केही दिनदेखि नेपालमा पनि देखासिकीमा विभिन्न अनलाइन पोर्टलहरूमा तब्लीग जमातसम्बन्धी अनर्गल समाचारहरू अाइरहेका छन् । सामाजिक सञ्जालमा मिथ्या ढंगले विषयवस्तुलाई अन्यत्र मोड्ने गरी कुरा उठाइँदैछ । तसर्थ, यस लेख लेखमार्फत् यस सम्बन्धी केही भ्रम र अज्ञानताहरूलाई प्रष्ट्याउने प्रयास भएको छ ।

तब्लीग जमातको संक्षिप्त इतिहास 

सन १९२७ मा भारतको दिल्लीमा तत्कालीन प्रख्यात मौलाना इलियास कान्धल्वीले दिल्लीकै निजामुद्दीनमा आफ्नै निजी भवनलाई केन्द्र बनाई तब्लीगको काम गर्नका लागि तब्लीग जमातको सुरुवात गरे । चरम अशिक्षा र अन्धकारमा फसेको त्यो बेलाको समाजलाई इस्लामको बास्तविकताबाट अबगत गराउन त्यो अभियान निकै सफल साबित भयो । हरियाणाका मेवातीहरूमा यस अभियानले ठूलो परिवर्तन ल्यायो । मानिसहरूको जीवनशैलीमा परिवर्तन देखा पर्न थाल्यो । यसपछि तब्लीग जमातको अभियान सम्पूर्ण भारतको मुस्लिम समुदायमा निकै चर्चित हुँदै गयो । यसलाई मुस्लिम समाजले स्वीकार गर्दै गयो । सन् १९४७ मा भारत बिभाजन भएर पाकिस्तानको स्थापना भयो । नयाँ मुलुक पाकिस्तानमा तब्लीगको ब्यवस्थापनका लागि मौलाना इलियासले हाजी अब्दुल वहाबलाई पठाए । अब्दुल वहाबले पाकिस्तानमा तब्लीगको ब्यवस्थापन कार्यलाई आफ्नो जिम्मेवारीमा सञ्चालन गरे । पाकिस्तानमा यस कार्यलाई अझ बढी स्वीकार्यता प्राप्त भयो । तब्लीग यति हदसम्म प्रभावकारी भयो कि कुनै समयमा पाकिस्तानका सबै क्रिकेटरहरू तब्लीगमा जाने गरेको दृश्य सार्वजनिक हुन थाल्यो । तब्लीगको कार्य क्रमशः विश्वभरि फैलिंदै गयो । एक सय साठीभन्दा बढी मुलुकमा यसका ठूला ठूला कार्यक्रमहरू हुन थाले, मर्कज (केन्द्र) हरू स्थापना हुन थाले ।

प्रशिक्षण 

तब्लीग जमातले पस्कने मूल विषय प्रशिक्षण हो । यसले इस्लाम धर्मका आधारभूत विषयहरूको सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिने गर्दछ । यसमा सहभागी हरेक व्यक्ति आफैंमा प्रशिक्षक र प्रशिक्षार्थीसमेत हुने गर्दछ ।  जमातले आफ्नो पाठ्यक्रम निर्धारण गरेको छ । यसको सेरोफेरोमा प्रशिक्षण हुने गर्दछ । यसले जमातमा लागेका व्यक्तिहरूको व्यक्तित्व विकास गरी अल्लाहसँग जोड्ने काम गर्दछ ।

‘फजाइले आमाल’ नामक पुस्तक जमातको मूल पाठ्यक्रम र पाठ्यपुस्तक हो । यस पुस्तकमा छ अध्याय छन्—

