दशकभन्दा लामो समयदेखि जग्गा मुआब्जा विवादको भूमरीमा फसेको भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग परियोजनाले अन्ततः गति लिएको छ । कटहरीमा अन्तिम स्टेशन निर्माणको कामले तीव्रता पाएसँगै मोरङ–विराटनगर क्षेत्रका उद्योगी, व्यवसायी र आम नागरिकमा विकासको नयाँ आशा पलाएको छ । यो रेलमार्ग केवल एउटा पूर्वाधार मात्र नभई यस क्षेत्रको आर्थिक जीवनरेखा साबित हुने निश्चित छ । सन् २०११ मा सुरू भएको १८.६ किलोमिटर लामो यो परियोजना २०१८ मा सम्पन्न हुनुपर्ने थियो । तर, कटहरी क्षेत्रका जग्गाधनीहरु मुआब्जा रकममा असन्तुष्टि जनाउँदै अदालत जाँदा करिब ११ सय मिटर क्षेत्रको काम लामो समयसम्म ठप्प रह्यो । लामो कानूनी प्रक्रियापछि सर्वोच्च अदालतले मुआब्जासम्बन्धी रिट खारेज गरिदिएपछि मात्र निर्माणको बाटो खुलेको छ । ढिलो भए पनि कानूनी प्रक्रियाको टुङ्गो लाग्नु र निर्माण कम्पनी इर्कोन इन्टरनेशनल लिमिटेडले सक्रियता बढाउनु सकारात्मक सङ्केत हो ।

इर्कोनले कटहरीमा स्टेशन र यार्ड निर्माण हुने ६६ बिघा जग्गामा तारबार लगाउने काम सम्पन्न गरिसकेको छ । अब २० करोड ५६ लाख भारतीय रूपैयाँ (करिब ३२.८० करोड नेपाली रूपैयाँ) को लागतमा ६ फिट अग्लो माटो पुर्ने कामको ठेक्का प्रक्रिया अगाडि बढेको छ । यसलगत्तै करिब १९ करोड भारतीय रूपैयाँको लागतमा स्टेशन भवन निर्माणको बोलपत्र आह्वान हुने तयारी छ । भारतीय पक्षले एक वर्षभित्रै कटहरीसम्म कार्गो रेल सञ्चालन गर्ने लक्ष्य लिएको छ, जुन अत्यन्तै महत्वाकाङ्क्षी तर स्वागतयोग्य लक्ष्य हो । यो रेलमार्ग सञ्चालनमा आउनु विराटनगर क्षेत्रको औद्योगिक र व्यापारिक भविष्यका लागि ‘गेम चेन्जर’ साबित हुनेछ । यो रेलमार्ग सञ्चालनमा आउँदा कोलकाता र विशाखापट्टनम् जस्ता बन्दरगाहबाट सामान आयात गर्दा लाग्ने ढुवानी लागत उल्लेख्य मात्रामा घट्नेछ ।

मुआब्जा विवाद समाधान भई भौतिक निर्माणको काम अगाडि बढ्नुले परियोजनाले पूर्णता पाउने निश्चितप्रायः भएको छ । तर यसलाई निर्धारित समयभित्रै सम्पन्न गराउन नेपाल सरकारको तर्फबाट पनि निरन्तर अनुगमन र समन्वय आवश्यक छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारले अबको ध्यान रेल आएपछि त्यसको पूर्ण लाभ कसरी लिने भन्नेमा केन्द्रित गर्नुपर्छ । कटहरी स्टेशन वरपर गोदाम घरहरु, ट्रान्सपोर्ट हब र औद्योगिक पूर्वाधारको विकास गर्नेतर्फ तत्काल योजना बनाउनु अपरिहार्य छ । रेलमार्ग सञ्चालनमा आएपछि उत्पन्न हुने व्यापारिक अवसरहरुलाई अधिकतम् उपयोग गर्न आवश्यक नीतिगत सुधार र सहज वातावरण निर्माणमा ढिलाइ गर्नु हुँदैन । दशकौंको अवरोधबाट पाठ सिक्दै, अबको एक वर्षभित्र कार्गो रेल नियमित सञ्चालन गराउने भारतीय पक्षको लक्ष्यलाई सफल बनाउन सबै सरोकारवाला निकायले एकजुट भई काम गर्नुपर्छ । कटहरी रेलमार्गले मोरङ क्षेत्रमा विकास र समृद्धिको नयाँ अध्याय खोल्नेछ, यो अवसर अब गुमाउनु हुँदैन ।