• रमेश योङ्हाङ

हाल वैश्विकस्तरमा प्रतिष्ठा मिलेको एक मात्र पूर्वीय दर्शन योग दर्शन जसको एक अंश योगाभ्यासबाट मुस्लिम राष्ट्रहरू पनि अछुतो देखिन्नन्, पश्चिमा देशहरूमा लकडाउनभरि योगको अनलाइन कक्षा सञ्चालन गरेर राम्रो व्यापार गरे । आज अन्तर्राष्ट्रिय योग दिवस भएको हुनाले प्रायः सबै देशमा योगा डे मनाइँदै छ ।

योग दर्शनअनुसार मानव चित्तको स्वभाव भनेको जब मानवका इन्द्रीयहरूको माध्यमबाट चित्तको सम्पर्क कुनै बाहिरी वस्तुहरूसँग हुन्छ, त्यसपछि चित्तद्वारा त्यही वस्तु र विषयको आकार ग्रहण गर्छ यसलाई चित्तवृत्ति भनिन्छ र त्यो आकारले नै मानव जीवनमा कठिनाइहरू उत्पन्न गर्छ । ती समस्त प्रकारका आकारहरूलाई चित्तबाट पृथक गर्नु वा चित्तवृत्तिको निरोध लाई नै योग भनिन्छ । यसको निम्ति यम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान र समाधि हुँदै चित्तवृत्तिको निरोध गर्दै मोक्ष प्राप्त गर्नलाई अष्टाङ्ग योगको अभ्यास गर्नु पर्दछ ।

यस प्राचीन दर्शनलाई कम्पाइल गर्ने महर्षि पतञ्जलिका अनुसार मोक्ष प्राप्त गर्नुअघि योग मार्गबाट साधकलाई केही बोनस पनि मिल्ने गर्छ, जसलाई योगमा विभूति वा अष्टसिद्धि भनिन्छ । यदि यसैमा योगीले गर्व गरेर धन्दा गर्न थालेमा यसलाई योग दर्शनले मोक्ष प्राप्तिको वाधक मान्छ । यसको चमत्कारिताको बारेमा भने विज्ञान र योगबीच ठूलो विवाद जारी छ, तर सच्चा तपस्वी भएमा यो सिद्धि मिल्ने योग दर्शनले ठोकुवा गर्छ । तर केही इतिहास र वर्तमान हेर्दा धेरै ठूला ठूला सिद्ध मानिएका भारतका केही गुरूहरू केही चमत्कार गरेर मान्छे प्रभावमा पार्ने तर मोक्षको मार्ग छोडेर व्यापार र यौन विलासितामा तल्लीन देखिन्छन् ।

ती आठ सिद्धिहरूमा १.अणिमा–अणु समान आकार हुनु, २.लघिमा–प्वाँखजस्तो हलुको महसुस हुनु, ३.महिमा–चाहेअनुसार आकार प्राप्त गर्नु, ४. प्राप्ति–भौतिकजगत्को चाहेको वस्तु प्राप्त गर्नु, ५. प्राकाम्य–जे कामना ग¥यो त्यो पूरा हुनु, ६.वशित्व–मान्छेहरू आफ्नो वशमा पार्न सक्नु, ७. ईशित्व–वशित्वको माध्यमबाट समाजमा आफ्नो नियन्त्रण स्थापित गर्नु, आठौं सिद्धि कामावायित्वबाट योगीले गरेका सबै सङ्कल्प पूरा हुनेछन् । यो सब सुन्दा रामायण कथाको ठ्याक्कै अष्टसिद्धि हनुमानको सबै गुण हुनेजस्तो देखिन्छ ।

भगवान गौतम बुद्धका दुई गुरूहरू अलार कलाम र रूद्रक रामपुत जो साङ्ख्या र योग सूत्रसँग सम्बन्धित व्यक्तिहरू थिए । यी दुई दर्शन एक एक–अर्काका पूरक मानिन्छन् । किनकि साङ्ख्य दर्शनको आफ्नै ज्ञान मीमांसा छैन भने योग दर्शनको आफ्नो तŒव मीमांसा छैन । त्यसैले एकले अर्काको शाखा प्रयोग गर्छन् तर साङ्ख्याले भनेको यस जगत्को २५ तŒवमा एक तŒव ईश्वर थपेर २६ तŒवलाई योग दर्शनले मान्यता दिन्छ ।

