धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित राजस्व ढाटनजिकै रहेको डङ्फेङ शो रूममा ‘नामी भिगो’ नामक नयाँ कार लन्च गरिएको छ ।

इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन पराजुलीले कार लन्च गरे । सिर्जना मोटर्सका प्रबन्ध निर्देशक दीपेन्द्र चौधरीका अनुसार पहिलो पटक इटहरीमा नामी भिगो गाडी लन्च गरिएको हो । सेतो, सिल्भर र कालो रङमा उपलब्ध कारको बजार मूल्य ४१ लाख ९९ हजार रुपैयाँ रहेको छ । तर, लन्चको अवसरमा कारको मूल्य ४० लाख ९९ हजार रुपैयाँ पर्ने सिर्जना मोटर्सका इटहरी शाखा व्यवस्थापक तेजमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार लन्चको अवसरमा तीन दिनसम्म एक्सचेन्ज अफर पनि रहेको जनाइएको छ । यो कार्यक्रम इटहरी शाखामा मात्रै रहेको जनाइएको छ । अटोमोबाइल क्षेत्रमा चीनको चौथो ठूलो कम्पनी डङ्फेङबाट निर्मित गाडीले एक पटक चार्ज गरेमा डब्ल्युएलटिपी ३ सय ५० किलोमिटर माइलेज दिने जनाइएको छ । यसअघि उक्त शो रूमबाट नामी बक्स बिक्री गरिँदै आएको थियो ।