(१) ईमान: अल्लाह र उनका दूत मुहम्मद (सल्ल.) को शिक्षाप्रतिको आस्था ।
(२) नमाज :दिनको पाँच पटक गरिने प्रार्थना ।
(३) इल्म व जिक्र: इल्म (ज्ञान) प्राप्त गर्ने र जिक्र (ध्यान) गर्ने ।
(४) इकरामे खल्क :‘खल्क’ अर्थात् अल्लाहले सृष्टि गरेका सम्पूर्ण चिज; जस्तै– मानव, पशुपंक्षी, रुखबिरुवा, नदीनाला, पर्यावरण, ब्रह्माण्ड, प्रणाली आदि । ‘इकराम’ अर्थात् सम्मान । अर्थात् अल्लाहले सृष्टि गरेको प्रकृतिको उचित प्रयोग । जस्तै– पानी खेर न फाल्नू, जनावर यदि बाँधिएको छ भने समयमा खाना दिनू, छिमेकीले खायो– खाएन नबुझी आफू नखानू, यदि गरीबी र आर्थिक समस्याले छिमेकीले खान पाएन भने तिम्रो खाना तिम्रोलागि हराम हो ।
(५) इख्लासे नियत:  नियतको पवित्रता अर्थात् कुनै पनि सामाजिक एवम् धार्मिक कार्य देखौवाको लागि होइन अल्लाहको प्रसन्नता प्राप्तीको लागि गर्नुपर्छ ।
(६) तब्लीग: तब्लीगको शाब्दिक अर्थ बयान गर्नु, उपदेश दिनु आदि हुन्छ । तब्लीग जमातमा मानिसहरू उपदेश लिन, ज्ञान प्राप्त गर्न वा आफूभन्दा जानेका ज्ञानी व्यक्तिबाट प्रशिक्षित हुन यात्रा गर्दछन् । अन्य मुस्लिम बस्तीहरूमा पुग्दछन् । मस्जिदहरूलाई गन्तव्य बनाउँदछन् । त्यहाँ इस्लाम धर्मका आधारभूत विषयहरूको व्यवहारिक र प्रयोगात्मक ज्ञान लिने र दिने गर्दछन् ।

यात्रा प्याकेज 

तब्लीग जमातमा पुरुषहरू पाँच किसिमका यात्रा गर्दछन्

(क) तीन दिने (सेरोजा) (ख) १० दिने (असरा) (ग) ४० दिने (चिल्ला) (घ) चार महिने (तीन चिल्ला) (ङ) सात महिने विदेश यात्रा, र (छ) एक वर्षे (ओलमाको लागि मात्र) । महिलाहरूका लागि तीन दिने (सेरोजा), १० दिने (असरा) र ४० दिने (चिल्ला) यात्रा हुने गर्दछ ।
संगठनात्मक संरचना 

तब्लीग जमातको एक केन्द्रीय नियन्त्रण निकाय हुने गर्दछ । यसलाई सुरा भनिन्छ । यसमा भारतका पाँच, पाकिस्तानका चार र बङ्लादेशका एक गरी दसजना सदस्य हुने चलन छ । तब्लीग जमातको अन्तर्राष्ट्रिय मर्कज (केन्द्र) भारतको नयाँ दिल्लीमा भए पनि यसको केन्द्रीय नियन्त्रण समिती (सुरा) को बैठक सदस्यहरूको सहजता र भारत–पाकिस्तानको राजनीतिक समस्याले गर्दा भारतको दिल्लीमा न बसी बर्सेनी हजयात्राको समयमा मक्काको मस्जिदुल हराममा बस्ने गर्दछ ।

नेपालमा यसका ६ वटा मर्कज (केन्द्र) छन् । यी मर्कजहरूले विभिन्न जिल्लाहरूमा जमातका कामहरूको व्यवस्थापन गर्ने गर्दछन् । नेपालका मर्कजहरू बिराटनगर (८ जिल्ला), बीरगञ्ज (८ जिल्ला), काठमाडौ (६ जिल्ला), पोखरा (२९ जिल्ला), भैरवा (६ जिल्ला) र नेपालगञ्ज (२० जिल्ला) मा छन् । यी मर्कजहरूले नियन्त्रण गर्ने जिल्लाहरूको संख्याहरू समय परिस्थिति अनुसार घटबढ हुने गर्दछ ।