गीतामा स्वयम् भगवान कृष्णले पनि कार्यमा कुशलता नै योग हो भनी यी दुई दर्शनको चर्चा गरेका छन् । साङ्ख्याको प्रणेता कपिल मुनिलाई सर्वश्रेष्ठ भनी प्रशंसा गरेका हुनाले वासुदेव आफै यस दर्शनबाट धेरै प्रभावित थिए या महाभारतका रचनाकार प्रभावित थिए । तपाई आफै कल्पना गर्नु होला ।

बाबा रामदेवले पनि आसन र प्राणायाम अष्टाङ्ग योगका दुई चरणलाई सरलताका साथ अभ्यासमा ल्याएर निकै लोकप्रिय छन् । हाम्रा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले पनि फक्ताङलुङ हिमालमा लामो ध्यान बसेर ज्ञान प्राप्त गरेको चर्चा छ तर उनले कुन विधि प्रयोग गरे उनले माइन्युटली विकास गरेका कुनै विधिहरू भेटिएका छैनन्, त्यही पुरानै येवा र साम्बाहरूले प्रयोग गर्ने प्राचीन लिम्बू मुन्धुमलाई नै मान्यता दिँदै त्यसैमा अनुशासनलाई थप जोड दिएको देखिन्छ ।

सायद त्यस समयमा राणा शासकहरूले नयाँ कुरा बन्देज गरेको हुनाले पनि त्यसो भएको हुन सक्छ । तर उनकै पहलमा वि.सं. १९८८ तिर याक्थुङहरूको सामाजिक सुधारको निम्ति जारी मुचुल्कामा उल्लेखित युमा र थेवाको माङ्हिमहरू बनाउने, प्रत्येक बच्चाहरूलाई अनिवार्य शिक्षा, अधिक खर्चालु संस्कारमा सुधारलगायतका आठ–दशवटा बुँदाहरू चाहिँ गजबका छन् । तर हाल आएर उनका कट्टर अनुयायी हामीहरू उनले भनेको मार्गमा हिँड्दै छौं या के गर्दैछौं, एक पटक समीक्षा गर्नै पर्छ ।

तर महर्षि पतञ्जलिद्वारा चाहिँ योग एक प्रयत्न मात्र भएको भनी मानवको चित्त वा कन्सियसनेस बारे कार्ल माक्र्स र सिग्मण्ड फ्रायडभन्दा धेरै गहिरो अध्ययन गरेको देखिन्छ । मानव चित्त सत्व, रजो र तमो तीन गुणले युक्त हुन्छ र मानव शरीरभित्र यिनै तीन गुणको प्रधानता रहन्छ, रजोगुण इनर्जी वा ऊर्जा मात्र हो ।

यसको हलचल गर्नेबाहेक कुनै विशेषता हुँदैन भने सत्वगुण भन्नाले सकारात्मक ‘पोजेटिभिटी’ वा सही तŒव हुनु हो र तमोगुण भन्नाले ‘नेगेटिभिटी’ नकारात्मक हो। जब रजोगुण र सत्वगुण मिलेको खण्डमा त्यो मान्छे भगवान बुद्ध पनि हुन्छ, तर त्यही रजोगुण तमोगुणसँग संयोजन हुँदा रावण वा हिटलर पनि हुन्छ । यही ऊर्जा र चेतनाको संयोगबाट यो युनिभर्समा चित्तको पाककञ्च अवस्था–क्षिप्त, मुढ, विक्षिप्त, एकाग्र र निरूद्ध आउँछ भनी लामो व्याख्या गरेका छन् ।

साथै उनका अनुसार ५ चित्त वृत्तिमा –प्रमाण, विपर्यय, विकल्प, निन्द्रा, स्मृति पर्छन् र चित्त वृत्तिलाई फेरि दुई भागमा वर्गीकरण गरेको पाइन्छ ।

(क) क्लिष्ट वा कठिन र (ख)अक्लिष्ट वा सरल,
क्लिष्ट चित्तवृत्तिलाई बन्धनको कारण मानिन्छ । यसले मान्छेलाई राग, धन वा क्लेसतिर धकेल्छ, तर जब अक्लिष्ट चित्तवृत्ति हाम्रो मनमा रहन्छ लोभ, मोह, सुख आदिको आशक्तिको प्रभाव शून्य हुनेछ । यसले मान्छेलाई मोक्षको बाटोमा लानेछ र सत्व गुणको मात्र प्रशान्त प्रवाह हुनेछ । त्यसैले यी सबै क्लेशहरूबाट मुक्त हुनु आवश्यक हुनेछ ।
ती क्लेशहरूमा अविद्या, अस्मिता, राग, द्वेष, अभिनिवेश भनी ५ प्रकारका क्लेशलाई विभाजन गरिएको छ, चाहे टाउको दुखेको या त पैसाको अभाव होस् वा रिस उठेको होस् वा कसैको मृत्युको कारणले दुःख लागेको होस् । यस्ता सबै प्रकारका कष्टहरूलाई माथिको पाककञ्च प्रकारको क्लेशमा समावेश गरिएको छ ।

