हाम्रो बानी नै छ, केही समस्या नपरेसम्म चेकजाँच नगराउने। ‘मलाई के नै भएको छ र जाँच गराउन’ भन्ने एकथरि छन् भने अर्कोथरि चाहिँ ‘चेकजाँच गराउँदा केही भेटिएला र टेन्सन मात्र हुन्छ’ भन्ने किसिमका छन्। यही प्रवृत्तिले रोगहरुको समयमै पहिचान गर्न नसक्दा वा समस्यालाई सामान्य रुपमा लिँदा शरीरका अंगहरु कामै नलाग्ने अवस्थामा पुगेपछि मात्र बिरामी डाक्टरकहाँ पुग्ने गरेको देखिन्छ ।
हिँड्दाहिँड्दै गरेको स्वस्थ देखिने मानिसको मृत्यु हुनुमा स्वास्थ्यका धेरै समस्या हुन सक्छन्। कतिपय अवस्थामा लक्षणहरु देखिन्छन्, कतिपय अवस्थामा कुनै लक्षण देखिँदैनन्। तीमध्ये मुटुका समस्याहरु मुख्य हुन्। शरीर सुन्निदै जानु, बारम्बार रगत बान्ता हुुनु वा खकारमा रगत देखिनु मुटु, कलेजो, फोक्सो आदि फेल हुँदै जानुको लक्षण पनि हुनसक्छ। जसको समयमै उपचार गरे बिरामीलाई बचाउन सकिन्छ ।
मुटुको बाथ रोगले मुटुका भल्भहरुमा क्षति पुर्रुयाउँछ। आवश्यक उपचारको अभावमा त्यही भल्भको समस्याका कारण मुटुका कोठाहरु सुन्निदै जान्छन्। मुटु सुन्निदै जाँदा कमजोर हुन्छ र आवश्यक मात्रामा रगत पम्प गर्न सक्दैन, जसले गर्दा शरीर सुन्निदै जान्छ। शरीर सुन्निने क्रम खुट्टाबाट शुरु भएर माथिमाथि सर्दै जान्छ र अन्तमा शरीर पूरै सुन्निन पुग्छ। फोक्सोमा पर्ने असरले रगतका नलीहरु फुट्छन् र खोक्दा रगत देखिने समस्या सुरु हुन्छ। यही कमजोर मुटुका कारण जवान अवस्थामा नै मानिसको मृत्यु हुनसक्छ ।
नियन्त्रण बाहिरको उच्च रक्तचापले पनि मानिसको अचानक मृत्यु गराउँछ। तर, मानिसको मृत्यु उच्च रक्तचाप गर्ने नभई यसले पार्ने नकारात्मक असरले अंगहरु खराब भएर हुनेगर्छ। अनियन्त्रित रक्तचापले हृदयाघात, पक्षघात गराउन सक्छ। मुटुका मांसपेशीमा रक्त प्रवाह गर्ने रक्तनलीहरु साँघुरिँदै बन्द भई मुटुको मांसपेशीमा अक्सिजनको कमी हुन पुगेमा मांसपेशीहरु मर्न थाल्छन्, जसलाई हृदयाघात भनिन्छ। यस्तै, दिमागको रक्तनली साँघुरिई दिमागमा अक्सिजनको कमी हुन पुगेमा वा रक्तचापकै कारण दिमागभित्रका रक्तनली फुटेर रगत जम्न गएमा यसलाई मस्तिष्कघात भनिन्छ। यस्तो समस्या सानो भएमा बिरामीको तुरन्तै मृत्यु नहुन सक्छ तर अलि ठूलै घात हुन गएमा मानिसको तत्कालै मृत्यु हुन सक्छ ।
अनियन्त्रित रक्तचापकै कारण मुटुमा अत्याधिक चाप परेमा मुटुले आवश्यक पम्प गर्न सक्दैन। यसको प्रत्यक्ष असर फोक्सोमा पर्छ। मुटुले आवश्यक पम्प गर्न नसकेपछि फोक्सोबाट सफा भई मुटुमा फर्कनुपर्ने रगत फर्कन नसकी फोक्सोमै जाम हुन्छ र अचानक सास फेर्न गाह्रो भई बिरामीको तत्काल मृत्यु हुन सक्छ ।
