको खेलौनाहरू डुबाएर पानीसँग खेल्दै नरम कपडाले खेलौनाको सरसफाइ गर्न लगाउनुहोस् ।

कथा बनाउन लगाउनुहोस्
आफ्ना बालबालिकालाई नेतृत्व गर्न दिनुहोस् र उनीहरूलाई कुनै काल्पनिक कथा बनाउन लगाउनुहोस् । उनीहरूको कुरा राम्ररी सुन्नुहोस् । उनीहरूले बनाएका काल्पनिक दुनियाँहरूको बारेमा प्रश्न सोध्नुहोस् ।

सँगै खाजा बनाउनुहोस्
तपाईंले आफ्नो परिवारको लागि खाजा तयार गर्दा आफ्ना नानीबाबुहरूलाई पनि सहयोग गर्न अभिप्रेरित गर्नुहोस् । सकेसम्म धेरै रङका खानेकुराहरू प्रयोग गर्ने चुनौती दिनुहोस् । खाजा तयार भएपछि पनि उनीहरूको क्षमता र इच्छा अनुसार प्लेटमा खाजा सजाउन दिनुहोस्। आफ्ना स्वादिलोसिर्जनासँग उनीहरू पक्कै खुसी र गौरवान्वित हुनेछन् । (युनिसेफबाट)

khel 1 khana padai