नेपालका ८०५ मस्जिदहरूलाई तब्लीग जमातले आफ्नो गन्तव्य बनाएको छ । तिनमा निरन्तर यी मर्कजहरूबाट वितरित भएर जमातहरू पुग्ने गर्दछन् । यो काम वर्षैभरि जारी रहन्छ । मस्जिदहरूमा तब्लीग जमातहरू आउने जाने प्रक्रिया निरन्तर जारी रहन्छ ।

सम्मेलनहरू 

तब्लीग जमातले इलाका, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नियमित इज्तेमा (भेला) गर्दछ । भखैरै फागुन ३–५ गतेसम्म नेपालमा जमातले सप्तरीमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रयास गर्यो । नेपाल सरकारले ब्यवस्थापनको समस्यालाई देखेर यसलाई राष्ट्रिय स्तरमा मात्र गर्न स्वीकृति दियो । यद्यपि भारतीय सहभागीहरूलाई सरकारले रोकेन । उक्त मिति र स्थानमा राष्ट्रिय स्तरको एउटा विशाल सम्मेलन सफलतापूर्वक सम्पन्न भयो ।

तब्लीग जमातप्रतिको भ्रम

तब्लीग जमातलाई मिसिनरी भन्नु वा धर्म प्रचारक भन्नु पूर्ण रूपले गलत हो । न यसले कुनै धर्म प्रचार गर्छ न यसले कसैलाई इस्लाम धर्म अपनाउन आग्रह गर्छ । यो एउटा अनौपचारिक बिद्यालय हो जसमा इस्लाम धर्मावलम्बीहरू इस्लामका आधारभूत विषयहरूमा प्रशिक्षित हुन्छन् । मुस्लिमहरू आफ्नो घर र कारोबार छोडेर, आफ्नो सम्पत्ति र समयको लगानी गरेर आफैं सिक्ने उद्देश्यले जमातमा निस्कन्छन् । जमातमा सहभागी व्यक्तिको अधिकांश समय मस्जिदभित्र नमाज, जिक्र (ध्यान) र सिक्ने–सिकाउने कार्यमा बित्ने गर्दछ । उनीहरूले आवश्यक भाँडाकुँडा, स्टोभ र खाद्यान्नहरू साथमा लगेका हुन्छन् । उनीहरू मस्जिद परिसरमै पालैपालो गरी सामूहिक रूपमा आफैं खाना पकाउने गर्दछन् । उनीहरूले मस्जिदहरूको सफाइ गर्दछन् । आफ्ना लुगाफाटा आफैं धुन्छन् ।

नेपालमा तब्लीग जमात र प्रोपेगण्डा 

दिल्लीमा निजामुद्दीनस्थित तब्लीग जमातको हेड क्वार्टर बङ्लावाली मस्जिदमा मार्च १३ र १४ (फाल्गुन)  २६ र २७) मा भारतमा लकडाउन हुनुभन्दा लगभग आठ दिनअघि एउटा जोड (सभा) थियो । जोड त्यहाँ हुने नियमित प्रक्रिया हो । लकडाउन शुरु भएपछि केही जमातीहरू त्यही मर्कजमा फसे । उनीहरू त्यहाँ बस्न बाध्य भए । मार्च २५ मा उक्त मर्कजमा फसेका जमातीहरूलाई दिल्ली प्रहरीले रेस्क्यु गर्यो । त्यति बेला ती जमातीहरूमा ठूलो संख्यामा कोरोना संक्रमित देखिएको समाचारले बजार ततायो । अब त्यहाँ के गलती भयो, भएन भन्ने कुरा हाम्रो चासोको विषय होइन । उनीहरूले आफ्नो कानूनी बहस गर्लान् । हाम्रो चासो भनेको फाल्गुन २६ र २७ गते भएको निजामुद्दीनको जोडमा १९ जना नेपाली सहभागी भएको भन्ने हो । ती सहभागीहरूमा पनि संक्रमणको सम्भावना उच्च छ ।