विगत ४ वर्षदेखि उच्च रक्तचाप देखिएको तर केही पनि औषधि सुरु नगरेका एकजना वयस्क मकहाँ आइपुगे। विगत ४ वर्षदेखिको अनियन्त्रित रक्तचापले उनको एउटा आँखाको दृष्टि नै गुमेको रहेछ र आँखारोग विशेषज्ञको उपचारमा रहेछन्। आफूलाई कुनै लक्षण नभएकाले गर्दा रक्तचापको औषधि सुरु नगरेको बताउने उनको त्यही गल्तीले गर्दा दृष्टि गुमेकोमा पछुतो गर्दै बिलौना गर्दै्थिए।
उच्च रक्तचाप हुँदा प्रायजसो विभिन्न लक्षण देखापर्छन्। टाउको दुख्ने, चक्कर आउने, ढुकढुक बढ्ने, सास फेर्न गाह्रोे हुने आदि लक्षण देखिन्छ। तर, कतिपय अवस्थामा कुनै पनि किसिमका लक्षण नदेखिने र अन्य समस्या (जस्तैः दाँत उखेल्नुपर्दा, अपरेशन गर्नुपर्दा वा त्यस्तै अन्य समस्या) का लागि जाँच गर्दा उच्च रक्तचाप देखिन्छ ।
फलस्वरुप आँखाको दृष्टि गुमेको अवस्था, दुवै मिर्गौला फेल भइसकेको अवस्था, मस्तिष्कघात भएर शरीरका केही भाग नचल्ने अवस्थामा बिरामी आइपुग्छन्। कतिपय अवस्थामा अचानक सास फेर्न गाह्रो भएर इमर्जेन्सीमा आइपुगेको पनि पाइन्छ। त्यसैले आफूलाई कुनै लक्षण नभए पनि यदि बारम्बार रक्तचाप बढ्ने गरेको छ भने जतिसक्दो छिटो उपचार सुरु गरेको राम्रो हो। कतिपय अवस्थामा मानिसको माथिको रक्तचाप २५० पुगेको अवस्थामा पनि कुनै लक्षण नदेखिने हुन सक्छ।
मुटुकै विभिन्न रोगहरु तथा अन्य कारणले मुटुको चालमा गडबडी आउन सक्छ। यस्ता गडबडी धेरै किसिमका हुन्छन्। कुनै प्रकारको गडबडीले ढुकढुकीको अनुभव गराउँछ तर अरु केही समस्या हुँदैन। केही प्रकारको ढुकढुकीको गडबडीले भने मानिसको तत्कालै मृत्यु सम्म हुन सक्छ। मुटुको चालको यस्तो खतरानाक गडबडी छ भने पहिला धेरैपटक केही क्षणका लागि चक्कर आउने, ढल्ने, बेहोस हुने जस्ता लक्षण देखिएको हुनुपर्छ। यस्ता खतरनाक गडबडी प्रायः मुटुभित्रकै समस्याले हुनेगर्छ ।
हृदयाघातपछि धेरै मानिसको मृत्यु यस्तै मुटुको चालको खतरनाक गडबडीका कारण हुन्छ। त्यसैले बेलाबेलामा ढुकढुकी बढ्ने समस्या छ भने त्यो के कारणले हो, कति खतरनाक हो भन्ने जाँचपड्ताल, परामर्श लिन जरुरी छ। यदि मुटुकै कारण हो र खतरा खालको हो भने पहिले नै नियमित औषधि सेवन गरेमा भविष्यमा हुनसक्ने जोखिमबाट टाढै रहन सकिन्छ ।
‘ब्रुगाडा सिन्ड्रेम’ नामक एक प्रकारको समस्यामा मान्छेको सुतेकै अवस्थामा मृत्यु हुने, बेहोस भएपछि मृत्यु हुने गरेको पाइन्छ। यो समस्या विशेषगरी जवानहरुमा देखापर्छ। यस्तो समस्या जन्मजात हुन्छ। बारम्बार चक्कर आउने, बेहोस हुने पनि भइरहेको पाइन्छ। बिरामीको इसिजी गर्दा यो समस्या पहिचान गर्न सकिन्छ। यस्ता बिरामीको परिवारका अन्य सदस्यमा पनि यो समस्या हुनसक्छ। यदि कसैको परिवारमा जवान उमेरमै अन्य कुनै समस्या नरहेको, स्वस्थ देखिने मानिसको अचानक मृत्यु भएको छ भने, यसबारे खोजी गर्नु जरुरी हुन्छ ।
