• अनिल श्रेष्ठ

विराटनगर/ औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरू मोरङका सीमावर्ती नाका हुँदै भारतबाट नेपाल तस्करी भइरहेको पाइएको छ ।

दुई देशीय नाकामा आवत–जावतमा रोक लगाइएको भए पनि सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छल्दै विभागमा दर्ता नै नभएका र नेपालमा पाइने औषधिहरू पनि अवैधरूपमा तस्करी हुने गरेको पाइएको हो । औषधि व्यवस्था विभागमा दर्ता नभएका डिडेजाइसमेण्ट ५ सय एमजीका इन्जेक्सन र विभागमा दर्ता भएका नेपालमा पाइने टाइजेबेस्ट, बक्सल्टन, ह्युमेन रेविज इमिनोग्लोवुलिन, भासप्रेसन इन्जेक्सन, ल्याबेटालटोल इन्जेक्सन, म्यारोपेनेन इन्जेक्सनको तस्करी हुने गरेको छ ।

औषधिको लेबल प्याकेजिङ पनि तस्करी हुने गरेको छ । यस क्षेत्रका जानकारहरूका अनुसार तस्करी धन्दामा लागेका गिरोहले भारतबाट अवैधरूपमा नक्कली औषधि ल्याएर लेबल लगाएर प्याकेजिङ गरेर दोब्बर मूल्यमा बिक्री गर्दछन् । दोब्बर मुनाफा आर्जन गर्ने उद्देश्यले औषधिको तस्करी धन्दामा लागेका हुन् । केही वर्षअगाडि भारतबाट अवैधरूपमा विराटनगरसहित पूर्वी शहरमा नक्कली औषधिको तस्करी गर्ने गिरोहलाई प्रहरीले रङ्गेहात पक्राउ गरेसँगै तस्करी नियन्त्रणमा आएको थियो । अहिले आएर पुनः सीमावर्ती क्षेत्र हुँदै भारतबाट प्रदेश १ को राजधानी विराटनगरमा औषधि तस्करीको धन्दा सल्बलाएको बुझिएको छ ।

सीमाक्षेत्रमा ठूलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिए पनि सीमावर्ती नाकाहरूबाट खुलेआम अवैधरूपमा औषधि तस्करी हुने गरेको हो । प्रहरीले केही दिनअगाडि विराटनगर महानगरपालिका– १६ बाट ठूलो परिमाणमा औषधि र मास्क बरामद गरेपछि दुई देशीय नाकामा आवत–जावतमा रोक लगाइएको भए पनि तस्करी धन्दा रोकिएको छैन । नेपाल–भारत सीमाक्षेत्रको दशगजानजिकै रहेको सीता तामाङको खाली घरमा बाहिरबाट ताला लगाउँदै लुकाएर राखेको अवस्थामा प्रहरीको क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले औषधि र मास्क बरामद गरेको थियो ।

तस्करीमा संलग्नले अवैधरूपमा ल्याएपछि दशगजानजिकै बनाइएका घरमा स्टक गरेर राख्ने र सुरक्षाकर्मी अन्तै व्यस्त भएको मौका छोप्दै सीमा कटाउने गरेको पाइएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख इन्स्पेक्टर दीपक थापाले बताए । दशगजानजिकैको घरबाट औषधि र मास्क बरामद भएपछि तस्करले अपनाउने गरेको नयाँ उपायका बारेमा थाहा भएको उनको भनाइ छ । ‘औषधि स्टक गरेर राखिएको विशेष सूचनाका आधारमा दशगजा नजिकैको खाली घरमा छापा मार्दा भारतबाट तस्करी गरेर ल्याइएको ठूलो परिमाणको औषधि बरामद भयो’ उनले भने, ‘भारततिर तस्करी गर्न तयारी अवस्थामा राखिएको मास्क पनि त्यही घरबाट बरामद भएको छ ।’

बरामद भएको औषधि र मास्क ८ लाख २८ हजार ९ सय ९५ रुपैयाँ मूल्य बराबरको रहेको छ । तस्करीमा संलग्नले भारतबाट ल्याएर अस्पताल र औषधि पसलमा बिक्री गर्छन् । भारतमा सस्तोमा औषधि खरिद गरेर अवैधरूपमा नेपालमा ल्याएपछि दोब्बर बढी मूल्यमा बिक्री हुने गर्दछ ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव कट्टेल विभागमा दर्ता नभएका औषधि ल्याउन पूर्णरूपमा प्रतिबन्ध रहेको बताए । केही दिनअगाडि प्रहरीले बरामद गरेको ३ प्रकारको औषधि विभागमा दर्ता नभएको र विभिन्न ५ प्रकारका औषधि विभागमा दर्ता भए पनि अवैधरूपमा ल्याएपछि बरामद गरिएको उनले बताए । अवैधरूपमा हुने औषधिको तस्करी प्रहरी प्रशासन र सबैको साथ सहयोगले नियन्त्रण गरिनुपर्ने बताए । बरामद भएको औषधि शरीरभित्र हुने सङ्क्रमण रोक्न र मुटुको समस्या भएका बिरामीले तथा बच्चा जन्माउने बेलामा प्रसव पीडा भएका महिलामा प्रयोग गर्ने औषधिहरू रहेको बताइएको छ ।

तस्करी रोक्न माग राख्दै ज्ञापन–पत्र
नेपाल औषधि व्यवसायी सङ्घ मोरङले अवैधरूपमा भारतबाट हुने औषधिको तस्करी रोक्न माग राख्दै प्रहरी र औषधि व्यवस्था विभागमा ज्ञापन–पत्र बुझाएका छन् । सङ्घका पदाधिकारीहरूले मोरङ प्रहरी र औषधि व्यवस्था विभाग विराटनगरमा अवैध आयात रोक्नुपर्ने माग राख्दै ज्ञापन–पत्र बुझाएका हुन् ।

औषधि व्यवयासी सङ्घ मोरङ शाखाका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देबन्धु ढकाल र महासचिव दिनेश ठाकुरले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारी र औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव कट्टेललाई भेटेर ज्ञापन–पत्र बुझाएका छन् ।