इटहरी/ जेठ २७ गते सामान्य घरायसी विवादमा धरानकी ३४ वर्षीया अनिता तामाङले सलको पासो लगाई आत्महत्या गरिन् । जेठ २६ गते सुनसरी रामधुनी नगरपालिकाकी २१ वर्षीया अस्मिता चौधरीले पनि आत्महत्याकै बाटो रोजिन् । दुवैको आत्महत्याको प्रकृति हेर्दा एकै किसिमको पाइयो ।

मुख्यतः रिसको आवेगकै कारण उनीहरूले जीवन समाप्तिको बाटो रोजेका थिए । त्यसो त लकडाउनकै समयमा वैशाख २ गते रामधुनीकै झुम्काका ११ वर्षीय उत्सव श्रेष्ठले आत्महत्याको बाटो रोजे । कारण जे भए पनि दैनिकजसो आत्महत्याका घटना प्रहरीकहाँ आउने गरेका छन् । वैशाख २९ गते इटहरी–१ आँपगाछीका हरि कार्कीले श्रीमतीसँगको झगडामा आत्महत्या गरे ।

पछिल्लो समय आत्महत्या सामान्य घटनाजस्तो हुन थालेको छ । सामान्य विषयमा विवाद होस् या सानो कुराले मन दुखाउँदा होस् मानिसले आत्महत्यालाई विकल्पका रूपमा प्रयोग गर्न थालेको पाइन्छ । सुनसरीमा चैत्र ११ गते शुरु भएको लकडाउनयता मात्र ५५ जनाले आफ्नै कारण ज्यान गुमाइसकेका छन् । जसमध्ये ६ जनाले विष सेवन गरे भने अन्य सबैले झुण्डिएर आत्महत्या गरेका हुन् ।

कोरोना भाइरसको सन्त्रासले अहिले सम्पूर्ण विश्व त्रसित छ । तर सुनसरीमा भने दर्दनाक घटना दैनिक हुन थालेको छ । दैनिकजसो आत्महत्या र आत्महत्याको प्रयासको घटना दर्दनाक बन्दै गएको छ । सुनसरीमा पछिल्लो समय आएर आत्महत्याको घटनामा वृद्धि भएको हो । जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म २ सय ७ जनाले आत्महत्या गरेका छन् ।

लकडाउनको समयमा विष सेवन गरेर ६ जना र झुण्डिएर ४९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कले देखाउँछ । आत्महत्या गर्नेमा १२ वर्षदेखि २५ वर्ष उमेर समूहका मानिस बढी रहेका छन् । त्योसँगै वृद्धवृद्धाले समेत आत्महत्या गरेका छन् । घटना वृद्धि हुनुको कारण प्रेममा असफल, आर्थिक तनाव, घरायसी तनाव, परीक्षामा असफल, घरेलु हिंसालगायत रहेको प्रहरी बताउँछ ।

चालू आर्थिक वर्षमा १८ जना बालबालिकासहित २ सय ७ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा १ सय ६५ जनाले आत्महत्या गरेका थिए । जसमध्ये विष सेवनबाट ३९ जना र झुण्डिएर १ सय २६ जनाले आत्महत्या गरे । जसमध्ये १४ जना बालबालिका छन् । आर्थिक वर्ष २०७४/०७५ मा २२ जना बालबालिकासहित १ सय ९१ जनाले आत्महत्या गरेका थिए ।

आत्महत्याले समस्या निम्त्यायो : प्रहरी
सुनसरीमा बढ्दो आत्महत्याको घटना प्रहरीलाई टाउको दुखाइ बन्न पुगेको छ । सुनसरी प्रहरीले आत्महत्याको घटना न्यूनीकरण गर्ने लक्ष्य लिए पनि सफल हुन सकेको छैन । दैनिकजसो आत्महत्या सामान्य विषयलाई लिएर भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् । सुनसरीका प्रहरी प्रवक्तासमेत रहेका डिएसपी विनोद शर्मा भन्छन्, ‘दैनिक भइरहेको आत्महत्याले प्रहरीलाई थप चुनौती थपिएको छ ।’

दैनिकजसो आत्महत्या र हत्या प्रयासको घटना बढेको कारण प्रहरीलाई समस्या भइरहेको प्रहरी बताउँछ । अहिले लकडाउन उल्लङ्घन गर्नेहरूलाई कडाइ गर्ने प्रहरीहरू दैनिक लास उठाउनु जानु परेको डिएसपी शर्माले बताए । ‘खै अच्चम हुने गरी आत्महत्याको घटना बढ्यो’–डिएसपी शर्मा भन्छन् । सुनसरीमा आत्महत्याको ग्राफ बढेकोमा प्रहरीसमेत चिन्तित भएको उनले बताए ।

बालीनालीमा प्रयोग गरिने विषादी सेवन गर्ने र गाउँमा एउटाले आत्महत्या ग¥यो भने अरूले पनि झुण्डिनु पर्ने रहेछ भन्ने सोचाइले आत्महत्या हुने गरेको पाइएको प्रहरीको भनाइ छ । मङ्सिरपछि आत्महत्या बढेको प्रहरी तथ्याङ्कले देखाउँछ । अरूसँग प्रेम सम्बन्ध भएका महिलाहरू श्रीमान्लाई हिसाब दिनुपर्ने भएपछि विदेशबाट श्रीमान् आउने थाहा पाए भने पनि महिलाहरूले आत्महत्या गर्ने गरेको प्रहरीस्रोतले जनाएको छ ।

के भन्छन् मनोविद् ?
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक स्वास्थ्य विभागका प्रमुख मानसिक रोग विशेषज्ञ वैकुण्ठराज अधिकारीले आत्महत्याको विचार आउनेहरूले मनोचिकित्सकको सल्लाह लिँदा अधिकांश व्यक्तिलाई मद्दत गर्न सकिने बताए । समयमा उपचार गरे ८० प्रतिशत रोगको सही उपचार हुने अधिकारी बताउँछन् ।

सामाजिकरूपमा सक्रिय नहुने एकान्तमा बस्ने, मोबाइल, टेलिभिजन र इण्टरनेटमा धेरै व्यस्त हुने क्रम बढ्दै जाँदा स्वभाव नै परिवर्तन भई मानसिक समस्या आउने गरेको देखिन्छ । अपेक्षा पूरा नहुँदा, सोचेजस्तो नहुँदा र समयमै राम्रो परामर्शको अभावका कारण मानिस डिप्रेसनका विभिन्न चरण पार गर्दै आत्महत्याको चरणसम्म पुग्ने गरेको पाइएको वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.रोशन पोखरेलले बताए ।

मानसिक रोगलाई रोग नै नठान्ने गरिएका कारण पनि यसको निदान जटिल छ । रिस किन उठ्छ भन्नेतर्फ विचार गरेर रिस नियन्त्रणका उपाय समयमै अवलम्बन नगर्दा मानसिक स्वास्थ्यमा समस्या बढ्दै जाने उनी बताउँछन् ।