मुटुको चाल बढी हुने गडबडी पनि घातक हुन सक्छ भने आवश्यक भन्दा कम हुने समस्या पनि उत्तिकै खतरनाक हुन्छ। मुटुको चाल धेरै कम हुँदा अचानक चक्कर आउने, हिँड्दाहिँड्दै आँखा अगाडि कालो पर्दाजस्तो देखेर ढल्ने जस्ता लक्षण देखिन्छन्। मुटुको चाल कम हुने समस्याका लागि मुटुको चाल बढाउने ‘पेसमेकर’ राखेर उपचार गरिन्छ। अनावश्यक र खतराखालको गडबडी देखिनासाथ आफैं पत्ता लगाएर विद्युतीय तरंग दिएर ठिक गराउने ‘आइसिडी’जस्ता यन्त्र पनि प्रयोग गरिन्छ।
‘डायलेटेड कार्डियोमायोप्याथी’ भनेको मुटुको मांसपेशीको रोग हो। यो रोगमा मुटुका मांसपेशीहरु कमजोर हुन्छन्। यस्तो समस्या छ भने साधारण एक्सरेमा पनि मुटुको आकार ठूलो देखिन्छ।
कोकार्डियोग्राफी जाँच गर्दा यो समस्या पत्ता लाग्छ । बच्चा होस् वा वृद्ध जुनै उमेरकालाई पनि हुनसक्ने यो समस्यामा केही बल पर्ने काम गर्दा, सिँढी फटाफट चढ्दा, दौडँदा, केही भारी कुरा उठाउँदा सास फेर्न गाह्रो हुने, ढुकढुकी बढ्ने लक्षण देखिन्छ। यस्ता बिरामीले केही क्षण आराम गरेपछि फेरि सामान्य हुने कुरा बताउँछन् ।
यस्ता बिरामीको पनि आवश्यक उपचार नगरेमा रगतमा अक्सिजनको मात्रा कम भई तथा मुटुको चालमा गडबडी आई तुरन्तै मृत्यु हुनसक्छ। तर समयमै उपचार गरे र नियमित औषधि सेवन गरे बिरामीले सामान्य जीवनयापन गर्न सक्छन् ।
हृदयाघातमा मानिसको छातीमा धेरै पीडा महसुस हुन्छ। तर, लामो समयसम्म सुगर, प्रेसरका कारण बिरामीको स्नायुप्रणालीमा पर्ने असरले शरीरका कुनै पनि भागको पीडा महसुस गर्ने क्षमतामा ह्रास आउन सक्छ। फलस्वरुप हृदयाघात हुँदा हुनुपर्ने जतिको पीडाभन्दा धेरै गुणा कम महसुस हुने, पीडा नै नहुने पनि हुन्छ। त्यसकै कारण मानिसको सुतेकै अवस्थामा मृत्यु हुने गरेको पाइन्छ ।
कहिलेकाहीँ हृदयाघातको पीडा छातीमा नभई, छाती र पेटको बीच भागमा हुने गर्छ। यसलाई धेरैले ‘ग्यास्ट्रिक हो’ भन्दै घरमै उपचार गरेर बस्छन्। घरायसी उपचारले ठीक नभएपछि अस्पताल आउँदा हृदयाघात भइसकेको घटना पनि धेरै भेटिन्छ ।
त्यसैले, अस्वभाविक रुपमा मुटुको ढुकढुक बढेको महसुस हुनु, अचानक छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, चक्कर लाग्नु, ढल्नु आदि मुटुको समस्याका लक्षण हुन सक्छन् भन्ने बिर्सनु हुँदैन। त्यसबाहेक लामो समय खोकी लागिरहे, सास फेर्न गाह्रो भइरहे, फोक्सोको उपचार गर्दा पनि ठिक नभए मुटुको समस्या हुन सक्ने शंका गर्नुपर्छ। यस्ता समस्या आएमा सकेसम्म चाँडो चिकित्सककहाँ पुग्नुपर्छ। त्यसैले मुटुरोगले झुक्याउन सक्छ, बेलैमा जाँचपड्ताल गर्न नबिर्सौं ।