यसमा मूलतः अविद्यालाई क्लेशहरूको मूल कारण मानिएको छ । यसमा अनित्यलाई नित्य, दुःखलाई सुख सम्झिने मिथ्या ज्ञानलाई अविद्या भनिएको छ, दुःख दिने वस्तुहरू नै सुखको साधन सम्झिनु पनि अज्ञानता भनिएको छ । सुखको चिजमा अत्यधिक आशक्ति हुनु राग हो, यो राग र कुनै पनि दुःखको कारणबाट आउने द्वेशबाट बाहिर निस्केपछि मात्र योगको समाधिसम्म पुग्न सम्भव हुने बताइन्छ । मात्र शारीरिक सुख र जीवनप्रति अत्यधिक लगाव हुनु वा मृत्युप्रति अत्यधिक भय हुनुलाई नै अस्मिता र अभिनिवेश भनिन्छ । यी सबै क्लेशबाट मुक्त हुनु वा चित्तवृत्तिको निरोध गर्न अष्टाङ्ग योगलाई साधनको रूपमा अभ्यास गर्नुपर्नेमा पतञ्जलि जोड दिन्छन् ।

यसमा १.यम–भन्नाले सत्य, अहिंसा, अस्तेय(चोरी नगर्नु), अपरिग्रह–अनावश्यक धन सञ्चयमा लोभ नगर्नु), ब्रह्मचर्य–पारिवारिक जीवनमा संयमता),
२.नियम–शौच (पवित्र मन वा शरीर), सन्तोष, तप–कष्ट द्वारा विचलित नहुनु), स्वाध्याय–मनको चञ्चलता रोक्नु), प्रणिधान(आफ्नो कर्मको घमण्ड त्याग्नु)
३.आसन–यम र नियमको पालनापछि मन शान्त हुनेछ र कुनै आसनमा बसेर साधनाबाट श्वासलाई नियन्त्रण गर्नु ।
४.प्राणायाम–यसका तीन चरण छन्, पूरक (लामो श्वास लिनु), कुम्भक (श्वासलाई केही समय रोक्नु), रेचक (श्वास बाहिर निकाल्नु),
५.प्रत्याहार–लगातारको प्राणायामपछि बेला–बेला ज्ञानेन्द्रयीबाट आउने डिस्टर्वलाई रोक्नु ।
६.धारण–मनलाई सबै वस्तुको ध्यानबाट हटाएर एकाग्र भएर कुनै विषयको या कुनै प्रकाश ज्योतिको कल्पना गर्नु ।
७.ध्यान–लगातार त्यो ज्योतिको कल्पना गरेपछि बन्द आँखाको बीच भागमा एक ज्योति आएपछि त्यो ज्योतिपुञ्जमा निरन्तर आफ्नो धारण स्थायी बनाइराख्नु ध्यान हो ।
८.समाधि–यो दुई प्रकारको छ । दुनियाँका सबै चिजबाट मुक्त भएर केवल त्यो ज्योति मात्र देख्नु ‘संप्रज्ञात समाधि’ हो, फेरि त्यो ज्योति म आफै देख्दैछु भन्ने भाव पनि समाप्त हुनु वा सम्पूर्ण हाम्रो स्वरूप त्यो ज्योतिपुञ्जमा मिलेर त्यो परम्शक्तिसँग एकाकार हुनु ‘असंप्रज्ञात’ समाधि मानिन्छ । कसैले यसलाई कुण्डलिनी जगृत पनि भने । अतः योग अभ्यास आम जनमानसको लागि खुला बाटो हो ।

यसलाई तपाई आफै व्यावहारिक अनुभव पनि गर्न सक्नुहुन्छ, जति अघि बढ्दै जानुहुन्छ, तपाईको शक्ति, चेतना वा आत्मा उति शक्तिशाली हुनेछ । यस्तो योग दर्शनको दाबी छ । यो लेख अत्यन्त लामो हुनजाने हुनाले चित्तको ५ अवस्था र चित्तवृत्तिको बारे समावेश नगरिएकोले अपूरोजस्तो भएको छ तर यसबारे कुनै दिन चर्चा गरौंला ।
–धरान, (हाल: बेलायत)