• सन्देश सुब्बा

पाँचथर / जिल्लामा चोरी सिकारी गर्ने प्रवृति बढ्दै गएको पाइएको छ । चोरी सिकार गर्ने कार्यलाई कानूनले बन्देज गरेको छ । तर पनि जिल्लाको ग्रामिण क्षेत्रहरुमा लुकिछिपी जंगली पशुपंक्षिको सिकार खेल्ने प्रवृति बढेको स्थानीयले बताएका छन् ।

वनजंगलमा पाइने मृग, दुम्सी, सालक, कालिजजस्ता जंगली पशुपंक्षिको चोरी सिकार हुने गरेको हो । समूह बनाई दिनदहाडै भरुवा बन्दुकको प्रयोग गरी चोरी सिकार हुने गरेको फिदिम नपा–६, सिवाका मनकुमार लिम्बूले बताए । ‘स्थानीय प्रशासन छ, प्रहरी छ, स्थानीय सरकार छ, तर पनि खुलेआम चोरी सिकार हुने गरेको छ’–उनले भने ।

सोही स्थानका स्थानीय दिवश लिम्बूका अनुसार केही वर्ष अघिसम्म स्थानीय वनजंगलमा प्रशस्तै मृग र कालिज पाइन्थे । जसले वन जंगलको शोभा बढाएका थिए । तर चोरी सिकारीको बिगबिगिले मृग र कालिज जस्ता जंगली पशुपंक्षि देख्नै मुस्किल हुँदै गएको उनले बताए । ‘दिउँसै भरुवा बन्दुक बोकेर सिकार खेलिरहेका हुन्छन्’ उनले भने ।

जिल्लाको फालेलुङ गाउँपालिका ८ नं. वडा कार्यालयले केहि समय अघि चोरी सिकार गर्ने प्रवृति बढेको भन्दै त्यसको रोकथामका लागि स्थानीय रेडियो मार्फत् सूचना नै प्रशारण गरेको थियो । वडा अध्यक्ष पदमकुमार फागोका अनुसार वडा कार्यालयले एक समिति नै बनाएर चोरी सिकार नियन्त्रणका लागि कदम चालेको छ ।

‘पहिलो चरणमा हामीले चोरी सिकारी गर्नेलाई सम्झाई बुझाई गर्ने र दोस्रोपल्ट पनि भेटिएमा कानून अनुसार कारबाही गर्ने नीति लिएका छौं’ वडा अध्यक्ष फागोले भने ‘वडा सरकारको यो कदमले चोरी सिकार गर्ने चलन घटेको छ ।’ जिल्लाको ग्रामीण क्षेत्रहरुमा लोपोन्मुख जंगली पशुपंक्षिको चोरी सिकार हुने गरेको छ ।

मनोरञ्जनका लागि, मासुका लागि र लोपोन्मुख जंगली पशुपंक्षिका शरीरका विभिन्न अंगको ब्यापारका लागि चोरी सिकार हुने गरेको फालेलुङ–५, प्राङ्बुङ्का मोतिहाङ केरुङले बताए । सालकको खपटा, हुचिलको खुट्टा लगायतका अंगहरु महंगो मूल्यमा अबैध रुपमा बिक्री हुने भएकाले त्यस्ता जीवजन्तुको खोजी–खोजी चोरी सिकार हुने गरेको उनले बताए ।

गाउँघरमा चोरी सिकार हुने गरे पनि प्रहरीसम्म सूचना आइनपुग्ने हुनाले चोरी सिकारमा संलग्नलाई कारबाही गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, इन्स्पेक्टर रोमनराज अर्यालले स्वीकारे । चोरी सिकार भइरहेको जानकारी प्राप्त भए अथवा सबुत सहित भेटिए कारबाही हुने इन्स्पेक्टर अर्यालले बताए ।
बर्षेनी ४० देखि ५० वटासम्म भरुवा बन्दुक प्रहरीले जफत गर्ने गरेको पनि उनले बताए । चोरी सिकार नियन्त्रणका लागि जिल्ला वन कार्यालयले विभिन्न गतिबिधिहरु सञ्चालन गर्ने गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक बर्षमा अबैध रुपमा सालकको खपटा ओसार–पसारमा संलग्न दुई जना बिरुद्ध अदालतमा मुद्धा दायर भएको छ ।

उद्यपी जिल्लामा चोरी सिकार गर्ने प्रवृति घट्नुको साटो बढ्दै गएको पाइएको छ । यसप्रति सरोकारवालाले चिन्ता ब्यक्त गर्दै आएका छन् । चोरी सिकार गरेको पाइएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कारबाही हुन्छ । चोरी सिकारको प्रकृति र घटना हेरेर कारबाही हुने प्रावधान छ ।
तर चोरी सिकारमा संलग्नलाई कानूनी कारबाही गरिएको घटना भने जिल्लामा अत्यन्त न्यून मात्र छ । चोरेर सिकार गरिने भएकाले सबुत सहित भेटिन गाह्रो भएकाले कारबाही गर्न नसकिएको प्रहरीको भनाई छ ।

बन्दाबन्दीको मौकामा मौलाउदै चोरी सिकार
जिल्लामा बन्दाबन्दीको समयमा चोरी सिकार मौलाएको पाइएको छ । विश्वब्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि २०७६ चैत ११ देखि सरकारले लकडाउन अर्थात् बन्दाबन्दी गरेको छ । अध्ययन र रोजीरोटिको सिलसिलामा सहर, बजार क्षेत्रमा रहेका मानिस गाउँ पुगेका छन् । यहिं मौकामा बन्दाबन्दीको समेत उलङ्घन गरेर मानिसहरु चोरी सिकारमा संलग्न हुने गरेको मिक्लाजुङ–१, सराङडाँडाका मनकुमार आङ्देम्बेले बताए ।

‘सहरबाट गाउँ पुगेकाहरु समूह बनाएर चोरी सिकार गर्ने गरेको देखिन्छ’ उनले भने । बन्दाबन्दीले गर्दा गाउँ पुगेकाहरु बन्दाबन्दीको प्रवाह नगरी अनावस्यक भेला हुने, मनोरञ्जनका खेलहरु खेल्ने र चोरी सिकार गर्ने गरेको जिल्लाको फिदिम–१०, याङ्नामका मनेन्द्र केरुङले बताए ।