धरान । अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिंदै आएको सहयोग राशी रोक्ने घोषणा गरे लगत्तै भएको जी सेभेन राष्ट्रहरुको भर्चुअल मिटिङ्गमा पश्चिमाहरुले संगठनलाई सहयोग जारी राख्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई एक्लो भएको महशुस गरेका छन् ।

विश्वभरिका स्वास्थ्य अधिकारीहरुले ट्रम्पको निर्णयको निन्दा गर्दै २० लाख भन्दा बढी मानिसहरु संक्रमित भएको र १ लाख ४० हजार भन्दा बढीको ज्यान गएको यस्तो संकटको बेला ट्रम्पको कदम प्रति आपत्ति जनाएका छन् ।

विहीबार भएको जी सेभेनको बैठकमा नेताहरुले अन्तराष्ट्रिय एकताको लागि विश्व स्वास्थ्य संगठनलाई आफूहरुले सहयोग गर्ने बताएका छन् । एक घण्टा भन्दा बढी समय लिएको सो बैठकमा जर्मन चान्सलर एन्जेला मर्केलका प्रवक्ताले मर्केलले ‘ यो महामारीबाट विजय हासिल गर्ने एकमात्र उपाय सहकार्य र अन्तर्राष्ट्रिय स्तरको प्रतिक्रियाबाट मात्र सम्भव भएको ’ उल्लेख गरेको बताए । मर्केलले विश्व स्वास्थ्य संगठनलाई आफूहरुले सक्दो सहयोग गर्ने बताएको कुरा प्रवक्ताले सो भर्चुअल बैठकमा बताएका थिए ।  

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडिउले पनि भने –‘ अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय एकताको आवश्यकता भएको र विश्व स्वास्थ्य संगठनको सहकार्य र एकताको लागि  अपरिहार्य छ । हामीले यसप्रति उठिरहेको सवाललाई पनि बुझेका छौं , तर यो समयमा हामी साँच्ची नै एक भएर अगाडि बढ्नु नै महत्वपूर्ण कुरा हो । ’

गेटस फाउण्डेशनले सो बैठकमा अतिरिक्त १५० मिलियन यूरो सहयोग गर्ने कुराको घोषणा गरेको छ ।  

विश्व स्वास्थ्य संगठनलाई सबभन्दा बढी वार्षिक ४०० मिलियन डलरको योगदान गर्ने दाता अमेरिकाले  सो संगनका महानिर्देशक डा. टेड्रोस अधानम घेब्रेसियस कोभिड १९ शुरुवात भएको देश चिनसँग टक्कर लिन अनिच्छुक रहेको आरोप लगाउँदै आएको छ । जी सेभेनका भेलामा नेताहरुले विश्व स्वास्थ्य संगठनको चिनको सो भाइरसप्रति भूमिकाका विषयमा सशंकित रहेको बताउँदै तर पनि यस्तो  महामारीको बेलामा संगठनका नेताहरुलाई आरोप लगाउनु र यसको आर्थिक पक्षमा शंका गर्नु गलत कदम हुने बताएका छन् ।

सो बैठकमा बेलायतका निमित्त प्रधानमन्त्रीका रुपमा रहेका विदेश सजिच डोमिनिक रावले भाइरसको प्रकटका विषयमा गहिराईमा पुगेर समिक्षा गर्नु पर्ने आवश्यकता भएको बताउँदै यो समिक्षा विज्ञानले पुष्टि गर्ने गरी जानु जरुरी रहेको बताए । यूरोपियन युनियनका नेताहरुले अमेरिकाले सहयोग राशी रोक्ने घोषणा गरेपछि उत्पन्न हुने आर्थिक खाडललाई पुर्न आफूहरुले ८ विलियन डलर भन्दा बढीको बजेट तयार गर्ने प्रयास गरिने बताएका छन् । जी सेभेनका अर्थ मन्त्रीहरुले कम आय भएका गरीब मुलुकहरुलाई निश्चित ऋण दिने पनि बताएका छन् ।

यस भन्दा अघि मार्च १६ मा भएको जी सेभेनको बुलेटिनमा कोरोना भाइरसलाई वुहान भाइरस भनेर उल्लेख गर्ने चाहना अमेरिकाले गरेको थियो तर चिन, जापान, इटाली, फ्रान्स, बेलायत , क्यानडा लगायतले सो कुरा अस्विकार गरेका थिए ।