यसको जानकारी माथि उल्लेखित छवटा मर्कजलाई सम्पर्क गरेर सजिलै प्राप्त गर्न सकिन्छ । त्यसबाहेक नेपालमा भएका जमातहरू नेपालकै मर्कजबाट नेपालकै विभिन्न जिल्लाका मस्जिदहरूमा छरिएका थिए । केही बिदेशी जमातहरू पहिलेदेखि नै नेपालमा तब्लीग (यात्रा) गरिरहेका थिए । विश्वमा कोभिड १९ को प्रकोप बढेपछि जमातको नयाँ समूह निस्कन बन्द छ । तर, पहिले नै यात्रामा रहेका यी जमातहरू अचानकको लकडाउनले जो जुन मस्जिदमा थियो त्यो त्यहीँ फस्यो । नेपालको आन्तरिक जमात विभिन्न जिल्लका मस्जिदहरूमा फसेका छन् । बिदेशी जमातहरू पनि त्यसरी नै मस्जिदहरूमा फसेका छन् । अब यी जमातहरूलाई दिल्लीसँग जोड्नु, लुकेको भन्नु, पक्राउ परे भन्नु, भागेर आए भन्नु, फलानो देशका नागरिक फेला पर्यो भनेर नकारात्मक भावका साथ खबर सम्प्रेषण गर्नु साम्प्रदायिकता बाहेक अप केही होइन । दुई–तीन दिनअघि मात्र पाकिस्तानका दुईवटा जमात सुनसरीको पकली र मोरङको डाइनियाबाट पक्राउ गरिएको समाचार सुनियो । प्रवेषाज्ञा लिएर आएका, अध्यागमनमा रेकर्ड भएका बिदेशी पाहुनाहरूलाई त्यसरी सम्बोधन गर्नु दुई देशबीचको सम्बन्धलाई धक्का पुर्याउनु हो । र, यसले नेपाली मुस्लिम समुदायलाई समेत बदनाम गर्दैछ । यो योजनाबद्ध दुष्प्रयास हो । उनीहरू नेपालमा कानूनी तरिकाले पाकिस्तानबाट आएका हुन्, भारतबाट होइन । तब्लीगको ग्लोबल सेण्टरमा संक्रमित भेटियो । यो यथार्थ हो तर त्यसो हुँदैमा घुमन्ते शैलीमा विश्वभरिका मस्जिदहरूमा रहेका सम्पूर्ण जमातीहरूलाई संक्रमणको शंका गरिनु हास्याष्पद कुरा हो ।

सुझाव

नेपालभरिका मस्जिदहरूमा भएका वा फसेका सम्पूर्ण जमातहरूको तथ्यांक मुस्लिम आयोगले तब्लीग जमातका ६ वटै मर्कजहरूबाट लिएर गृह प्रशासनलाई उपलब्ध गराउनु पर्छ । तीमध्ये ट्राभल हिस्टरी हेरी अवश्यकता भए स्वास्थ्य परिक्षण गरिनुपर्छ नभए आवश्यक व्यवस्थापन गरिनुपर्छ । मस्जिद मात्र होइन अन्य धार्मिक स्थलमा पनि कोही कतैबाट आएर फसिरहेको अवस्था छ भने सबैको स्वास्थ्य परिक्षण गरिनुपर्छ र आवश्यक व्यवस्थापन गरिनुपर्छ । असमझदारीको बीउ कसैले न रोपोस् । मूलतः नेपाली मिडियाले देखासिकीमा विषयवस्तुलाई अन्यत्र न मोडोस् । (लेखक धरानका मुस्लिम नेता हुन् ।)